काठमाडौं । राष्ट्रिय सभाको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय उपाध्यक्ष एवं प्रतिनिधि सभामा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
बिहीवार बसेको राष्ट्रिय सभाको बैठकले नेम्वाङको निधनको शोक प्रस्ताव बैठकबाट सर्वसम्मतिले पारित भएको हो ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा मिति २०८० साल भदौ २६ गते निधन भएकोमा राष्ट्रिय सभाको बैठकले गहिरो शोक प्रकट गरेको बताए ।
स्व. नेम्वाङ नेकपा एमाले पार्टीको तर्फबाट २०४८ र २०५२ मा राष्ट्रिय सभा सदस्य, २०५६ मा प्रतिनिधि सभा सदस्य, २०६३ मा पुनःस्थापित प्रतिनिधि सभा सदस्य र व्यवस्थापिक संसद सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिक संसद सदस्य, २०७४ र २०७९ मा संघीय संसदअन्तर्गतको प्रतिनिधि सभा सदस्य थिए । साथै २०६३ सालमा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६३ सालमा नै व्यवस्थापिका संसदको सभामुख र २०६५ र २०७० को संविधान सभाको अध्यक्ष थिए ।
यसैगरी २०५६ मा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति भएका स्व. नेम्वाङ कानून, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत भएका थिए । संविधान सभा मार्फत नेपालको संविधान निर्माणमा उनको अग्रणी भूमिका रहेको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक २०८० साल असोज १२ गते शुक्रवार अपरान्ह बजेर १ मिनेटमा बस्नेछ ।
रासस/फाइल फोटो
वि.सं.२०८० भदौ २८ बिहीवार १६:२८ मा प्रकाशित






























