काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिपक्षी नेकपा (एमाले)बाट भएको संसद अवरोधको विरोध गरेका छन् । उनले संसदलाई आफ्नो स्वार्थमा बन्धक बनाउने विषय निकै गलत भएको बताए ।
“यो प्रतिनिधिसभा हो, यहाँ प्रतिनिधि आवाज गुञ्जाउने हो”, शर्माले भने, “हरेक विषय आउनेबित्तिकै संसद्लाई ठप्प पारिहाल्ने कुराले हामीलाई कहाँ पुर्याउँछ ?”
महामन्त्री शर्माले सय केजी सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्नु संवैधानिक संस्थाहरुप्रति अविश्वास व्यक्त गरेको रुपमा देखिएको टिप्पणी गरे । उनले संवैधानिक संस्थाहरु विश्वास नगर्ने तर, राजनीतिक सहमतिमा बनेका संस्थाहरुप्रति कसरी विश्वास गर्ने ? भनि प्रश्न उठाए ।
“हामीले ०४६ को परिवर्तनपछि आफैँले बनाएका संस्थाहरूप्रति अविश्वास गरिरहका छौँ । सीआईबीप्रति अविश्वास हो कि राजस्व अनुसन्धानप्रति हो ? नेपालको संविधानले नै यी संस्थाहरूलाई अख्तियार प्रदान गरेको छ”, उनले भने, “वास्तवमा यो छानविन गर्नुपर्ने अवस्था भएकै अवस्था हो, म छानबिन आयोग गठन गर्नुपर्छ भनेर माग गर्न चाहन्छु कि कानुन र संविधानले बलियो बनाएका संस्थाहरूमाथि हामी किन विश्वास गरिरहेका छैनौँ ? विश्वासको संकट उत्पन्न हुनुपर्ने परिस्थिति कसले बनायो ?”
वि.सं.२०८० साउन २३ मंगलवार १७:२१ मा प्रकाशित






























