काठमाडौं । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सबीच मर्जर भई गत वैशाख २६ गतेदेखि हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार भइरहेको छ । मर्जरपछि दोस्रो बजारमा हिमालयन लाइफको उपस्थिति छैन ।
तर, यस्तोमा आइतबार अचानक साबिक युनियन लाइफ इन्स्यारेन्स कम्पनीको नाममा दोस्रो बजारमा कारोबार भएको छ । कारोबार रोक्का भएको १६ दिनपछि दोस्रो बजारमा ७२ हजार ५५२ रुपैयाँ बराबरको १९० कित्ता शेयर किनबेच भएका छन् । नेप्सेमा कम्पनीको शेयर १० प्रतिशत अर्थात् ३५ रुपैयाँ ८० पैसाले बढेर ३९३ रुपैयाँ ८० पैसा पुगेको छ ।
एकातिर हिमालय लाइफको नाममा कारोबार सुरु भएको छैन भने साबिकका कम्पनीका नाममा कारोबार रोक्का छ । यस्ताेमा युनियन लाइफ इन्स्योरेन्सकाे नाममा शेयर कारोबार कसरी भयो ?
नेपाल स्टक एक्सचेन्जले काराेबार भएकाे विषयमा खाेजी सुरू भएकाे बताएकाे छ । प्राविधिक वा मानवीय त्रुटी के हाे भन्ने यकिनपश्चात मात्रै निर्णय हुने नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुराहरि पराजुलीले बताए । उनका अनुसार भएकाे काराेबार रद्द हुनसक्छ ।

वि.सं.२०८० जेठ १४ आइतवार १४:१२ मा प्रकाशित






























