
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुढानिलकण्ठमा रहेको पशुपति पानी उद्योगलाई एक लाख रुपैयाँ जरिबाना गरेको छ ।
पशुपति स्प्रिङ वाटर उद्योगले उत्पादन गरेको पानीमा लामखुट्टेको लार्भा भेटिएको भन्दै महानगरले उद्योगलाई १ लाख जरिवाना गरेको महानगरका अनुगमन निरीक्षक डा.अवधेश झाले जानकारी दिए ।
पशुपति पानी उद्योगबाट उत्पादित एभरेष्ट जारभित्रको पानीमा लार्भा भेटिएकाले कारबाही गरिएको झाले बताए । ग्राहकले खरिद गरेको पानीको जारमा लामखुट्टेका लार्भा भेटिएपछि उपभोक्ताले महानगरलाई जानकारी गराएका थिए ।
महानगरले कम्पनीलाई जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन दिएको छ ।
काठमाडौँ महानगरपालिकाले गत असोज २३ गते बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित त्रिवेणी वेभरेज इण्डस्ट्रिजलाई पनि एक लाख रुपैयाँ जरिवाना गरेको थियो ।
रासस/सांकेतिक फोटो
वि.सं.२०८० असोज २६ शुक्रवार ०७:३२ मा प्रकाशित