
मुगु । मुगु जिल्लाको सोरु गाउँपालिकामा हिजोआज प्रथम उपाध्यक्ष गोल्डकपको निकै रौनकता छाएको छ ।
ग्रामिण बस्तीमा प्राय खेलकुद क्षेत्रमा कुनै चहलपहल नदेखिएको अबस्थामा सोरुकोटको पोग्री खेलकुद मैदानमा प्रथम उपाध्यक्ष गोल्डकप संचालन हुदा बृद्धादेखि युवासम्ममा उत्साह देखिएको छ । काम छोडेर महिला पुरुष पोग्री खेलमैदानमा उपाध्यक्ष गोल्डकप हेर्न जाने गरेका छन् ।
सोरु पोग्री खेलकुद मैदानमा शनिबार देखि प्रथम उपाध्यक्ष फुटवल गोल्डकप सुरु भएको हो । ‘खेलकुद क्षेत्रमा सोरुको अभियान क्षमता खेलाडीको बास्तबिक पहिचान’ भन्ने मुल नारा उक्त गोल्डकपको उदघाटन मुगु जिल्ला प्रतिनिधि सभाका सांसद ऐनबहादुर शाहीले गरेका हुन् ।
उक्त खेलकुदको उदघाटन गर्दै सांसद शाहीले भने, ‘उपाध्यक्ष गोल्डकप खेलाडीको उत्साह थपेको छ ।’
गत जेठ २० देखि २७ गतेसम्म संचालन हुने उक्त गोल्डकपमा १७ वटा फुटबल टिम दर्ता भएको आयोजक सोरु गाउँपालिकाले जनाएको छ । पालिकास्तरमा खेलकुद क्षेत्रको बिकास गर्न प्रथम उपाध्यक्ष गोल्डकपको आयोजना गरिएको उपाध्यक्ष केशरबहादुर शाहीले बताए । उनले भने– पलायन खेलाडी रोकेर खेलकुदप्रति आकर्षण बृद्दि गर्ने गोल्डकपको मुख्य उदेश्य रहेको छ ।’
शाहीले गोल्डकप संचालन गर्न गत आर्थिक बर्षको गाउँ परिषद्बाट बजेट बिनियोजन गरिएको बताए । स्थानीयतह संचालन भएको करिव ६ बर्ष पछि सोरु गाउँपालिकाले खेलाडीको मनोबल बढाउन उपाध्यक्ष गोल्डकपको आयोजना गरेको छ ।
स्थानीयका आबश्यकता परिपूर्ती गर्न आयआर्जन भौतिक पूर्बाधार र क्षमता बिकास संगै सोरुलाई खेलकुद क्षेत्रमा अघि बढाउन पालिका जोडदारमा रुपमा लागेको अध्यक्ष धर्मबहादुर शाहीको भनाई छ । संघ र प्रदेशमा बजेट माग गरि सोरु पोग्री चौरमा मान्यता प्राप्त पालिकास्तरको रंगशाला निर्माण गरिने उनले जनाए । गोल्डकपको प्रथम दिनमा भामबाडा फुटबल टिम र कच्चे फुटबल टिम बीच प्रतिस्पर्धा हुदा भामबाडा टिमले कच्चे टिमलाई २ गोलले पराजित गरेको छ । दोश्रो दिन कार्कीबाडा टिमलाई हराउदै खत्याड टिम बिजयी भएको छ । सोरु गाउँपालिकाले खेलाडीको संरक्षणको निम्ति गोल्डकप संचालन गर्दा खुशी लागेको मुगु भामबाडा फुटबल टिमका टिम लिडर गणेश सेजुवालले बताए ।
त्यसैगरि गोल्डकपको दोश्रो दिन फुटबारी टिमलाई हराउदै सोरुकोट टिमले जित हात पारेको छ । उपाध्यक्ष गोल्डकपमा प्रथम पुरस्कार शिल्ड गोल्ड मेडल सहित नगद १ लाख ११ हजार १ सय ११ र द्दितिय पुरस्कार शिल्ड सहित ६६ हजार ६ सय ६६ नगद र त्रितिय पुरस्कार ३३ हजार ३ सय ३३ नगद रहेको आयोजनाले जानकारी दिएको छ ।