बझाङ । साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी छिन् । छब्बीस वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरिन् ।
सगरमाथा क्षेत्रमा झण्डै एक महिना दिनको बसेर लक्ष्य प्राप्त गरेकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउनका क्याम्प–१ र २ मा तलमाथि गर्ने अभ्यास गरे । बाल्यकालदेखि नै शिखर चढ्ने हिम्मत जुटाइरहेकी उनी गत महिना नै सगरमाथा क्षेत्र पुगेकी थिइन् । उनी यही जेठ २ गते राति क्याम्प–४ बाट शिखरतर्फ प्रस्थान गरेकी थिइन् । वर्षौँदेखि साँचेको सपना आँखै अगाडि देखेपछि उनका आँखा रसाए । “खै किन हो, चुचुरोमा पुग्नेबित्तिकै भक्कानो फुटेर आयो, धेरैबेरसम्म आँसु थाम्न सकिनँ”, उनी भन्छन् । ‘छाउपडी प्रथा अन्त्य गरौँ”, भन्ने सन्देश लेखेको ब्यानरसँगै शिखरमा तस्बिर खिच्दा खुसीको सीमा नै नरहेको उनिले सुनाइन् ।
रोकायाले विसं २०७५ कात्तिकमा पहिलोपटक अन्य चार जना बझाङी चेलीसँगै साइपाल हिमाल (सात हजार ३१ मिटर) आरोहणको प्रयास गरेका थिए । टिममा स्पेन, इटाली, अमेरिकाका विख्यात आरोही पनि थिए । तर मौसम खराब र अप्ठेरो चट्टानका कारण उनीहरु साइपाल चढ्न सकेनन् । साइपाल छुने प्रयास असफल भए पनि उनीको हिमाल चढ्ने हुटहुटी भने बढ्दै गएको थियो ।
शिक्षा र चेतनाका हिसाबले पनि पछाडि परेको साइपालमा छोरीलाई हिमाल चढ्न सहज थिएन । “साइपाल चढ्न नसके पनि सगरमाथा चढेर देखाउँछु भन्दा परिवारले समेत साथ दिएन”, उनी भन्छिन् , “सबैलाई मनाउन धेरै मेहनत गर्नुपर्यो ।” मध्यम आयस्रोत भएको परिवारकी सदस्य रोकायालाई सगरमाथा चढ्नभन्दा बढी दुःख खर्च जुटाउनमा लाग्यो । उनिले भनिन, “खर्चका लागि जिल्लाभरका पालिकादेखि विभिन्न सङ्घसंस्था धाए, कतिले सहयोग पनि गरे, तर अधिकांशले त पछि गरौँला भन्दै टारे ।”
एड्भेन्चर कम्पनीलाई आधा रकम पछि तिर्ने शर्तमा सगरमाथा आरोहण गरेको उनले बताइन् । सगरमाथाको चुचुरोमा पुग्न करिब रु २५ लाख खर्च लागेको उनिले बताइन् ।
वि.सं.२०८० जेठ १६ मंगलवार ११:१४ मा प्रकाशित






























