सेवा र व्यवसाय फरक कुरा हुन । सेवा परोपकारी भावनाका साथ गरिन्छ । सेवा निःशर्त हुन्छ तर, विरोधाभासपूर्ण व्यवसाय शसर्त लेनदेन हो । जहाँ दुई स्वार्थको तादम्यतामा कुनै निष्कर्ष प्राप्त हुन्छ । कुनै पनि गैरकानुनी एवम् अनैतिक दुष्कार्यबाट प्रतिकूल परिणाम सृजित हुन नदिनको लागि ‘सरोगेसी सेवा’ निश्चित बन्देजको साथ गर्न भने सकिन्छ तर, सरोगेसी व्यवसाय कानुनत: प्रतिबन्धित नै छ यद्यपि, नेपालमा सरोगेसी न स्पष्ट प्रतिबन्धित छ न स्पष्ट अनुमोदित छ । यसको वैधता अन्योलगत स्थिति एवम् अपूर्ण स्थितिमा रहेको देख्न सकिन्छ ।
के हो सरोगेसी सेवा ?
सरोगेसी सेवा ‘Assisted Reproductive Technique’ हो । साधारणरूपमा कुनै दम्पती जसको सन्तान कारणवश हुन सक्दैन, अन्य कुनै महिला ले आफ्नो कोखबाट सन्तान जन्माई दम्पतीलाई हस्तान्तरण गर्ने विधि हो अर्थात् बच्चा जन्माइदिने कार्य हो । प्राकृतिकरूपमा गर्भधारण हुन असक्षम भएपश्चात वैकल्पिक उपायको रूपमा सरोगेसीलाई हेरिन्छ । यसर्थ, यहाँ दुई शब्दाबली जान्नु उचित हुन्छ ‘Intended parent’ र ‘Surrogate mother’ जहाँ निःसन्तान दम्पती र सरोगेट आमाबीच सम्झौताअनुरुप सन्तान सरोगेट आमाले जन्म दिन्छिन् । कुनै महिलाको पाठेघरमा बच्चा रहन नसक्ने अवस्थामा ती दम्पतीको डिम्ब र शुक्रकिटलाई टेस्ट ट्युबमा गर्भधारण गराएर भ्रूण विकासहरु अर्को महिला (सरोगेट आमा)को गर्भमा प्रत्यारोपण गरी बच्चा जन्माउने विधि सरोगेसी हो । यो सेवा सन्तान सुखको चाहनालाई पूर्ण गर्न आएतापनि बच्चा जन्माउन सक्षम हुँदा हुँदै पनि आफ्नै कोखबाट बच्चा जन्माउन नचाहने महिलालाई यो सुविधाको छूट हुँदैन । यो संवेदनशील कार्य भएकोले यसमा नैतिक एवम् कानूनी दुवै संरक्षण सरोगेट आमालाई आवश्यक पर्दछ । कानून र नीतिको अभावमा सरोगेसी व्यवसाय शोषणको माध्यम पनि हुनसक्छ । यसको सम्भावना व्यवसायिक सरोगेसीमा धेरै भएको देख्न सकिन्छ । सामान्यतः दुई सरोगेसीका दुई मनसाय हुने गर्दछन्, ती हुन् सेवा र व्यवसाय । यसर्थ, दुई प्रकारका सरोगेसी संसारभर देख्न सकिन्छ, ‘Altruistic Surrogacy’ र ‘Commercial Surrogacy’ जहाँ Altruistic Surrogacy मा सरोगेट आमाले निसन्तान दम्पतीलाई बिना कुनै आर्थिक लाभ बच्चा जन्माई हस्तान्तरण गर्छिन र Commercial Surrogacy मा सरोगेट आमा र निःसन्तान दम्पती बीच निश्चित रकमको सम्झौता हुने गर्दछ ।
IVF र सरोगेसीमा तात्विक फरक के हो ?
