back
CTIZAN AD

रेष्टुरेन्टमा ढिँडो पाक्न थालेपछि बढ्यो कोदोको माग

वि.सं.२०८० असोज २० शनिवार

1.4K 

shares

डम्मर बुढा मगर, ढोरपाटन (बागलुङ) । केही वर्ष पहिलेसम्म बागलुङका होटल तथा रेष्टुरेन्टमा कोदोका परिकार पाक्दैनथे । पछिल्लो समय यहाँका होटल तथा रेष्टुरेन्टमा कोदाको ढिँडो पाक्न थालेपछि कोदोको माग बढ्दै गएको छ । कोदोको परिकारमा प्रोटिन, आइरन र क्याल्सियम बढी मात्रामा पाइने र स्वास्थ्यका लागि उपयोगी हुने भएकाले माग बढ्दै गएको होटल व्यवसायी बताउँछन् ।

पहिले–पहिले कोदोको ढिँडो, रोटी र खोले निकै कम मात्रै पाक्थ्यो । पछिल्लो समय घरबाससँगै सहर बजारका ठूला-ठूला होटलका भान्छामा पनि ढिँडो पाक्न थालेको छ । कोदोको माग बढ्दै गए पनि बागलुङको काठेखोला गाउँपालिका-८ लेखानीका किसानले मात्रै व्यावसायिक रुपमा उत्पादन गर्ने गरेका छन् ।

रैथाने जातको कोदोको माग बढेपछि केही किसानले व्यावसायिक कोदो उत्पादनमा लागेका छन् । जिल्लाको सबै क्षेत्रमा उत्पादनका लागि उपयुक्त हावापानी भए पनि कम मात्रामा खेती हुने गरेको छ । जङ्कफुड र आयातित खाद्यान्नमा निर्भर हुँदा किसानले कोदो खेतीलाई व्यावसायिक बनाउन सकेका छैनन् ।

पछिल्लो केही वर्षयता बागलुङ बजारका होटलहरुमा कोदोका परिकारको माग बढ्न थालेको होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताए । कोदोको ढिँडोसँगै, भाँगो, टिमुर र स्थानीय उत्पादनको परिकार पाहुनाले माग गर्न थालेको उनको भनाइ थियो । माग बढेसँगै गाउँबाट कोदोको पीठो मगाएर पाहुनालाई ढिँडो खुवाउने गरेको अध्यक्ष राजभण्डारीले बताए । बजारमा सहज रुपमा कोदोको पीठो पाउन गाह्रो हुने उनको भनाइ थियो ।

“पहिले कोदोको ढिँडोको माग खासै आउँदैनथ्यो, अहिले होटलमा आउने धेरै पाहुनाको रोजाइ ढिँडो हुन्छ । विशेषगरी स्थानीय उत्पादनबाट बनेका परिकारको माग बढ्दो छ । अहिले धेरै मानिसमा अग्र्यानिक खाना खानुपर्छ भन्ने सोच बढेको छ,” अध्यक्ष राजभण्डारीले भने, “कोदोको खेती कम भएर होला, भनेको समयमा पीठो पाउन सकिँदैन । कहिले गाउँबाट ल्याउँछौँ । कहिले यहीँ अग्र्यानिक सामान बेच्ने पसलबाट ल्याउँछौँ । स्थानीय उत्पादनको महत्व मान्छेहरुले बुझ्दै गएका छन् ।”

स्थानीय किसान तिलबहादुर क्षेत्रीले पहिले कोदोका खाना घरबाहिर बसेर खाँदा पनि लजाउनुपर्ने स्थिति रहेको भन्दै अहिले धेरै मान्छेले ढिँडो मन पराउन थालेको बताए । आफूले वार्षिक सात मुरी कोदो उत्पादन गर्दै आएको जनाउँदै अहिले माग बढेकाले खेती गर्ने क्षेत्रफल पनि बढाएको उनले बताए । बजारबाट कोदोको पीठो किन्ने व्यापारी गाउँमै आउने गरेको भन्दै आम्दानी पनि राम्रो हुँदै गएको क्षेत्रीले बताए । उनले अघिल्लो वर्ष झन्डैै रू ५० हजारको कोदो बिक्री गरेको सुनाए ।
“हामी सानो हुँदा कोदोको ढिँडो, रोटी खाँदैनथे । कोहीकोहीले खाए पनि लुकाएर खान्थे । यस्तो राम्रो अन्न त्यतिबेला चिन्न सकिएन, अहिले यस्तो माग बढी छ । गाउँमा त कमैले खान्छन् ढिँडो, कोदो बिक्री बढी हुने बजारमै हो,” क्षेत्रीले भने, “पहिला घरमा कोही पाहुना आउँदा चामल खोजेरै भए पनि भात खुवाउनु पर्छ भन्ने चलन थियो । अहिले त आउने पाहुनाले नै ढिँडो खाउँ भन्छन् । कोदो स्वास्थ्यका लागि फाइदाजनक भएकाले नै ढिँडोको माग बढेको हो ।”

जिल्लाभर १८ हजार चार सय ५६ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । हरेक वर्ष २३ हजार चार सय ५६ मेट्रिक टन कोदो उत्पादन हुने गरेको केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले जानकारी दिए । उनका अनुसार अहिले यहाँका किसानले रैथाने रुपमा कोदो खेती गर्दै आएका छन् । पछिल्लो समय जनमानसमा कोदोको महत्व बढ्दै गएपछि किसनाहरु उत्पादनका लागि उत्साहित भएका उनले बताए ।

कृषि ज्ञान केन्द्रले कृषकलाई रैथाने जातका कोदो लगायतका खाद्यबाली लगाउनका लागि प्रेरित गर्दै विभिन्न कार्यक्रम गरिरहेको पुन मगरले बताए । “बागलुङमा कोदो खेती गर्नका लागि पर्याप्त जमिन छ । किसानलाई कोदो खेतीतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उनले भने, “उहाँहरुले कोदोको पीठो ब्रान्डिङ, प्याकेजिङ गर्न, परिकार बनाउनका लागि आवश्यक तालिम र परामर्श दिने गरेका छौँ । केही गाउँमा व्यावसायिक रुपमा लागेर कोदोको परिकार बनाइरहेका छन् । उत्पादन गर्ने क्षेत्र बढाउनका लागि किसानलाई प्रेरित गरिरहेका छौँ ।”

यस वर्ष किसानले लगाएको कोदोमा खैरो थोप्ले र मरुवा रोग लागेकाले उत्पादनमा ह्रास आउने देखिएको पुन मगरले बताए । दुईवटा रोगको सङ्क्रमणका कारण कोदोको डाँठ कुहिएर बाला लाग्न नपाएको उनको भनाइ थियो ।

वि.सं.२०८० असोज २० शनिवार १३:५२ मा प्रकाशित

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

काठमाडौँ। सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय...

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा ठगीका घटनाप्रति सचेत रहन...