
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको दक्षिण-पश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।
हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
त्यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
वि.सं.२०८० असोज १६ मंगलवार ०८:१८ मा प्रकाशित