काठमाडौं । चार कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् । सत्ता साझेदार तीन दल माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी र सत्ता बाहिरको नेपाल कम्युनिष्ट पार्टी मिलेर मोर्चा घोषणा गर्ने भएका हुन् ।
दलहरुबीच शुक्रबार नै मोर्चा घोषणा गर्ने तयारी भएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । “चार पार्टीबीच एकखालको सहमति भइसकेको छ, अन्य केही भएन भने भोलि नै घोषणा गर्ने तयारी छ”, उनले भनेका छन् ।
समाजवादी मोर्चा गठनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी भने सहभागि नहुने भएको छ । यसअघि मोर्चामा सहभागि हुने गरी छलफल भएको भएपनि केही सैद्धान्तिक विषय अगाडि सार्दै नेसपा मोर्चा बाहिर रहने निर्णयमा पुगेको हो ।
आन्तरिक सहमति भएसँगै यसअघि नै प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छिट्टै मोर्चा घोषणा हुने बताएका थिए । बुधबार दाङ पुगेका प्रचण्डले नयाँ नेकपा बनाउने गरी मोर्चा बनाउने तयारी भएको खुलासा गरेका थिए ।
“हिजोको एकता कायम राख्न सम्भव भएन, तर लाखौँ जनतालाई एकताबद्ध नगरी क्रान्ति हुँदैन, फेरि एकताका लागि पहल गर्नुपर्नेछ”, प्रचण्डले भनेका थिए, “समाजवादी मोर्चाको दस्तावेज टुङ्ग्याएका छौँ, केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ, तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ ।”
एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि नेकपा ब्यूँताउने तयारी भइरहेको खुलासा गरेका थिए । मोर्चा गठनमा सहमत भएका दलहरुबीच पार्टी एकतासमेत गर्नेगरी छलफल चलेको बताइएको छ ।
मोर्चा गठनसँगै संसदमा मोर्चाको पक्षमा ५३ सिट हुनेछ । हाल माओवादी केन्द्रसँग ३१, जसपासँग १२ र एकीकृत समाजवादीसँग १० सिट छ ।
वि.सं.२०८० जेठ ३२ बिहीवार १८:१६ मा प्रकाशित






























