back
CTIZAN AD

निर्वाचित भएको औचित्यसमेत पुष्टि गर्न धौ धौ परेको छ – नेता उप्रेती

वि.सं.२०८० असोज २९ सोमवार

1.4K 

shares

नेकपा (एमाले)का नेता हरिप्रसाद उप्रेती मुलुकमा जारी राजनीतिक अस्थिरता, युवा विद्यार्थीको विदेश पलायन, समाजमा देखिएको अविश्वास र आर्थिक सङ्कटका कारण आफू निर्वाचित भएको औचित्यसमेत पुष्टि गर्न धौ धौ परिरहेको प्रतिक्रिया दिन्छन् ।

“जनप्रतिनिधि नै अलमलमा परेका बेला मतदाताको अनुहार के उज्यालो होला ! त्यो स्थिति छ । निर्वाचित भएको औचित्य आत्माले सोधिरहेको छ । पुष्टि गर्न सकेको छुइन ।” उनले भने ।

आफू जनप्रतिनिधि रहेकै बखत किसान, मजदुर, कर्मचारी, शिक्षक, विद्यार्थी, उद्योगी र व्यपारी कोही सन्तुष्टि नभएको घटनाले तनाव सिर्जना गरेको बताउँदै उनले केही लिएर जान नसके पनि जनताको सेवामा निरन्तर घरदैलोमै पुगेको उनी बताउँछन् ।

निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत विगतमा पाएको बजेटको अधिकतम सदुपयोग गरी जनतालाई उत्साहित बनाएको घटना सुनाउँदै उनले संविधान जारी भएपछि मुलुकले विकास र समृद्धिमा तीव्रता हासिल गर्छ भन्ने आशामा भरोसा दिलाउन चुकिएको प्रतिक्रिया दिए ।

विसं २०३६ देखि मुलुकको राजनीति परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलन र क्रान्ति सहभागी भई योगदान पु¥याएका छन् । पार्टीभित्र शालिन र जनप्रिय नेताको परिचयन बनाएका उनी संविधानसभादेखि प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै आएका छन् ।

समानुपातिक र समावेशी चरित्र मात्र होइन, मौलिक हक अधिकारका हिसाबले उत्कृष्ट रहेको संविधानमा साससमेत प्रदूषित वातावरणमा फेर्न नपर्ने तथा परेको खण्डमा मुद्दा हालेर क्षतिपूर्ति भराउन सक्ने प्रावधानतर्फ ध्यानाकर्षण हुन् जरुरी रहेको उहाँले उल्लेख गरे ।

विकास निर्माणमा सांसद संलग्न हुन नपाउने हो भने त्यो विषय राज्यले उम्मेदवारलाई निर्वाचन अघि नै स्पष्ट पार्न पर्ने बताउँदै नेता उप्रेतीले राजनीति दलले पनि चुनावी घोषणपत्रमा यो गर्छाै, त्यो गर्छाैं भनी लामो फेरिस्त प्रस्तुत गर्न नहुने तर्क प्रस्तुत गरे ।

उनले भने, “निर्वाचनका बेला धारा, कुलो, बत्ती, सडक, पुल नभएको ठाउँमा पूरा गर्छांै भनिएको छ, निर्वाचन आयोग, अदालत र सरकारले त्यस बेला सांसद विकास निर्माणमा लाग्न हुन्न भनेर किन नबोलेको, जनताले घोषणापत्र हेरेर भोट हालेका हुन्, अहिले उनीहरुलाई धोका दिन मिल्छ !”

संसद्भित्र रहेको समीकरणको आधारले कानुन निर्माणलाई कति प्रभावकारी र तीव्र तुल्याउन सकिन्छ भन्ने भूमिका निर्धारण गर्ने उल्लेख गर्दै सांसद उप्रेतीले विधेयक बनाउने भूमिकामा रहेको मन्त्रालयको तयारीमा धेरै कुरा निर्भर रहने धारणा राख्छन् ।

पूर्वमन्त्री उप्रेतीले भने, “नागरिकता विधेयक रोकिँदा धेरै अलमल र समय बर्बादी भयो, सुन प्रकरणले पनि धेरै दिन सदन प्रभावित रह्यो । कतिपय अवस्थामा ढिलाइ हुँदा अनियमिता रोक्न पनि सहयोग पुग्छ ।”

सुनकै अक्षरले लेखिए पनि परिणाम सबै राम्रै दिन्छ भन्ने औचित्य पुष्टि गर्न कठिन हुने उल्लेख गर्दै उनले यति सानो मुलुकमा यति धेरै संरचना आवश्यक नरहेकाले खर्चलगायत कारणले सङ्घीयताको कार्यान्वयनमा चुनौती खडा गरिरहेको प्रतिक्रिया दिए ।

एक प्रश्नको जवाफमा नेता उप्रेतीले कोशी, मलङ्गवा, नेपालगञ्जमा सामाजिक सद्भाव र सहिष्णुतामा खलल पु¥याउन कोसिस भइरहेका बेला दिइने कतिपय उत्तेजनापूर्ण अभिव्यक्तिले असहिष्णुताका लागि बल पु¥याउनेतर्फ समयमै सचेत र सजग हुन आवश्यक रहेको सुझाव दिए ।

