काठमाडौं । एनएमबि बैंकसँगको साझेदारीमार्फत चीनको लोकप्रिय डिजीटल वालेट वी च्याट पे आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ ।
वी च्याट पे सेवाको औपचारिक घोषणा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, एनएमबि बैंकका संचालक योगेन्द्र लाल प्रधानलगायतको उपस्थितिमा भएको छ ।
उद्घाटन समारोहमा नेपालका लागि चीनका राजदुत चेन सोङले वी च्याट पेको क्यूआर कोडमार्फत स्थानीय व्यवसायीलाई कारोवार गर्न सहजता पुग्ने बताए । उनले नेपाल घुम्न आएका चिनियाँ पर्यटकले गर्ने खर्च अब वीच्याटमार्फत गर्न सक्ने र यसबाट चिनियाँ पर्यटकले खर्च गरेको रकम आधिकारिक रुपमा बैकिङ्ग प्रणाली मार्फत जाने बताए । यसले डिजिटल बैंकिङ्ग कारोवारलाई समेत प्रोत्साहन हुने विश्वास व्यक्ति गरे ।
यो साझेदारीले वी च्याट पेमार्फत कारोवार गर्ने चिनियाँ पर्यटक, व्यवसायी र आगन्तुकहरुको लागि नयाँ अवसर प्रदान गरेको छ । अब आगन्तुकहरूले आफ्नो वी च्याट पे डिजिटल वालेट प्रयोग गरी सटही सुविधा नलिई उक्त सिस्टम प्रयोग गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त यस एनएमबि बैंक मार्फत नेपालमा सिधै आधिकारीक कारोबार गर्न सक्नेछन् ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
वि.सं.२०८० असार ७ बिहीवार १५:१२ मा प्रकाशित






























