
काठमाडौं । गत कार्तिक १७ गते शुक्रवार राती जाजरकोट र रुकुमपश्चिम लगायतका स्थानमा गएको भूकम्पपछि स्वास्थ्य संकट निम्तने सक्ने अवस्थातर्फ तत्काल ध्यानदिनुपर्ने जनाएको छ ।
गैरआवासीय नेपाली संघको तर्फबाट भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिमको स्थलगत भ्रमण तथा राहत वितरण गरेर फर्किएको संघको चिकित्सकसहितको टोलीले सो क्षेत्रमा समयमै उद्धार तथा राहत पुर्याउन नसके स्वास्थ्य संकट चुलिनसक्नेतर्फ ध्यानाकर्षण गराएको हो ।
संघ अन्तर्गतको स्वास्थ्य समितिले बुधवार आयोजना गरेको भर्चुअल अन्तक्र्रिया कार्यक्रममा भूकम्प प्रभावित क्षेत्रमा खटिएका संघका अभियन्ताहरुले बोल्दै करिब १८ हजार घर बस्नै नहुने गरी भत्किएको र महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष डा. बद्री केसीले राहत विस्तारै पुगे पनि चिसोको समयमा खुल्ला आकाशमा रात बिताउन पर्दा वृद्धवृद्धा, बालबालिका र महिलाहरुको स्वास्थ्य जोखिम बढ्ने देखिएको बताए । उनले भने, “पिउने पानीको समस्या छ । भूकम्पको कारणले मानसिक त्रास छ । गाउँमा सामूहिक दाहसंस्कार गरिएको छ । घर–घरमा क्रियापुत्री छन् । एउटै घरमा विरामी छन् त्यही घरमा मान्छेहरु दुःखमा छन् । त्यहाँको अवस्था शब्दमा व्यक्त गर्न सकिन्न ।” अध्यक्ष डा. केसीले हाल त्यहाँ पुगेकोे राहतका सामग्रीहरु पर्याप्त नरहेको बताउँदै राहत सामग्री व्यवस्थित ढंगले पुर्याउनुपर्नेमा स्थानीय सरकार तथा दाताहरु समेतले ध्यान दिनुपर्नेमा जोड दिए ।
पीडितको आवश्यकता धेरै रहेको तर राहत कम पुगेको बताउँदै डा् केसीले विदेशमा रहेका नेपालीहरुको सानो सहयोगले ठूलो राहत मिल्ले भन्दै सहयोगको लागि विश्वभर छरिएका नेपालीहरुलाई अपिल समेत गरे ।
कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष डा. हेमराज शर्माले देशमा दुःख परेका बेला विदेशमा रहेका नेपालीहरु एकजुट हुने बेला आएको बताउँदै आफूसक्दो सहयोगका लागि अनुरोध गरे ।
कार्यक्रममा संघका महासचिव गौरीराज जोशीले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी समस्याहरु आउन सक्ने भन्दै स्वास्थ्य समितिलाई कार्ययोजना बनाउन आग्रह गरे । उनले प्रभावित क्षेत्रमा संघले आफ्नो सक्रियता बढाईरहेको र आगामी दिनमा अल्पकालिन तथा दीर्घकालीन योजनासहित सहयोग गर्ने प्रतिबद्धता जनाए ।
संघका उपाध्यक्ष राज रेग्मीले राहत वितरणमा स्थानीय निकायसँगको समन्वय आवश्यक रहेको बताए । उनले भूकम्पबाट घाइते भएकाहरुको औषधि उपचार पहिलो प्रथामिकता रहेको उल्लेख गरे ।
कार्यक्रममा संघकी महिला उपाध्यक्ष रोजिना प्रधानले भूकम्प प्रभावित क्षेत्रका महिला स्वास्थ्यका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।
स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले सञ्चालन गरेको कार्यक्रममा भूकम्प प्रभावित क्षेत्रमा खटिएका चिकित्सक भूपेन्द्र मल्लले भूकम्पका कारणले मानिसहरुको स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन समस्या आउन सक्ने खतरा रहेको बताए । उनले वालबालिका, महिला, वृद्धवृद्धाहरुले समयमै औषधि उपचार नपाउने अवस्था रहेको र अहिले गाउँ गाउँमा झाडाबान्ताको महामारी फैलिने जोखिम रहेको बताए । उनले भूकम्प प्रभावित क्षेत्रमा गैरआवासीय नेपाली संघले स्वास्थ्य शिविर संचालन गर्न तयारी भइरहेको बताए ।
कार्यक्रममा संघका कोषाध्यक्ष सुदन थापाले संघले विश्वभरबाट संकलन भएको आर्थिक सहयोगको बारेमा जानकारी दिए भने संघका कार्यकारी निर्देशक राजेन्द्रकुमार राउतले संघको सम्पूर्ण बैंक खाता सञ्चालनमा रहेको जानकारी दिँदै गैरआवासीय नेपालीहरुको सहयोग आउनेक्रम जारी रहेको जानकारी दिए । यसअघि गैरआवासीय नेपाली संघ १ करोड रुपैयाँको राहतकोष स्थापना गरी प्रभावित क्षेत्रमा खटिएको थियो । त्यसपूर्व संघले सरकारी राहत कोषमा रु १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरेको थियो ।
वि.सं.२०८० कात्तिक २३ बिहीवार १३:५३ मा प्रकाशित