काठमाडौं । राष्ट्रिय क्रान्तिकारी मोर्चाले अझ सशक्त र प्रभावकारी ढंगले अगाडि बढ्ने मोर्चाको निष्कर्ष निकालेको छ ।
मोर्चाका संयोजक नारायण शर्माको अध्यक्षता तथा आबद्ध राजनीतिक पार्टी, संघसंस्था र अभियानका प्रतिनिधिहरु उपस्थित बैठकले मोर्चालाई वैचारिक र संगठनात्मकरुपले अझ स्पष्ट, सुदृढ र व्यवस्थित गर्ने तथा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा अझ सशक्त र प्रभावकारी किसिमले अघि बढ्न थप तयारीमा लाग्ने निष्कर्ष निकालेको हो ।
त्यसैगरी मोर्चाले नेकपाका संस्थापक महासचिव पुष्पलालको आसन्न ४५औं स्मृति दिवसको सन्दर्भमा आगामी साउन ८ गते ‘नेपाली कम्युनिस्ट आन्दोलन र क.पुष्पलाल’ विषयक एक विशेष अन्र्तक्रिया कार्यक्रम गरी उनका विचार, भावना र योगदानहरुलाई स्मरण, विश्लेषण र संश्लेषण गर्दै कार्यान्वयनमा लाने संकल्प समेत दिएको छ ।
यस्ता छन् मोर्चाका अन्य समसामयिक निर्णयहरु
१. बैठकले मोर्चालाई अझ बढी सकृय, सुब्यवस्थित र सुचारु रुपले सञ्चालन गर्नको लागि यसको अवधारणा र आचरसंहिता\कार्यविधिलाई परिमार्जित र सुस्पष्ट पारेर आगामी बैठकबाट पारित गर्नेगरी निश्चित समयावधिभित्र तयार गर्ने जिम्मा दिंदै त्यसको निम्ति बनेको कार्यदललाई सक्रिय तुल्याएको छ ।
२. बैठकले आगामी २०८० साउन ८ गते नेपालको कम्युनिष्ट आन्दोलनका सुत्राधार तथा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको ४५औं स्मृति दिवस बिशेष कार्यक्रमका साथ मनाउने र त्यसको तयारी गर्ने जिम्मा पनि निश्चित प्रतिनिधिहरुलाई दिने निर्णय लिएको छ ।
३. बैठकले देशको ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका अराजक, अनियमित, अस्वभााविक र अप्रिय गतिबिधिले देश, जनता र लोकतन्त्र नै अपूर्ब संकटमा परेको औंल्याउदै यसले बिदेशी शक्तिलाई थप हस्तक्षेपको निम्ति मूलबाटो खोल्ने र नेपाल र नेपाली जनतामाथि थप बोझ र संकट थोपर्ने टड्कारो स्थिति देखापरेको ठहर गर्दै यस्तो संगीन स्थितिमा सम्पूर्ण राष्ट्रप्रेमी कम्युनिष्ट, क्रान्तिकारी, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरु लगायत आम नेपाली जनसमुदायका सबै सचेत तह र तप्काहरु एकजुट भएर संघर्ष गर्नु पर्ने चूनौति थपिएकोले त्यसको सामना गर्नका निम्ति संघर्षमा जुट्न र डट्न सम्पूर्ण न्यायप्रेमी शक्ति–व्यक्ति, संघ–संस्था र अभियान–आन्दोलनहरु एवं आमजनसमुदायलाई आह्वान गर्ने निर्णय लिएको छ ।
४. आज देशको शासनसत्तामा हालिमुहाली चलाइरहेका उच्चपदस्थ नेतृत्वहरुबाटै भएका ललिता निवास जग्गा घोटाला काण्ड, नक्कली भूटानी शरणार्थी निर्माण प्रकरणजस्ता नग्नदलाली महाभ्रष्टाचारजन्य थुप्रै काण्डहरुका कारण देश आर्थिकरुपले टाट पल्टदो छ र अन्तर्राष्ट्रिय रुपमा नेपालको सान र गौरव गिरेको छ । यी दलाली र भ्रष्टाचारजन्य घोटाला प्रकरणहरुमा पक्राउ परेका वा नपरेका राज्यसत्ता सञ्चालन प्रमुखहरु नै मुछिएका मुद्दाहरुलाई कमजोर बनाउने, ठूला पदाधारीलाई उम्काउने र सानालाई मात्र फसाउने प्रत्यक्ष–परोक्ष तारतम्य मिलाउदै दल र तिनका ठुला नेताहरुको आन्तरिक अघोषित मिलोमतोमा सामसुम पार्ने खतरा देखिएकोले मोर्चाको बैठकले यस्ता गम्भीर र संगीन अपराधमा संलग्न जुनसुकै उच्च पदधारी भए पनि कडाभन्दा कडा कारबाही गर्न र यो भ्रष्टाचार र ठगीको मुद्दालाई तार्किक निष्कर्षमा पु¥याउन जोडदार माग गरेको छ ।
