बनियानी । किसानलाई प्रविधिमा आकर्षित गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र झापाले मेसिनमार्फत धान रोपाइँको तयारी गरेको छ । जिल्लाका चार पालिकामा प्रदर्शनीका रुपमा मेसिनले धान रोपाइँ गर्न लागिएको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए ।
स्थानीय कृषि सहकारी संस्थाको सहकार्यमा विर्तामोड, कनकाई र गौरादह नगरपालिका तथा कमल गाउँपालिकाका ५० जना किसानको ८० बिघा जग्गामा मेसिनमार्फत धान रोप्न बीउ राखिसकिएको छ । साथै १५ दिनपछि रोपाइँ सुरु हुने उनको भनाइ छ ।
“किसानलाई प्रविधिप्रति आकर्षित गर्न प्रदर्शनीका रुपमा काम सुरु गरेका हौँ”, उनले भने, “कृषि सहकारीसँग सहकार्य गरेर काम अघि बढाएका छौँ, धेरै किसान इच्छुकसमेत देखिएका छन् ।”
धान रोप्ने मेसिनको प्रयोग गर्दा लागत घट्छ । एक बिघामा रोपाइँ गर्दा १५ जना रोपारलाई एक दिन लाग्छ भने मेसिनले रोपाइँ गर्दा आधा दिनमै रोपाइँ सकिने प्रमुख विष्ट बताउउछन् । मानिसले रोप्दा एक जना बराबर रू छ सयका दरले दैनिक ज्यालादारीे १५ जनाको रू नौ हजार लाग्ने तर मेसिनले रू चार हजार पाँच सयमा काम सकिने हुँदा किसानको झण्डै आधा रकम बचत हुने उनकोे भनाइ छ ।
“बीउ राख्ने बेलामा खर्च लागे पनि रोप्ने बेला उखेल्ने खर्च बच्छ”, उनले भने, “किसानलाई यसले धेरै राहत मिल्ने भए पनि प्रविधिबारे अझै अनविज्ञ र अन्योल रहेकाले प्रदर्शनीका रुपमा खेती गर्न लागेका हौँ ।”
सरकारले अनुदानमा दिएको धान रोप्ने मेसिन कृषि सहकारीमा छन् । ती मेसिन प्रयोग गरेबापतको भाडा केन्द्रले तिरिदिने प्रमुख विष्टले बताए । किसानलाई अनुदानमा रकम दिनेभन्दा प्रविधि दिने उद्देश्यले काम अघि बढिरहेको उनले बताए ।
कृषि ज्ञान केन्द्र झापाको ७५ प्रतिशत र किसानको २५ प्रतिशत लागतमा मेसिन ल्याइएको हो । चालु आर्थिक वर्षमा केन्द्रले उक्त कार्यका लागि रू १५ लाख बजेटसमेत विनियोजन गरेको छ । यस पटक गरिएको खेती सफल भए अर्को वर्ष पाँच सय बिघामा मेसिनले धान रोप्ने केन्द्रको लक्ष्य छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लाका विभिन्न स्थानमा सरकारले लागत सहभागितामा उपलब्ध गराएको हो । file photo
वि.सं.२०८० जेठ २१ आइतवार १५:३१ मा प्रकाशित






























