
कृष्ण बाउसे
एउटा बोट थियो
म थिएँ उसको हाँगाको फल ।
नङ र मासुको प्रेममा
कुन दुष्टको आँखा लागेछ !
हेर्दाहेर्दै
बोटलाई नाङ्गेझार पारियो
र कटमिरो मलाई पियाइयो
पानीमा कार्बाइड घोलिएको विषाक्त झोल ।
अनि
चिसा कारागारहरूमा कोचेर
बिरालोले मुसो खेलाएझैँ खेलाइ खेलाइ
जबर्जस्ती सफा गर्न पठाइयो मलाई
ढल पुग्नु अघिको कसैको दुर्गन्धित मल ।
मेरो जीवनाधार बोटको वंशवृद्धिका लागि
म भित्रका बियाँहरूलाई सिङ्गै निलेर
आफ्नो बिस्टाका साथ माटोमा सेचन गर्दै हिड्ने
ए मेरा प्रिय चरी !
हेर न !
न मलजल गर्नेलाई नै राम्रो पुरस्कार दिन सकेँ मैले
न त दिन सकेँ खानेलाई नै आरोग्य !
केवल नाफाखोरको स्वार्थपूर्तिका निम्ति
व्यर्थै लुटियो
घामले तातेर
गिलित्तै हुनेगरी पाकेर
पहिला अघाउँजी तिम्रो चुम्बा खाने
अनि
खोजी खोजी भोकाएकाहरूलाई
माया बाँड्दै हिड्ने
मेरो मनको अन्तिम रहर ।
वि.सं.२०८० असोज २० शनिवार ०८:४९ मा प्रकाशित