काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गर्ने कदम र सीमा समस्या समाधानको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर संसदमा विपक्षी दलहरुले विरोध जनाएका छन् । आइतबार संसद बैठक दलहरुले सरकारको जवाफ माग गर्दै अवरोध गरे ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सहित विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेमकिपालगायतले विरोध जनाएका छन् । विपक्षी दलहरु दुवै विषयमा एकजुट देखिएका छन् ।
नेकपा (एमाले)ले सरकारले संविधान मिचेको र राष्ट्रिय अखण्डतामाथि प्रश्न उठाउने अवस्था सिर्जना गराएको आरोप लगाएको छ । संसद बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले भने, “सरकारले नै संविधानलाई मिचेर अगाडि बढ्ने, मुलुकको राष्ट्रिय अखण्डतालाई नै प्रश्न उठ्ने खालको काम सरकारको तर्फबाट हुन थाल्यो।”
बैठकमा रास्वपाले संसदलाई छलेर विधेयक प्रमाणीकरण गरिएको भन्दै आपत्ति जनायो । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नागरिकताको समस्या समाधान गर्न रास्वपा प्रतिबद्ध भएपनि यसलाई प्रक्रियाभन्दा बाहिरबाट लैजाने विषयमा असहमत भएको बताए । उनले यसलाई तत्कालै प्रक्रियाबाट ल्याउन माग गरे ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले उल्टो बाटो हिँडेर संसद छलेको आरोप लगाए । प्रधानमन्त्री भारत भ्रमणका क्रममा उठेका प्रश्नको जवाफ नदिइ संसद अगाडि बढ्न नसक्ने उनको भनाई छ । राप्रपाले रेमश चौधरीको रिहाईमाथि पनि प्रश्न उठाएको छ ।
विपक्षी दलहरुको नाराबाजीपछि संसद बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले विवादका बीच बैठक सूचारु गर्न नसकिएको भन्दै स्थगित गराए ।
वि.सं.२०८० जेठ २१ आइतवार १२:५१ मा प्रकाशित





























