back
CTIZAN AD

होटलमा मजदुरी गर्ने राजन, यसरी बने करोडौँ सम्पत्तिको मालिक

वि.सं.२०८० भदौ १० आइतवार

858 

shares

म्याग्दी । अठार वर्षअघि मजदुरी गर्न म्याग्दीको बेनी आएका नुवाकोटको शिवपुरी गाउँपालिका-३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बनेका छन् ।

‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले सफलतामा पुगिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका राजन, मेहनत गर्न चाहनेहरूका लागि प्रेरणाको स्रोत समेत बनेका छन् ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण कक्षा १० को पढाइ छाडेर विसं २०५८ माघमा काठमाडौँ पसेका लामा होटलमा खाना बनाउने, सरसफाइ गर्ने काम सिकेर एक वर्षपछि बागलुङ पुगे । बाग्लुङका विभिन्न ‘क्याफे’मा तीन वर्ष कुक र वेटर भएर काम गरे । २०६२ असारदेखि कुकको रूपमा बेनीको एक होटलमा आइपुगे ।

भाँडा माझ्ने, कोठा सफा गर्ने र खाना पकाउने सबै काम गर्ने उनका लागि होटलको जागिर जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । उनको परिश्रम र इमान्दारीबाट होटल सञ्चालक हरिकृष्ण श्रेष्ठ र नानुकुमारी प्रभावित बने ।

‘होटलमा काम गर्दा होटल कसरी चलाउनु पर्दोरहेछ भन्ने सिकेँ’, लामाले विगत सम्झिँदै भने, ‘भान्छा व्यवस्थापन, अतिथि सत्कार र कर्मचारी व्यवस्थापन गर्ने कला पनि सिकेँ ।’

विसं २०७२ मा बेनीको गणेशटोलमा आफैँले ‘लामा रेष्टुरेन्ट एन्ड भान्छाघर’ खोलेका उनले २०७६ मा अस्पतालचोकमा ३० पाहुना राख्न मिल्ने लामा ‘कुदाप’ लज सञ्चालन सुरु गरे ।

तामाङ भाषाको शब्द ‘कुदाप’को अर्थ ‘चुल्हो हुन्छ। भान्छाघर र लजको दूरी करिब पाँच सय मिटर छ । दुई वर्षअघि भाडाको घरमा चलाएको लजसँगै जोडिएको चार आना जग्गा किनेका लामाले त्यहाँ पाँचतले पक्की घर बनाएर लजको क्षमता विस्तार गरेका छन् ।

हाल सत्तरी जना क्षमताको भान्छाघर र ८० जना क्षमताको लजमा राजन, उनकी श्रीमती र भाइसहित १८ जनाले रोजगारी पाएका छन्। घरभाडामा मात्र एक लाख ५० हजार तिर्ने भान्छाघर र लजमा पाँच करोड रुपैयाँ भन्दा बढीको लगानी छ । उनले छ लाख लगानीमा व्यवसाय सुरु गरेका हुन् ।

‘घरबाट रित्तोहात यता आएको थिएँ । भाडा माझेरै भएको आम्दानी र अनुभवले आफ्नै घरजग्गा जोडेर लज चलाउने अवस्थासम्म आएको छु,’ उद्यमी लामाले भने, ‘केही ऋण लिएको छु । कमाएर तिर्दै जानेछौँ ।’

होटलमा काम गर्दागर्दै एसएलसी र दश जोड दुई उत्तीर्ण गरेका लामाले स्नातक तहसम्मको शिक्षा हासिल गरेका छन् । उनले नुवाकोटका १० जनाभन्दा बढी युवालाई बेनीको होटलमा काम लगाएका छन् ।

‘स्कुल पढ्दा त्यस्तो खासै सपना थिएन। पछि होटलमा मजदुरी गर्दा कुनै दिन म पनि साहुजी बन्छु भन्ने लागेको थियो’, उनले भने, ‘त्यही सपनामा डोरिएर यहाँसम्म आइपुगेँ ।’

बिहान ६ नबज्दै उठ्ने उनी राति सुत्ने बेलामा १२ बज्छ। उनको दैनिकी आजभोलि पनि यसैगरी चलिरहेको छ ।

नेपाली, इन्डियन र कन्टिनेन्टल खानाका लागि लोकप्रिय बनेको रेष्टुराँ र लजको व्यवस्थापनमा बिहानदेखि बेलुकीसम्म उनी आफैँ सक्रिय हुन्छन्। उनलाई व्यवसायमा श्रीमती सारिका र भाइ अर्जुनको पनि साथ छ । उनीहरू आवश्यकता पर्दा रेष्टुराँका भाँडा माझ्नेदेखि पाहुनालाई खाना बाँड्नेसम्मका काममा सक्रिय हुन्छन् ।

म्याग्दी उद्योग वाणिज्य संघका द्विृतीय उपाध्यक्ष राजेश शाक्य राजनको काम, मेहनत र सफलता युवाहरूका लागि प्रेरणाको स्रोत भएको बताउँछन् ।

‘साथमा केही नलिई नुवाकोटबाट आएर मालिक बनेका राजनको सफलता प्रेरणादायी छ,’ उनले भने, ‘मेहनत गरे संसार जित्न सकिन्छ भन्ने उदाहरण हुन् राजन ।’

मगर समुदायको बाहुल्य बसोबास भएको म्याग्दीको होटल क्षेत्रमा ‘लामा’ भनेर चिनिने पहिचान राजनले नै बनाएका हुन् ।

मीठा परिकार, आत्मिय व्यवहार, परम्परा र आधुनिकताको फ्युजन गरिएको सजावट रेष्टुराँ र लजको विशेषता बनेको छ ।

लामाले होटलको कोठालाई म्याग्दीका स्थानीय तह, हिमाल र पर्यटकीयस्थलबाट नामकरण गरेका छन् ।

धवलागिरि, अन्नपूर्ण, मङ्गला, मालिका, बेनी, रघुगङ्गा, खोप्रा, निलगिरि र गुर्जा नामकरण गरिएका कोठा, डाइनिङ लजमा शालिग्राम पाइने कालीगण्डकी नदीको शिला राखेर सजावट गरिएको छ ।

म्याग्दीको मालिका गाउँपालिकाको रुमको खानीको स्लेट भुइँमा बिछ्याइएको छ । स्थानीय जङ्गलको टुनी, सल्लाको काठबाट खाट, दराज, टेबुल र कुर्ची बनाएका उनले होटलको हल र भित्तामा म्याग्दीका पर्यटकीयस्थलको तस्वीर राखेर सजावट गर्ने तयारी गरेका छन् ।

‘मेरो होटलमा आउने पाहुनलाई परिकारदेखि सजावटमा म्याग्दीको पहिचानको अनुभव दिलाएर पठाउने उद्देश्य हो,’ उनले भने, ‘बेनीको होटल व्यवसायलाई मर्यादित पेसाका रूपमा स्थापित गराउने अठोट पनि लिएको छु ।’

लज र रेष्टुरेन्टमा तामाङ परिकार थप गर्ने, काठमाडौँ, पोखरा, कुश्मा, बागलुङलगायत सहरमा होटलको शाखा विस्तार गर्ने योजनासमेत राजनले बनाएका छन् ।
रासस

 

वि.सं.२०८० भदौ १० आइतवार ०९:३८ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...