
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत सरकारले अतिरिक्त हुलाक संरचना खारेज गर्ने घोषणा गरेको छ । हुलाक सेवालाई पुनर्संरचना गर्ने भन्दै सरकारले यस्तो घोषणा गरेको हो । सरकारको यो घोषणा कार्यान्वयनमा आएसँगै अतिरिक्त हुलाकतर्फ कार्यरत १० हजार ८५८ कर्मचारी एकैपटक बिदाइ हुनेछन् ।
सरकारले ल्याएको बजेट संसदबाट पारित त भएको छैन तथापी, पारित भएमा साउनबाटै उक्त प्रक्रिया सुरु हुनेछ ।
सरकारले बजेट बक्तव्यमा केही सुविधासहित बिदाइ गर्ने भनेको छ । जसआधारमा बिदाइ हुँदा कर्मचारीले के–कति सुविधा पाउलान् ? अहिले चासो बढेको देखिन्छ ।
हुलाक सेवा विभागका सूचना अधिकारी ध्रुवराज आचार्यका अनुसार बिदाइ हुने कर्मचारीले अतिरिक्त हुलाक नियमावली, २०३४ को व्यवस्थाबमोजिम उपचार खर्चवापतको सुविधा पाउनेछन् । जसबाहेक थप सुविधाबारे भने स्पष्ट भइनसकेको उनले बताए ।
“बजेटमा अतिरिक्त हुलाक सेवा खारेज गर्ने कार्यक्रम आएको छ, खारेज गर्दा कार्यरत कर्मचारीलाई कसरी बिदाइ गर्ने ? त्यति स्पष्ट भने भएको अवस्था छैन”, आचार्यले भनेका छन्, “अतिरिक्त हुलाक नियमावली, २०३४ बमोजिम एकमुष्ट उपचार खर्च शीर्षकमा केही रकम पाउने अवस्था हुन्छ, तर, त्यो पर्याप्त होइन कि भनेर हामीले सुविधा थप्न माग गरेका छौं ।”
आचार्यले बताएअनुसार अतिरिक्त हुलाक नियमावली, २०३४ बमोजिम बिदाइ हुने कर्मचारीले काम गरेको प्रत्येक वर्षको आधा महिनाको दरले एकमुष्ट रकम पाउनेछ । जसको अर्थ यदि १० वर्ष काम गरेको भए पाँच महिना बराबरको तलब सुविधा पाउनेछन् ।
हाल अतिरिक्त हुलाकका प्रतिनिधिले मासिक रु. आठ हजार तीन सय १० रुपैयाँ पाउँछन् भने वितरक र डाँकबहाकले मासिक सात हजार दुई सय ८० रुपैयाँ पाउँछन् । जसको आधारमा १० वर्ष काम गरेर बिदाइ हुने अतिरिक्त हुलाक प्रतिनिधिले एकमुष्ट रुपमा ४१ हजार ५५० रुपैयाँ पाउनेछन् । यस्तै, १० वर्ष काम गरेका वितरक र डाँकबहाकले ३६ हजार ४०० रुपैयाँ पाउनेछन् ।
तर, विभागका सूचना अधिकारी आचार्यले बताएअनुसार यदि सरकारले थप सुविधा दिएमा भने केही रकम बढ्नेछ । बाध्यात्मक बिदाइ भएको कारण सुविधा थपिनुपर्ने आग्रह सरकारसँग विभागले गरेको आचार्यले बताएका छन् ।