काठमाडौं । पोखरा महानगरपालिकाले पोखराको पर्यटनमा मुख्य भूमिका खेलेको लेकसाइड क्षेत्रलाई २४ सै घण्टा खुल्ला गराउन पहल गर्ने जनाएको छ ।
महानगरका मेयर धनराज आचार्यले आइतबार १३ औं नगरसभामा आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पोखरा–६, लेकसाइड क्षेत्रमा सवारी व्यवस्थापन र रात्रिकालीन व्यवसाय नियमनका लागि उचित कार्यविधि तजुर्मा गरी कार्यान्वयन गरिने बताउँदै पोखराको लेकसाइड क्षेत्रलाई २४ सै घण्टा खुला गर्न पहल गरिने बताएका छन् ।
त्यसैगरी नीति तथा कार्यक्रममा पोखराको पर्यटन प्रवद्र्धनका लाथि ‘चलिए पोखरा’, ‘ओमेन झाओ बा पोखरा’, ‘जाऊ है पोखरा’ जस्ता नारा सहित छिमेकी मुलुकका पर्यटन गन्तव्यका प्रमुख पर्यटन बजारमा नेपाली तथा पोखरेली पर्यटनको प्रचार, प्रसार र प्रवर्धन गरिने उल्लेख रहेको छ ।
उक्त नीति तथा कार्यक्रममा कृषि उपज बजारीकरणको लागि ‘बारी देखि बजारसम्म, उत्पादक देखि उपभोक्तासम्म’अभियान सञ्चालन गरिने जनाइएको छ । उत्पादनका क्रममा हुने क्षति न्यूनीकरणको लागि कृषि एम्बुलेन्स मार्फत ग्रामीण क्षेत्रबाट नियमित उपज सङ्कलन गरी सोझै उपभोक्ता समक्ष पुर्याउन सुरु गरिएको व्यवस्थालाई थप प्रभावकारी बनाईने समेत बताइएको छ ।
त्यसैगरी कृषकहरुलाई प्राविधिक सहयोग सहित आवश्यक मेसिनरी, मल, उन्नत बिउको व्यवस्थापनमा सहजिकरण गरिनुका साथै एक वडा एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिईने बताइएको छ । साथै प्रदेश सरकारको साझेदारीमा आवश्यक शित भण्डारको व्यवस्था गरिने कार्यक्रममा उल्लेखछ ।
त्यस्तै बाँदर व्यवस्थापनको लागि सामुदायिक वन समूहसँगको साझेदारीमा जङ्गलमा बाँदरले मन पराउने बाली केन्द्रित अनुसन्धानमूलक परियोजनाको सुरुवात गरिने र यसका लागि सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय गरिने बताइएको छ ।
यस्तो छ नीति तथा कार्यक्रम
वि.सं.२०८० असार १० आइतवार १६:४८ मा प्रकाशित






























