बुद्ध चेम्जोङ, अमेरिका । गीतकार तथा निर्मात्री इन्दिरा चेम्जोङ्गको एकल गीति एल्बम “अर्को जन्म” को बिमोचन सम्पन्न भएको छ ।
नेपाली अमेरिकन कलाकार संघका अध्यक्ष सुमन बुढामगरको सभापतित्वमा प्रमुख अथिति नेपाल महावाणिज्य दुताबास, न्यु योर्कका वाणिज्य दूत कृसु छेत्रीले दीप प्रज्जलन गर्दै अन्य उपस्थित अथितिहरुका साथ एल्बमको बिमोचन भएको छ ।
उक्त कार्यक्रममा ६ वटा भिडियो प्रदर्शन गरिएका थिए जस मध्ये एउटा लिम्बु गीत रहेको छ ।
भिडियोहरु ३ वटा अमेरिकामा र ३ वटा नेपालमा छायांकन गरिएको छ ।
यस एल्बम बिक्रीको पैसा आफ्नो जन्म गाउँको स्कूल श्री पुण्य मावि राजारानी, धनकुटालाई चन्दा प्रदान गर्ने गीतकार तथा निर्मात्री इन्दिरा चेम्जोङ्गले बताइन | लिम्बु भाषाका थुप्रै सफल गीत गाई सकेकी गायिका सीता कुमारी सिंगकको स्वर रहेको गीतमा सँगीत ईमाहाङ सेत्लिङ लिम्बुले दिएका छन् ।
भिडियो निर्माणमा लिला कुमारी सिंगकले निर्देशकको जिम्मेवारी निभाएकी छन् भने राम सदेम्बा लिम्बुले छायाङ्कनमा हात हालेका छन् । भिडियोमा सुमित्रा लिम्बु र अमर सेहाङ नेम्बाङ लिम्बुलाई पहिलो पटक प्रस्तुत गरिएको निर्देशक सिँगकले बताईन् ।

सोहि अल्बमकै अर्को दुई गीतको छायाङ्कन भने मोक्तान डिजिटलका शम्भु मोक्तानले गरेका छन् । पहिलोमा शौरम तुलाधर र शम्भु मोक्तानको सँयुक्त निर्देशन रहेको छ भने कलाकार आकेशा बिष्ट र शौरम तुलाधरको प्रस्तुती हेर्न पाईनेछ । बसन्त सापकोटाको सँगीतमा यस गीतलाई मेलिना राई र प्रमोद खरेलले स्वर भरेका छन् । दोस्रो गीतमा कलाकारहरु अकेशा बिष्ट, इशान ढकाल, प्रजिता काफ्ले छन भने राज शुक्र लिम्बुको संगीतमा सुमधुर स्वरकी धनी अन्जु पन्तको रहेको छ ।
नेपालमा छायाङ्कन भएको ३ वटा गीतहरुमा भर्शटाइल गायक दीपक लिम्बुको स्वर तथा तारा प्रकाश लिम्बुको संगीतमा नायिका/गायिका बिष्णु चेम्जोङ् र निर्मल पुलामी मगर मोडल रहेका छन | त्यसरी नै चर्चित गजल गायक स्वरुप राज आचार्यको स्वर, राजशुक्र लिम्बुको संगीतमा जिबन घिमिरे तथा सपना छन भने तेस्रो गीतमा मिलन अमात्यको सुमधुर स्वरमा बाबुल गिरीको संगीतमा कविता माखिम लिम्बु र सागर लिम्बुले अभिनय गरेका छन ।

इन्दिरा चेम्जोङ्ग, किराँत याक्थुङ्ग चुम्लुङ्ग अमेरिकाका (२०११- २०१५) निवर्तमान उपाध्यक्ष पनि हुन् । आफ्नो समुदायको सेवासंगै महिला सशक्तिकरण अभियानमा न्यु योर्कको “अधिकार” संस्थामा समेत आवद्द छिन । उनै प्रतिभाशाली नेत्री इन्दिरा चेम्जोङ्गले साहित्य, संगीतसंग जोडिएको गीतकार विधामा “अर्को जन्म” एल्बम मार्फत आफ्नो नाम लेखाउन सफल भएकी छिन ।
गीतकार तथा निर्माता इन्दिरा चेम्जोङ्ग धनकुटा जिल्ला चौबिसे राजारानी की हुन् । गीत, संगीतमा सानै देखिको इच्छा भएपनि व्यबहारिक कार्य ब्यस्तताका कारण अहिले मात्र यो इच्छा पुरा गर्ने समयानुकुल मिलेको गीतकार चेम्जोङ बताउछिन भने अब आउदो दिनहरुमा पनि समयले साथ दिएसम्म यही कार्यलाइ निरन्तता दिने उनी बताउ छिन् । प्रवास अमेरिकामा रहेर पनि सामाजिक कार्यमा सधै अग्रणी हुने उनी मानवताको लागि गरिने यस समाजसेवाप्रति आफुलाई सन्तोष प्राप्त हुने बताउछिन।
वि.सं.२०७४ वैशाख १२ मंगलवार ०४:४६ मा प्रकाशित



