विज्ञान र प्रविधि सँगै अनेकौं कृत्रिम उपाय एवम् तरिका हरु पनि विकसित भइरहेका छन् जसका आफ्नै फाइदा एबम् बेफाइदाहरु छन् । सरोगेसी र IVF (In – Vitro Fertilisation) लाई एउटै हो भन्ने बुझ्नु गलत हुन्छ । IVF र सरोगेसीको प्रक्रिया अलग हुन्छ । IVF मा ‘Human Egg’लाई प्रयोगशालामा शुक्रकिटमा निषेचित गरिन्छ र गर्भाशयमा प्रत्यारोपण गरिन्छ । यदि निषेचित भ्रूण सफलतापूर्वक पाठेघरमा प्रत्यारोपण गर्दछ भने यसले गर्भावस्थाको परिणाम दिन्छ । तर सरोगेसीमा सरोगेट आमाले कोखमै बच्चा धारण गरेर बच्चा जन्म दिन्छिन् ।
परिवर्तन लाद्ने विषय होइन
प्रगतिशील समाजमा परिवर्तनको चाह हर कोहीलाई हुन्छ । परिवर्तन आकस्मिकरुपमा हुँदैन । यसको क्रमिक विकास हुन्छ, विकास र मनुष्यको चेतना सोही अनुपातमा बढ्दै जान्छ, जानुपर्छ । विश्व परिप्रेक्ष्य अवलोकन गरेर दुरुस्तै तत्कालै त्यस्तै गर्ने चाह राख्नु युक्तिसम्मत हुँदैन । देशको सामाजिक, सांस्कृतिक, साम्प्रदायिक बनोट, स्थिति एवम् मानसिकताअनुसार क्रमिकरूपमा विकसित हुँदै जानुपर्छ । कुनै पनि परिवर्तनका सूचकहरुलाई यी तत्वसँग निरपेक्ष राखेर सामाजिक व्यवस्था उपर लाद्न खोजियो भने सामाजिक सुरक्षा र सामाजिक अमन खलबलिने सम्भावना ज्यादै हुन्छ । उदाहरणका लागि समलिङ्गी विवाहलाई कानुनी मान्यता प्रदान गर्ने एशियाली मुलुक औंलामा नै गणना गरेपनि कम संख्यामा छन् (इजरायल, ताइवान) । यसको कारण एशियाली समाजको रुढ हो । यी समाजलाई आफ्नै परम्परा र संस्कृतिकाे घेराबन्दीले निर्ममतापूर्वक गाँजेको हुन्छ । यो घेरा मेट्न वा परिवर्तन गर्न खोज्नेलाई असामाजिक ठहर गराइन्छ । अहिले नेपालमा पनि समलिङ्गी विवाहको अनुकूल कानुन छैन, तर अन्तर्राष्ट्रिय मञ्च एवम् छिमेकी मुलुक भारतमा समेत यसको सुनुवाइ प्रक्रिया संघारमा पुगेपश्चात नेपाललाई पनि यो अप्रत्यक्ष दबाब हुन्छ ।
नीति कानून र समाजका व्यक्तिहरुबिच परम्पराको ठूलो खाडललाई पुर्न समय लाग्छ । परिवर्तनको नाउँमा परिवर्तनका नवमोडलले पुरातन समाजको काचुली त्यति चाँडै भने फेर्न सक्दैन तर, चेतना अवश्य नवपुस्तामा नवीन विश्व र नवीन आवश्यकताका तादम्य रहन क्रमिकरूपमा विकसित हुँदै जान्छ । नेपाली समाजमा बहुसांस्कृतिक र बहुभाषिक बाहुल्यता छ । यसै बाहुल्यतामा आफ्नै मौलिक संस्कृति र मौलिक प्रचलनहरु सदिऔंदेखि मौलाउँदै आएको छ । नेपाली समाजका आफ्नै रूढ छन् । परिबन्दभन्दा बाहिर जानु नैतिकरूपमा स्वीकार्य एवम् अपाच्य मानिने गर्छ । समाज प्रगतिशील छ, सोहीअनुसार चेतना पनि, क्रमशः हुने कुरामा एवम् समाजको मनसाय स्थितिबाट निरपेक्ष आकस्मिक परिवर्तले समाजको अमन गुम हुन्छ । अन्ततः नवीनतासँगै मौलिकता पनि जगेर्ना हुनुपर्छ ।
मातृत्व एउटा यस्तो कुरा हो जसले अस्तित्वको सुन्दरतालाई बचाई राख्दछ । आमा र सन्तानको सम्बन्ध भावनात्मक हुन्छ । अझ नेपाली समाजमा सन्तानलाई ईश्वर एवम् अस्तित्वको वरदान/कोशेलीको रूपमा हेरिन्छ । आमाको स्नेह, ममता र करुणा आफ्नो सन्तानको लागि अनन्त हुन्छ । सन्तान सुखको भोग अधिकांश सबै गर्न चाहन्छन् । केही प्राकृतिक एवम् असक्षमताका कारणले गर्दा यसको वैकल्पिक अवस्था खोज्नुपर्ने स्थिति रहन्छ वा विकल्प समयान्तरमा आफै बन्दछ । यसको लागि स्पष्ट कानुनमा भएको व्यवस्था धर्मपुत्र धर्मपुत्री एवम् अन्तरदेशीय धर्मपुत्र/धर्मपुत्री (Laws relating to adoption) हो । आफ्नै नश्ल आफ्नै रगतप्रति अपनत्व बोध हुन्छ भन्ने मनसायले सरोगेसी सेवा विश्वमा प्रश्रय पाइरहेको अवस्था छ । यसरी सरोगेट आमाबाट बच्चा जन्मिँदा उनको बच्चाप्रतिको लगाव, स्याहार, करुणा बढ्दै जाँदा र बच्चा हस्तान्तरण गर्न अस्वीकार गर्ने समस्या पनि उत्तिकै हुने गर्दछ ।
