१० वैशाख,भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ भगतपुरका किशोर चुनाराले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् ।
शनिबार मध्यरातमा श्रीमती जयश्रीलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक मोहन साउदले घरायसी विवादले घटना भएको हुनसक्ने बताउनुभयो ।
श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी चुनारालाई उपचारका लागि महाकाली अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार किशोरले श्रीमतीलाई कुटपिट गरी हत्या गरेको स्वीकार गरेका छन् ।
प्रहरीले अभियुक्तमाथि कर्तव्य ज्यान उद्योगमा आज मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । मृतकका एक छोरा र दुई छोरी छन् । रासस