
काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।
काठमाडौंमा आयोजित जारी अधिवेशनको निर्वाचन बिहीबार बिहान ८ बजेबाट सुरु हुने भनिएपनि सहमतिमै नेतृत्व चयनमा जोड दिएका कारण बिहान निर्वाचन हुन सकेको थिएन । यद्यपी अध्यक्षका आकांक्षी धेरै देखिएपछि अन्तत : तालिका नै संशोधन गरेर मतदानको समय बेलुकाका लागि सारिएको हो । प्रमुख निर्वाचन आयुक्त डिल्ली मैनालीका अनुसार बेलुका ६ बजेदेखि निर्वाचन सुरु हुनेछ ।
वागमती प्रदेशको अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दिएका थिए । जसमा केशर बहादुर बुढाथोकी, कैलाश प्रसाद ढुंगेल र सानुकुमार श्रेष्ठको उम्मेदवारी कायमै रहेको छ भने अध्यक्षको उम्मेदवारी दिएका वर्तमान अध्यक्ष केशव राज पाण्डेले विभिन्न विवाद बढेपछि आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
वागमती प्रदेशमा सर्वसम्मतिमा नेतृत्व चयन गर्न जोड दिएको एमाले केन्द्रीय नेतृत्वलाई अध्यक्षका आकांक्षी धेरै देखिएपछि व्यवस्थापपन गर्न हम्मे हम्मे परेको छ ।
वि.सं.२०८० असोज ११ बिहीवार १५:३७ मा प्रकाशित