Cook and Shelly D Schater, Surrogate Motherhood: International Prospective 2003, page 146-147 मा एउटा उदाहरण प्रस्तुत गरिएको जुन निम्न प्रकार छ :
यसलाई Baby M case को नाउँले चिनिन्छ । यस मुद्दामा Mary Beth Whitehead सरोगेट आमा थिइन् भने William Stern र Elizabeth Stern निःसन्तान दम्पती थिए । उनीहरुबीच सरोगेट सम्झौता भइ सन् १९८६ सरोगेसी आमाबाट जन्मिएकी Melissa stern को जन्मपश्चात आमा Mary whiteland ले सम्झौताअनुसार बच्चा हस्तान्तरण गर्न अस्वीकार गरेकी थिइन् ।
नीतिगत उदारता, अन्योल कानुन
स्वास्थ्य नीति २०७१ को बुँदा नं १२.१४ मा बाँझोपन (Infertility)लाई सरोगेसीसम्बन्धी कानुन बनाई व्यवस्थित गरिनेछ भन्ने व्यवस्था एवम् नीतिगत निर्णय २०७१/६/२ मा भै नेपालका सवास्थ्य संस्थाहरुबाट सरोगेसी प्रविधिको प्रयोगद्वारा सन्तान जन्माउन सेवा उपलब्ध गराउने सम्बन्धमा आमा–बाबु र सरोगेट आमा सबै विदेशी नागरिक भएमा र उनीहरूले नेपालका स्वास्थ्य संस्थाहरुमा भर्ना भई बच्चा जन्माउन चाहे सो सेवा प्रदान गर्न सम्बन्धित स्वास्थ्य संस्थाको मापदण्डबमोजिम सञ्चालन गर्न उदारता प्रकट गरेको थियो । त्यही पनि कानुन रिक्तताको अवस्था भने कायम नै थियो । विधायनद्वारा कुनै स्पष्ट कानुन थिएन । Medical Tourism को प्रोत्साहनको लागि यो सुरु गरिएको नीतिगत मनसायबाट थाहा लाग्छ । केही अस्पतालहरुले यो सेवा सञ्चालन गर्दा गर्दै अधिवक्ता पुष्पराज पाण्डेयले रिट निवेदन दायर गरेका थिए, जहाँ सुत्केरी गराउँदाको अवस्थामा महिलाको मृत्यु हुनसक्ने, बालकको मृत्यु हुनसक्ने जोखिम पूर्ण कार्यको लागि कानुनी व्यवस्था नै नगरी सेवा सञ्चालन हुनु मानवताविरुद्धको कार्य हो एवम् महिलाको प्रजनन क्षमताको दुरुपयोग र शोषण हो भन्ने दाबी लिइएको थियो । यही रिटपश्चात नेपालमा Commercial Surrogacy प्रतिबन्धित छ र Altruistic Surrogacy लाई केही शर्त सहित कानुनी मान्यता प्रदान गरिएको नजिर मार्फत देख्न सकिन्छ । रिटमा दिइएको निर्देशनात्मक आदेश को आधारमा बन्नु पर्ने कानुनको ढिलाइमा संसदको गौणता छ ।
महिलाको कोख व्यापारिकरुपमा प्रयोग गर्न नमिल्ने हुँदा व्यवसायिक सट्टा आमालाई पूर्णरूपमा प्रतिबन्धित गर्ने निर्णय भएको थियो । यसको लागि लागि अनिवार्य शर्त : नेपाली नागरिक हुनुपर्ने हुन्छ । नेपाली नागरिक रहेका निःसन्तान विवाहित दम्पतीले कमजोर स्वास्थ्य अवस्था वा प्रजनन क्षमता नभएको कारण सन्तान सुख प्राप्त गर्न आयोग स्वीकृत मेडिकल बोर्डले सिफारिस गरेपश्चात सरोगेसी सेवा प्राप्त गर्न सक्छन् । कुनै आर्थिक लाभ आर्जन गर्ने व्यवसायिक मनसायले वा इच्छा विपरीत कुनै पनि आमालाई यो सेवा दिन बाध्य पार्नुसमेत गैरकानुनी छ । यसको लागि सरोगेट आमाका केही थप योग्यताहरु समेत छन् :
• निजको उमेरको अवस्था
• बच्चा जन्माउन सक्ने स्वास्थ्य अवस्था हुनुपर्ने
• निज अविवाहित हुन नहुने
• कम्तीमा एउटा सन्तान जन्माई सकेको हुनुपर्ने
• कुनै महिला एक पटकभन्दा बढी सट्टा महिला हुन नपाउने
• सट्टा आमा हुन् निजको पति वा परिवार को उमेर पुगेको कुनै एक सदस्यले मन्जुरी दिनुपर्ने
अधिकार र दायित्वको विषयमा विवादपछि पनि उत्पन्न हुनसक्ने हुँदा सरोगेसी प्रक्रियाबाट जन्मेको बच्चाको कानुनीरूपमा बुवा–आमाको निर्धारण गरी बच्चाको आमा बाबुसँगको हक तथा बच्चाप्रति आमा बाबुको दायित्व स्पष्ट पार्नुपर्छ। बच्चाको कुनै पनि बालअधिकार र बालबालिकाले पाउनुपर्ने मैत्री वातावरणबाट वञ्चित नहुने अवस्था सृजना गर्नुपर्छ ।
विधायिकी के विषयमा संवेदनशील रहने ?
