समीप बैरागी,रोल्पा
समाएर अलग– अलग–डाडु पन्यु
आखिर भँगालिनु रहेछ
बिचारको नदीबाट–हामी ।
संघर्षको महाअभियानमा
आगोको यात्रा गर्दैगर्दा
रगतले नुहाएको रक्तिम छेडानिर
उभिएर सहिदहरूको सामुहिक चिहानमा
किन भन्यौँ ?
हामी पूरा गर्नेछौं अँधुरा सपनाहरू ।
बोकेर अठोट संकल्प
लाल झु्पडीहरूबाट निस्किँदै गर्दा
आँसुको घुट्की पिउने सिरानीहरूलाई
किन भन्यौँ ?
अब कहिल्यै पिउनु पर्दैन अभावको आँसु ।
हामी छुट्नुमा
न पीर तिमीलाई भयो
न पीर मलाई भयो
पीर त उनीहरूलाई भयो
जो हामीलाई प्रेम गर्नेहरू छन् ।
बारुदको धुँवासँग
नाच्दै – नाच्दै आउने गोलीको भिडमा
हाँसीहाँसी ढाल बनेर उभिदिने
खर्सुबोट र धुपी सल्लाहरूलाई
किन भन्यौँ ?
हामी यो वर्गीय संग्राम कहिल्यै हार्ने छैनौं ।
छाती चिरिएको झुप्रो भित्र
खरानी थुप्रिएको अँगेना छेउमा बसेर
आकाश गंङ्गासँग
दुःखको पोको फुकाइरहेका नाङ्गा शरिरहरूलाई
किन भन्यौँ ?
हामी बढार्ने छौँ असमान्ताको कालो बादल ।
हामी छुट्नुमा
न पीर तिमीलाई भयो
न पीर मलाई भयो
पीर त उनीहरूलाई भयो
जो हामीलाई प्रेम गर्नेहरू छन् ।
आउन फेरि भेटौँ उही दोभानमा
जहाँ हामी छुटेका थियौँ
तिमी पनि बग्दै – बग्दै आऊ
म पनि बग्दै – बग्दै आउँछु ।
कसिङ्गरहरू किनारामा ढकेल्दै
अब एउटै नदीमा बग्नु छ हामी
सुसेलेर संयोगको सुन्दर गीत
साकार पार्न बर्षौँ पहिले बाँडेको मीठो सपना ।
वि.सं.२०८० असोज २० शनिवार ०८:५० मा प्रकाशित






























