पोखरा । नारी प्रतिभा वाङ्मय प्रतिष्ठानले आफ्नो तेस्रो स्थापना दिवसको अवसर पारेर कौशिलादेवी भण्डारी पुरस्कार बाल प्रतिभाद्वय अनुराग सापकोटा र रोजिना अधिकारीलाई प्रदान गरेको छ ।
बिहीबार आयोजित एक कार्यक्रमका बीच समाजसेवी झलकबहादुर भण्डारी र साहित्यकार डा. पुष्पा के.सी. भण्डारीद्वारा स्थापित कौशिलादेवी भण्डारी बाल प्रतिभा पुरस्कार श्री शितलादेवी मा.वि. पोखरा –१२ मा कक्षा ८ मा र रोजिना श्री महेन्द्र मा. वि. लाहाचोक, कास्कीमा कक्षा १० मा अध्य्यनरत अनुरागलाई पुरस्कार स्वरुप जनही रू. दस हजार प्रदान गरिएको हो ।
समाजसेवी भण्डारीकी माता तथा डा. पुष्पा के सी भण्डारीकी सासू स्व. कौशलादेवी भण्डारीको नाउँमा स्थापना गरिएको उक्त पुरस्कार प्रथमपटक प्रदान गरिएको हो ।
आगामी दिनहरूमा प्रत्येक दुई/दुई वर्षमा दुईजना बाल प्रतिभालाई नै प्रादेशिक वा राष्ट्रव्यापी रुपमा पुरस्कृत गरिने कुरा संस्थाका अध्यक्ष छन्दिकाले जानकारी दिइन् ।
स्वर किन्नरी लोकगायिका प्राज्ञ हरिदेवी कोइरालाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा पुरस्कृत बाल प्रतिभाद्वयलाई कोइराद्वारा प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कार छनोट समितिकी संयोजक संस्थाका सचिव लक्ष्मी थापा रहेकी थिइन् भने कवि सरस्वती श्रेष्ठ सरूद्वारा कार्यक्रममा स्रष्टा परिचय प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कोइरालाले आजका बालबालिका भोलिका युग संवाहक भएको बताउँदै पुरस्कारले बाल प्रतिभाहरूलाई हौसला, प्रेरणा मिल्ने कुरा व्यक्त गरिन् । उनले समाजसेवी भण्डारी दम्पत्तिमा राम्रो कामको सुरुवात गरेकोमा धन्यवाद दिएकी थिइन् ।
शितलादेवी मा वि का प्राचार्य बाबुराम अधिकारी र कवि छन्दमणिद्वारा शुभकामना मन्तव्य, पुरस्कृत प्रतिभाहरूले आ–आफ्ना मन्तव्यसहित रचना बाचन गरेका थिए भने रोजिना अधिकारीकी आमा रुपा अधिकारी, शुभ शर्मा र अर्की बाल प्रतिभा अविप्सा सापकोटाले पनि आआफ्ना रचना वाचन गरेका थिए ।
अन्तिममा कार्यक्रमकी सभापति नारी प्रतिभा वङ्मय प्रतिष्ठानकी अध्यक्ष छन्दिकाद्वारा पुरस्कृत प्रतिभालाई बधाई तथा शुभकामना व्यक्त गर्दै उपस्थित सम्पूर्ण अतिथि गणहरूमा आभार व्यक्त गर्दै बालबालिकालाई साहित्यप्रति जागरुक बनाउने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको बताइन् ।
वि.सं.२०८० साउन २६ शुक्रवार १७:४० मा प्रकाशित





























