काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा आज (शुक्रबार) नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।
आजको खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ । नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका हुन् ।
जारी प्रतियोगिताको समूह चरणमा नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । तर बिहीबारको भएको खेलमा भने ओमानसँग ५ रनले पराजित भई उपविजेतामा सीमित भएको थियो ।
यूएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले र हङकङलाई २२ रनले हराएको थियो । आजको अर्को सेमिफाइनल खेल कीर्तिपुर मैदानमा ओमान र बहराइनबीच हुनेछ । फाइनल खेल आइतबार कीर्तिपुर मैदानमा हुनेछ ।
फाइल फाेटाे
वि.सं.२०८० कात्तिक १७ शुक्रवार ०७:३१ मा प्रकाशित






























