
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकमा सरकारको भूमिकालाई लिएर आलोचना भएको छ । सरकारले चालेका कदम कांग्रेसविरुद्ध लक्षित भएको सांसदहरुको भनाई छ ।
नयाँ बानेश्वरस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा कांग्रेस सांसदप्रति पूर्वाग्रह राखेर व्यवहार गरिएको आरोप सांसदहरुले लगाएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँण, ललिता निवास प्रकरणमा विजयकुमार गच्छदार र कीर्ते आरोपमा सांसद सुनिल शर्मालाई अभियोग लगाइनु पूर्वाग्रह भएको सांसदहरुको भनाई छ ।
सांसद अर्जुनरसिंह केसीले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै आधारमा पक्राउ गरिएको त होइन भनि प्रश्न उठाए । “सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरिएको कारण त पक्राउ गरिएको होइन ?” केसीको प्रश्न छ ।
अर्का सांसद उदयशम्शेर राणाले किन कांग्रेसकै सांसदलाई निशाना बनाइएको छ भनि प्रश्न गरे । “हाम्रा नेताहरु बालकृष्ण खाँण, विजयकुमार गच्छदार र सुनिल शर्मामाथि सरकारले निशाना बनाएको त होइन ? हाम्रा नेतालाई पक्राउ पुर्जी जारी गर्ने, पक्रने तर, अरु दलका नेतालाई छाड्ने अवस्था किन भयो ?”
सांसद प्रदिप पौडेलले भ्रष्टाचारीलाई कारबाही गर्ने कुरा राम्रो कारबाही प्रक्रिया कांग्रेसविरुद्ध लक्षित त होइन ? भनि प्रश्न गरे । “सबै प्रकरणको छानबिन हुनुपर्छ, दोषीमाथि कारबाही हुनुपर्छ तर, यसो भनिरहँदा कारबाही प्रक्रिया कांग्रेसका नेताहरुलाई पूर्वाग्रह राखेर गरिएको त छैन ?”, पौडेलको प्रश्न छ, “यदि त्यस्तो हो भने गम्भीर हुनुपर्छ ।”
कतिपय सांसदले पछिल्लो कारबाहीबारे प्रधानमन्त्रीसँग छलफल गर्नुपर्ने बताएका छन् । सांसदहरुले सांसद सुनील शर्माको विषयमा पनि गम्भीर बन्नुपर्ने माग राखेका छन् ।
बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसद खुलाउन पहल गर्नुपर्ने कुरा राखेका थिए । बाढी पहिरो, लम्की स्किन, डेंगी र आँखा पाक्ने रोगलाई नियन्त्रण गर्ने विषयमा अगाडि बढ्नुपर्ने सुझाब राखेका थिए ।
शुक्रबार बसेको बैठकमा १९ सांसदले धारणा राखेका छन् । आगामी आइतबार बस्ने बैठकमा बाँकी सदस्यले धारणा राख्ने बताइएको छ । सांसदहरुले धारणा राखेपछि सभापति शेरबहादुर देउवाले जवाफ दिनेछन् ।
वि.सं.२०८० साउन २६ शुक्रवार १७:३२ मा प्रकाशित