पछिल्ला निर्वाचनमा हुने गरेको खर्चले निष्ठाको राजनीतिक गर्ने ओझेलमा पर्ने र चुनावमा जति पनि खर्च गर्न सक्ने उद्योगी, व्यापारी र ठेकेदारको हाली मुहाली रहने परिस्थिति सिर्जना गरेकाले अभ्यासमा रहेको निर्वाचन प्रणालीमा व्यापक पुर्नविचार र सुधारको खाँचो उनले औल्याए ।

पूर्वमन्त्री उप्रेतीले भने, “खर्चका हिसाबले भ्रष्टाचार र निर्वाचन एक अर्काका पर्यायका रुपमा आएको देखियो । नागरिक अधिकार र लोकतन्त्रका लागि जीवन खर्चेका निष्टाको राजनीतिक गर्ने चुनाव नै लड्न नसक्ने भए भने तस्करी र माफियाको वर्चश्व रह्यो । चुनावी प्रणाली नसच्याए लोकतन्त्र नै धरापमा पर्न सक्छ ।”

नेताका परिवारलाई धमाधम सासद बनाउने प्रवृत्तिले समानुपातिक निर्वाचनको औचित्यमा गम्भीर प्रश्न उठेको बताउँदै उनले अभ्यासमा रहेको निर्वाचन प्रणालीबारे निर्मम भएर सोच्न पर्ने अवस्था आएको प्रतिक्रिया दिन दिए ।

“कानुन र विकास निर्माणको पाटोबाट केही गर्न नसकेपछि निरासमा परेका मतदाताले आक्रोशले होइन, हाँसेर हेरिदिउन् भनी आशा थेग्न र भरोसा दिलाउन अहोरात्र जनताको घरदैलोमा पुग्दैआएको छु ।”

एक प्रश्नको जवाफमा सांसद उप्रेतीले खर्चका हिसाबले प्रत्यक्षतर्फको सांसदको सङ्ख्या घटाउन र राष्ट्रियसभामा रहेको सङ्ख्या बराबर समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था कायम गर्न आवश्यक रहेकोे तर्क थियो ।

कतिपय सांसदले आवेगमा दिने अभिव्यक्ति र प्रस्तुत हुने शैलीबाट सदनको मर्यादा र अनुशासन स्खलीत भएको बताउँदै उहाँले आदर्श व्यक्तित्वको कम्जोर प्रतिनिधित्व तथा अरुलाई प्रहार गर्दा आफू सर्वश्रेष्ठ भइन्छ भन्ने मानसिकताको अस्वस्थ्य प्रतिस्पर्धाले त्यो अवस्था सिर्जना भएको टिप्पणी गरे ।

सञ्चारमाध्यमलगायतका कारण भ्रष्टाचारका घटना सतहमा आउने र जनताले थाहा पाउने विषय महत्वपूर्ण कुरा भएको बताउँदै सांसद उप्रेतीले त्यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने घटनामा सबैको जोड बल हुनुपर्ने बताए ।

विदेशी सहयोगमा स्थापना भई हाल रुग्ण अवस्थामा रहेको उद्योगलाई प्रभावकारीरुपमा सञ्चालनमा ल्याएर युवालाई रोजगारी सिर्जना गर्न सकिने बताउँदै उनले वीरगञ्ज चिनी उद्योग, बुटवल धागो कारखाना, गोरखकालीन रबर उद्योग र हेटौँडा कपडा उद्योगलाई नमूना बनाउन सकिने प्रशस्त सम्भावना रहेको विचार प्रकट गरे ।

कृषि क्षेत्रको विकास गर्न अनुदान र आधुनिकीकरण गर्न आवश्यक रहेको बताउँदै नेता उप्रेतीले कुनै पनि सरकारले किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन नसकेको धारणा राखे ।

राज्यले आउन सक्ने चुनौतीलाई समयमै ध्यान पु¥याउन नसक्दा जीवनलाई मृत्युसँग साटेर ठूलो सङ्ख्यामा युवा विदेश पलायन हुन परेको घटना सुनाउँदै उनले जीवनप्रतिको मोह हराएकै कारण समाजमा अराजकताको स्थिति उत्पन्न गरेको विचार प्रकट गरे ।

सांसद उप्रेतीले भने, “प्रकृतिक स्रोत र साधनले परिपूर्ण, सानो र सुन्दर देश छ, अनुशासित र दृढ सङ्कल्पित भई काम गर्नुपर्छ, अनि छोटो समयमै देशमा समृद्धि हासिल गर्न सकिन्छ, हामी त्यसमा काम गर्छाैं, त्यो विकास सन्ततिले होइन, हामीले नै भोग गर्न पाउँछौँ ।”

वि.सं.२०८० असोज २९ सोमवार ११:३१ मा प्रकाशित