काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउनुपर्ने बताएका छन् । उनले उक्त आयोगमार्फत सबै भ्रष्टाचारसम्बन्धी घटनाका फाइलहरु खोल्नुपर्ने बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट)मा भएको घोटलाको विषयमा पनि उच्चस्तरीय छानबिन आवश्यक रहेको बताए । ललिता निवास प्रकरणमा आफू छानबिनका लागि तयार भएको भन्दै उनले लडाकु शिविरको फाइल खोल्न सरकार तयार हुनुपर्ने बताएका छन् ।
“मेरो पालामा पनि एउटा सानो निर्णय भएको रहेछ, त्यो मेरो व्यक्तिगत कुरा थिएन, त्यसमा पनि छानबिन हुन्छ भने म सहयोग गर्न तयार छु”, उनले भनेका छन्, “तर, यसरी व्यक्ति व्यक्तिमा छानबिन गरेर हुँदैन, संरचनागत हिसाबले लाग्नुपर्छ । ललितानिवास, क्यान्टोन्टमेन्टलगायतका थुप्रै घोटलाबारे छानबिन हुनुपर्छ ।”
भट्टराईले एमालेले राखेको उच्चस्तरीय छानबिन समितिको माग सैद्धान्तिक हिसाबले सकारात्मक भएपनि त्यसको साटो उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने बताए ।
वि.सं.२०८० साउन २६ शुक्रवार १८:०९ मा प्रकाशित






























