प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विवादमा तानिएका छन् । भारत भ्रमणका क्रममा नेपाल–भारतबीचको सीमा समस्याबारे दिएको अभिव्यक्तिले उनी विवादमा तानिएका हुन् ।
नेपाल टेलिभिजनसँगको अन्तरवार्ताका क्रममा प्रचण्डले सट्टापट्टा गरेर सीमा विवाद सुल्झाउन सकिने विकल्प प्रस्तुत गरेका थिए । लिपुलेक तथा कालापानीको सीमा विवादलाई देखाउँदै प्रचण्डले समुन्द्रसतहसम्म जाने बाटो दिए लिपुलेकको भूभाग नेपालले छाड्न सक्ने संकेत गरेका थिए ।
“नेपालले इतिहासको तथ्यतथ्यांकका आधारमा आफ्नो भनेको भूमिलाई भारतले छाड्दा पनि समाधान भई नै हाल्छ, अर्को कुरा धेरै ठाउँमा अप्ठ्यारो पर्यो भने सट्टपट्टा गर्ने चलन पनि तर, अहिले नै यी विकल्पबारे हामी औपचारिक ढङ्गले प्रवेश गरेका छैनौँ”, प्रचण्डले भनेका छन्, “नेपालमा पनि केही सीमासम्बन्धी जानकारले बङ्गलादेश जाने बाटो हामीलाई दिने हो भने समस्या समाधान भइहाल्छ भनेर ल्याउने गर्नुभएको छ तर यी विकल्प अहिले भारत सरकारसँग औपचारिकरुपले प्रवेश गरेको विषय होइनन् ।”
तथापी, प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर राजनीति तरंगित भएको छ । सत्ता पक्षीय दलहरु मौन रहेपनि विपक्षी दलहरुले चर्कोरुपमा विरोध गरेका छन् । आइतबार प्रचण्डकै अभिव्यक्तिलाई लिएर विपक्षीले संसदमा हंगामा मच्चाए ।
विपक्षीले प्रचण्डले सार्वजनिकरुपमा बोली फिर्ता लिँदै माफी माग्नुपर्ने अडान लिएका छन् । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समग्र हितको रक्षापछि मात्र संसदको गतिरोध अन्त्य हुने बताएका छन् ।
“राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा, नेपालको समग्र हितको रक्षापछि सेटल हुनेछ”, संसद अवरुद्धबारे ओलीले पत्रकारको जिज्ञासामा भनेका छन् ।
प्रचण्डले जसरी नेपाल–भारतबीचको सीमा समस्याको समाधानको विकल्प प्रस्तुत गरेका छन्, यसले राजनीतिमा थप उथलपुथल संकेत गरेको छ । यसले राजनीति धुव्रीकृत पनि बनाइरहेको देखिन्छ । प्रचण्डको अभिव्यक्तिलाई नै लिएर नमिलेका विपक्षी दलहरु पनि एकजुट बनेका छन् । आइतबार जसरी विपक्षीहरुले प्रचण्डविरुद्ध नारा लगाए, यसले पनि सत्तापक्षलाई समस्यामा पार्ने संकेत गरेको छ ।
वि.सं.२०८० जेठ २१ आइतवार १७:१४ मा प्रकाशित






