५. नागरिकता बिधेयक जसरी असंबैधानिक, अनियमित, अलोकतान्त्रिक र असंसदीय किसिमले पारित गरियो, त्यसले वास्तबिक रैथाने नेपाली नागरिकले नागरिकता नपाउने तर बिदेशी नागरिकहरुले अत्यधिक नागरिकता पाउने अवस्था उत्पन्न भै नेपालको अस्तित्व नै संकटमा पार्ने गरी जनसांख्यिक अतिक्रमण बढ्ने स्थिति सन्निकट छ । नेपाल जस्तो संबेदनशील भूराजनीतिक अवस्थितिमा रहेको र तिनतिरबाट सिमा खुला राखिएको मुलुकमा नागरिकता सम्वन्धि कानुन तदनुकूल हुनु पर्ने र कुनै पनि नेपाली नागरिकलाई त्यसबाट बञ्चित हुने स्थिति रहन दिनु नहुने हो । तर त्यस्तो नभै हामीले निरन्तर खबर्दारी गर्दागर्दै पनि बिदेशीले छिटै र सहजै अंगीकृत मात्र होइन वंशजकै नागरिकता पाउने विडम्बनापूर्ण अवस्था खडा गरिएकोले यसप्रति घोर आपत्ति जनाउँदै नेपालमा नागरिकता नीति र विधि कडा नै बनाइनु पर्ने कुरामा बैठक पुनः जोडदार माग गर्दछ ।
६. अहिले भ्रष्टाचारका कारण कृत्रिम अभाव र कालो बजारीले गर्दा किसानहरुले सहज र सरलरुपमा फेरि पनि आावश्यक मलखाद समयमा पाउन नसकेको स्थिति विद्यमान छ । राज्यले यसलाई तुरुन्त ब्यवस्थापन गरोस् र किसानलााई राहत प्रदान गरोस् भन्ने पनि मोर्चाले जोडदार माग गरेको छ ।
७. लम्पी संक्रामक रोगले धेरै गाईबस्तु मरिसकेको र किसानको ठूलो नोक्सानी भइसकेकोले सरकारले किसानलाई पर्याप्त क्षतिपूर्ति प्रदान गरोस् र बाँकी गाई बस्तुहरुलाई दिनुपर्ने आवश्यक खोप किसानहरुलाई तत्काल उपलब्ध गराएर दुग्ध उत्पादनलाई थप सुरक्षा र प्रोत्साहन प्रदान गरोस् भन्ने मोर्चाले माग गरेको छ ।
८. मिटर ब्याज र लघुबित्तबाट अमानवीय रुपमा अत्यन्त नराम्रोसँग लुटिएका किसान–मजदुरहरुको समस्या हल गर्न र पीडितहरुबाट बढी असुलिएको पैसा र कीर्ते कागज र अन्धो कानुनका कारण हडप गरिएको जग्गाजमिन फिर्ता दिलाउन तथा मिटर ब्याजे ठगहरुलाई कारबाही गरी पीडितहरुलाई राहत र न्याय दिलाउने सम्झौता गरेअनुसारको कानुन ल्याउनसम्म ढिलाएर बिलाएकोमा सरकार र संसदप्रति क्षोभ प्रकट गर्दै बैठकले तत्काल कडा कानून बनाई मिटरब्याजे अपराधीहरुलाई निर्मम कार्वाही गर्नको लागि पुनः राज्यसँग जोडदार माग गरेको छ ।
९. चूरे दोहनले नेपाालको पर्यावरणमा ठूलो असन्तुलन आउने र तत्कालै तराई–मधेसमा मरुभूमीकरण बढेर जाने, जलवायु परिवर्तनको समस्या अझ तीब्र हुने र नेपाल गम्भीर पर्यावरणीय असन्तुलको समस्यामा नराम्रोसँग फँस्ने भएकोले गिट्टी बालुवा निकासीको नाममा यो दोहनको कार्य तत्कालै रोक्न पनि मोर्चाले पुनः जोडार माग गरेको छ ।’
नारायण शर्मा
संयोजक
२४ असार २०८०.
वि.सं.२०८० असार २४ आइतवार १८:४३ मा प्रकाशित






