विधायन हाम्राे सामाजिक एवम् सांस्कृतिक विरासत र बनोटबाट सजग र सचेत रहनुपर्छ । समाजमा पारिवारिक सद्भाव, सामाजिक न्याय र नैतिकता कायम गर्न सामाजिक आवश्यकतासम्बोधन गर्न विधायिकी सचेत हुनुपर्छ। महिलाको प्रजनन अधिकार, स्वतन्त्र इच्छाको अधिकार, स्वायत्तता एवम् बालबालिकाको सर्वोत्तम हितलाई खलल नपुग्ने गरी यसको कानुनी व्यवस्थापन हुनुपर्ने देखिन्छ । महिलाको गरिबी, पैसाको प्रलोभन, अज्ञानताको अनुचित लाभ उठाई हुनसक्ने गैरकानुनी कार्यको सम्पूर्ण सम्भाव्यता अध्ययन गरी यसलाई दण्डित गर्ने र नियमन गर्ने खास विशेष व्यवस्था हुनुपर्छ । अत: विधायिकीरूपमा कुनै ऐन कानुनको तर्जुमा भने भएको छैन । तर ऐन बनाउँदा यसको मान्यता, वैधानिकता, जन्मिएको बच्चाको ऊपर आमा वा बाबुको के कस्तो हक/दायित्व रहने, सरोगेट आमाको शरीर वा जीवनको शोषण नहुनको लागि ‘Risk Assessment’ गर्नुपर्ने, महिलाको कोखको व्यापारिक प्रयोजन गर्न मिल्ने वा नमिल्ने, पछि कानुनी विवाद उत्पन्न भए समाधान कसरी गर्ने, संस्थालाई मान्यता कसरी प्रदान गर्ने, जन्मदर्ता, नागरिकता प्राप्तिको जटिलतालाई कसरी निराकरण गर्ने भन्ने विषयमा विधान केन्द्रित हुनुपर्ने हुन्छ ।
बेलायत (व्यवसायिक प्रतिबन्धित), फ्रान्स (व्यवसायिक र सेवामुलक दुवै प्रतिबन्धित), भारत(सेवामुलक अनुमति) लगायत विभिन्न मुलुकमा हेर्दा, व्यवसायिक सरोगेसीलाई फौजदारी अपराध मानी सजाय नै गर्ने गरिएको देखिन्छ । व्यवस्थापन, उत्तरदायित्व, प्रक्रिया एवम् कानूनी पूर्णताका प्रश्नहरु उपर उचित वैज्ञानिक अन्वेषण गरेर कानूनी रिक्ततालाई पूर्ति गर्नुपर्ने हुन्छ । यति सम्वेदनशील विषयलाई तदर्थवादी बनाइयो भने यसको व्यावहारिक परिणाम उचित हुँदैन । नीति एवम् नजिरले खोलेको बाटोलाई संसदले जुझारु भै यस विषयमा पनि विमर्श एवम् बहस गर्नु आवस्यक देखिन्छ । समग्रमा मानव जगतको कल्याण हुनु नै फतेह हो भन्ने विश्वास पंक्तिकारकाे छ ।
(लेखकद्वय कानुनका विद्यार्थी हुन् । )
वि.सं.२०८० असार ३ आइतवार १२:२१ मा प्रकाशित






























