back
CTIZAN AD

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वि.सं.२०८३ जेठ ३१ आइतवार

273 

shares

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा मनाउँदै ह्वाइट हाउस परिसरमै भव्य युएफसी प्रतियोगिता आयोजना गरेका छन् । अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवसँग जोडिएको यो कार्यक्रमले खेल, राजनीति र राष्ट्रिय उत्सवलाई एकै मञ्चमा ल्याएको छ भने यसको स्वरूपलाई लिएर विवाद पनि चर्किएको छ ।

‘युएफसी फ्रिडम २५०’ नाम दिइएको यस विशेष कार्यक्रममा १४ जना अल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी) का चर्चित खेलाडीहरू ‘द क्लो’ नामक विशाल अखाडामा प्रतिस्पर्धा गर्दैछन् । करिब छ करोड डलर लागतको यो कार्यक्रम अमेरिकी स्वतन्त्रताको २५० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको भए पनि राष्ट्रपति ट्रम्पको ८०औँ जन्मदिनसँग संयोगवश जुधेको छ ।

कार्यक्रमलाई लिएर आलोचना पनि भइरहेको छ । आलोचकहरूले इरानसँग तनाव र युद्धको अवस्था जारी रहेका बेला ह्वाइट हाउसको ऐतिहासिक परिसरमा हिंसात्मक खेल आयोजना गर्नु अनुपयुक्त भएको टिप्पणी गरेका छन् । उनीहरूका अनुसार युद्धका कारण विश्व बजारमा मूल्यवृद्धि भइरहेका बेला यस्तो प्रदर्शनले गलत सन्देश दिन सक्छ ।

यद्यपि राष्ट्रपति ट्रम्पले कार्यक्रमको खुलेर समर्थन गर्नुभएको छ । मे महिनामा ओभल अफिसमा युएफसी खेलाडीहरूसँग भेटघाटका क्रममा उहाँले यसलाई दर्शकका लागि अविस्मरणीय अनुभव हुने बताएका थिए ।

ह्वाइट हाउसका अनुसार कार्यक्रमको सम्पूर्ण खर्च युएफसीले नै व्यहोरेको छ । युएफसीका प्रमुख सामग्री अधिकारी क्रेग बोर्सारीले खेल र राजनीतिलाई जोडिएको आरोप अस्वीकार गर्दै यो अमेरिकी खेलाडी र राष्ट्रको उत्सव भएको बताए ।

कार्यक्रमलाई अझ विशेष बनाउन केही खेलाडीहरू ऐतिहासिक ओभल अफिसबाट बाहिर निस्केर साउथ लनस्थित अखाडासम्म पुग्ने व्यवस्था गरिएको छ । आठ कोण भएको तारजालीयुक्त पिँजडा अर्थात् अष्टभुजभित्र हुने प्रतिस्पर्धा हेर्न चार हजारभन्दा बढी दर्शकका लागि सिटको व्यवस्था गरिएको छ ।

प्रतिस्पर्धामा सहभागी युएफसी लडाकू माइकल च्यान्डलरले यसलाई लडाइँ खेलकुद इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता बताए । फ्रान्सेली लडाकू सिरिल गेनले पनि आफू राजनीतिभन्दा खेलमा केन्द्रित रहेको उल्लेख गर्दै विश्वसामु खेल प्रस्तुत गर्ने अवसर महत्त्वपूर्ण भएको धारणा राखे ।

अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार समारोहमा ऐतिहासिक झलक प्रस्तुत गर्ने विशेष कार्यक्रम, सैन्य ब्यान्ड, सैन्य विमानको उडान प्रदर्शन, प्यारासुट प्रदर्शन तथा अन्त्यमा १० मिनेट लामो आतशबाजी हुनेछ ।

यस कार्यक्रमलाई रोक्न स्थानीय बासिन्दाले अदालतमा दायर गरेको निवेदन शुक्रबार अस्वीकृत भइसकेको छ । त्यससँगै कार्यक्रम आयोजना गर्ने कानूनी अवरोध पनि हटेको छ ।

ट्रम्पको जन्मदिनसँग जोडिएको यो कार्यक्रमले वासिङ्टनको ठूलो क्षेत्र प्रभावित बनाएको छ । लिङ्कन मेमोरियल नजिक खेलाडीहरूको तौल मापन गरिएको छ भने नेशनल मल क्षेत्रमा विशाल पर्दामार्फत करिब एक लाख २५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसबीच राष्ट्रपति ट्रम्पको उमेर र स्वास्थ्यबारे पनि बहस जारी छ । उनले प्रायः आफ्नो सक्रियतालाई पूर्वराष्ट्रपति जो बाइडेनसँग तुलना गर्ने गर्नुभएको छ । यद्यपि ट्रम्प स्वयं पनि हातको चोट, खुट्टाको शिरासम्बन्धी समस्या तथा सार्वजनिक कार्यक्रममा थकान देखिएको विषयमा चर्चामा रहेका छन् । तर उनका चिकित्सकले राष्ट्रपति उत्कृष्ट स्वास्थ्य अवस्थामा रहेको बताएका छन् ।

हालै सार्वजनिक एक भिडियोमा ट्रम्पले ८० वर्ष पुगेकोमा आफू पूर्ण रूपमा खुसी नभएको स्वीकार गर्दै ‘यो मलाई मनपर्ने सङ्ख्या होइन, तर म यहाँ छु’ भनेका थिए ।

विश्लेषकहरूका अनुसार रियालिटी टेलिभिजनको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गर्नुभएका ट्रम्पले सार्वजनिक प्रदर्शन र भव्य कार्यक्रमलाई आफ्नो राजनीतिक शैलीको महत्त्वपूर्ण हिस्सा बनाउँदै आएका छन् । जर्ज वासिङ्टन विश्वविद्यालयका सञ्चारविद् पिटर लोगेका अनुसार ट्रम्पले राष्ट्रपतिको भूमिकालाई पनि आफ्नो पूर्व सार्वजनिक जीवनकै शैलीमा प्रस्तुत गरिरहेका छन् ।

गत वर्ष आफ्नो जन्मदिनका अवसरमा ट्रम्पले अमेरिकी सेनाको २५०औँ वार्षिकोत्सवसँग सम्बन्धित भव्य सैन्य परेडको निरीक्षण गर्नुभएको थियो । यस वर्ष भने उहाँको जन्मदिन खेल, शक्ति प्रदर्शन र राष्ट्रिय उत्सवको मिश्रित स्वरूपका कारण थप चर्चामा आएको छ ।(रासस/एएफपी)

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:४६ मा प्रकाशित

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौँ । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले...