back
CTIZAN AD

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

वि.सं.२०८३ साउन २८ बिहीवार

12 

shares

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको निराशा अन्त्य गर्दै राष्ट्रिय एकता र मेलमिलापको बाटोमा अघि बढ्न आह्वान गरेका छन्। उपचारपछि पहिलोपटक सार्वजनिक धारणा राख्दै देउवाले आफू पद वा शक्ति प्राप्त गर्ने उद्देश्यले नभई राष्ट्र, लोकतन्त्र र राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताएका हुन्।

स्वदेश फर्किएपछि भावुक सम्बोधन गरेका देउवाले आफ्नो स्वास्थ्यप्रति चासो राख्ने, चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरे। ‘म आज यहाँ विनम्र सेवकका रूपमा उपस्थित भएको छु– सुन्न, सिक्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन,’ उनले भनेका छन्।

देउवाले नेपाली कांग्रेसलाई केवल एउटा राजनीतिक दलका रूपमा नभई दशकौँको राजनीतिक संघर्ष, त्याग र बलिदानबाट स्थापित लोकतान्त्रिक आन्दोलनको वाहकका रूपमा चित्रण गरेका छन्। २०२० सालदेखि आफूले भोगेको राजनीतिक संघर्ष स्मरण गर्दै उनले बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायत अग्रज नेताहरूको योगदान कहिल्यै बिर्सन नहुने बताए।

उनले कांग्रेसको विरासतलाई ‘गौरवको पदक’ नभई जनताको विश्वासका रूपमा बहन गर्नुपर्ने पवित्र जिम्मेवारी भएको उल्लेख गरेका छन्।

देउवाले पछिल्लो पुस्तामा देखिएको परिवर्तनको आकांक्षा र युवाको आवाजलाई कांग्रेसले आत्मसात् गर्नुपर्ने बताएका छन्। उनले गत भदौमा भएको जेनजी आन्दोलनका जायज मागलाई सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको स्मरण गर्दै परिवर्तनको अर्थ विगतका सबै संघर्ष र योगदान गलत थिए भन्ने नहुने स्पष्ट पारे।

‘परिवर्तनको अर्थ विगत खराब थियो, हाम्रा पुस्ताको त्याग, बलिदान र संघर्ष खराब थियो भन्ने होइन,’ देउवाले भनेका छन्।

उनले आफ्नो पुस्ताले लोकतन्त्र, स्वतन्त्रता तथा विभिन्न जातजाति, क्षेत्र र समुदायका अधिकारका लागि लामो संघर्ष गरेको भन्दै विगतका ऐतिहासिक योगदानलाई नकारात्मक भाष्यबाट कमजोर पार्न नहुने बताए। विगतका कमजोरी स्वीकार गर्दै नयाँ पुस्तासँग हातेमालो गरेर समुन्नत नेपाल निर्माण गर्नुपर्ने उनको भनाइ छ।

‘जनताको आकांक्षा पूरा गर्नु सरकारको दायित्व’

देउवाले वर्तमान सरकारप्रति पनि सचेत गराउँदै जनतामा देखिएको परिवर्तनको आकांक्षा पूरा गर्नु सरकारको दायित्व भएको बताएका छन्। जनताको चाहना सम्बोधन गर्नुको सट्टा राजनीतिक आग्रह–पूर्वाग्रहमा अल्झिए सत्तारुढ दल र मुलुक दुवैका लागि हितकर नहुने उनको भनाइ छ।

ताजा जनमतबाट आएको सत्तारुढ दलले जनताको मतको सम्मान गर्न नसके लोकतन्त्रमा जनता नै जनार्दन हुन् भन्ने सत्य परिवर्तन गर्न नसकिने देउवाले बताएका छन्।

उनले कांग्रेस परिवर्तनको व्यवस्थापन प्रक्रियामा सहयोग गर्न तयार रहेको उल्लेख गर्दै परिवर्तनलाई ‘अन्धाधुन्ध दौड’ नभई विवेक, पारदर्शिता र न्यायका आधारमा अघि बढाउनुपर्ने बताए।

देउवाले नेपाली कांग्रेसभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्नुपर्नेमा विशेष जोड दिएका छन्। कांग्रेस संसद्को अंकगणितमा ठूलो वा सानो भए पनि २००७ सालदेखि नेपालको राजनीतिक परिवर्तनका हरेक खुड्किलाको नेतृत्वकर्ता भएको उनको दाबी छ।

‘मुलुककै मियो दलमा विवाद हुँदा मुलुकको राष्ट्रियता नै कमजोर हुन सक्छ,’ देउवाले भनेका छन्।

उनले कांग्रेस सामूहिकतामा विश्वास गर्ने पार्टी भएको भन्दै नेता–कार्यकर्ता, शुभेच्छुक, समर्थक र मतदातालाई सबैको त्याग, बलिदान र संघर्षलाई स्वीकार गर्दै अघि बढ्न अपिल गरेका छन्। कांग्रेस कसैको ‘इगो’मा नभई जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनको भनाइ छ।

युवा पुस्ता नेतृत्वमा आउनुपर्ने आवश्यकता स्वीकार गर्दै देउवाले पाका र अनुभवी पुस्तालाई नै खराब देखाउने भाष्यप्रति पनि असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमा ‘भ्युज’ प्राप्त गर्ने होडभन्दा पार्टी र राष्ट्रप्रतिको दायित्वलाई प्राथमिकता दिन उनले आग्रह गरेका छन्।

‘मेरो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नेछु’

देउवाले आफूले राजनीतिक रूपमा अब केही लिनुपर्ने नभएको उल्लेख गर्दै विगतको आफ्नो अनुभव पार्टी र मुलुकले उपयोग गर्न सक्ने तथा त्यो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नु आफ्नो दायित्व भएको बताएका छन्।

माओवादी सशस्त्र द्वन्द्वदेखि मुलुकका जटिल राजनीतिक घटनाक्रम र कांग्रेसभित्रका विवाद समाधानमा आफूले खेलेको भूमिकाको स्मरण गर्दै उनले आगामी दिनमा पनि आफ्नो अनुभव नयाँ पुस्तासँग बाँड्ने प्रतिबद्धता जनाएका छन्।

‘यदि हामी कतै विचलित भएका छौँ भने सुधार गर्नेछौँ, यदि कतै चुक्यौँ भने पुनः उठ्नेछौँ,’ देउवाले भनेका छन्। कांग्रेसको आगामी यात्रा निरन्तर सुधारको यात्रा हुने र त्यसलाई तराईदेखि हिमालसम्मका नागरिकका सुझाव, अपेक्षा र आकांक्षाले मार्गदर्शन गर्ने उनको भनाइ छ।

राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको घोषणा

सम्बोधनको अन्त्यमा देउवाले आफ्नो राजनीतिक जीवनको सबैभन्दा भावुक सन्देश दिएका छन्। उनले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको घोषणा गरेका छन्।

२०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गरेको स्मरण गर्दै देउवाले ४७ वर्षपछि फेरि मुलुकमा सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताए।

‘आउनुहोस्, विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौँ। प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौँ,’ देउवाले अपिल गरेका छन्।

उनले यस्तो नेपाल निर्माण गर्ने सपना प्रस्तुत गरेका छन् जहाँ हरेक बालकले निर्भीक सपना देख्न सकोस्, ज्येष्ठ नागरिकले सम्मानपूर्वक जीवन बिताउन पाऊन् र हरेक समुदायले समान अवसर तथा समृद्धिको अनुभूति गर्न सकोस्।

आफूमाथि हुने आलोचना र प्रत्यालोचनाप्रति पनि देउवाले आफ्नो धारणा स्पष्ट पारेका छन्। राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानेर जीवन बिताएको दाबी गर्दै उनले कानुन र नीतिविपरीत कुनै काम नगरेको बताएका छन्।

‘मेरो जीवन खुला किताब हो,’ भन्दै देउवाले जीवन रहेसम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, जनता, संविधान, कानुन र नैतिक मूल्य–मान्यताअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्।

अन्तिममा उनले आफूलाई नेताका रूपमा भन्दा ‘यस महान राष्ट्रको आजीवन नागरिक’ का रूपमा प्रस्तुत गर्दै विनम्रता, समर्पण र प्रेमका साथ राष्ट्रसेवामा लागिरहने बताएका छन्।

वि.सं.२०८३ साउन २८ बिहीवार १६:३४ मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...