back
CTIZAN AD

यात्रा अनुभूति : पुरातात्विक संरक्षणको पर्खाइमा हलेसी महादेव गूफा

वि.सं.२०८० कात्तिक २८ मंगलवार

4.5K 

shares

पूर्वको पशुपतीका नामले समेत चिनिने प्रख्यापत धार्मिक तिर्थस्थलको नाम हो – हलेसी महादेव। अचम्म लाग्दो प्राकृतिक भू-वनोट रहेको धार्मिक तथा पर्यटकिय स्थल हलेसी महादेवको गूफा खोटाङ् जिल्ला, हलेसी तुवाचुङ् नगरपालिका वडा नं. ७ मा अवस्थित रहेको छ। हिन्दू धर्मावलम्विहरूका लागि पूर्वको पशुपती, बौद्धधर्ममार्गीहरूले दोस्रो लुम्विनी अथवा मरातिक गूफा र किराँत धर्मावलम्वीहरुका लागि आदिम भूमिका रूपमा चिनिने हलेषी महादेवको गूफा तीन धर्मावलम्वीहरूका लागी साझा धार्मिक तथा पर्यटकिय स्थल बनेको छ भने धार्मिक आडम्वरवादीहरूका लागि धार्मिक सहिष्णुताको नमूना स्थल पनि मानिन्छ। गुराँसे, तुवाचुँङ् जायजुम मलाथुम्की र रूपाकोट जस्ता सदावहार डाँडाको काखमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण विशालकाय चट्टान वा शिलामा अवस्थित हलेसी महादेवको गूफाभित्र विशेषतः महादेव(शिव), बसाह र भैरवका तीनवटा महत्वपूर्ण गूफाहरू रहेका छन्। मन्दिरको दर्शन गरेमा दुःखबाट मुक्ति मिल्ने, निःसन्तानलाई सन्तान मिल्ने र जागिरेहरूको पदोन्नती हुने जनविश्वास लिइन्छ।

दर्शनबाट प्राप्त हुने देवश्वलाई राजश्वमा परिणत नगरी हलेसी महादेव गूफाको संरक्षण र प्रवद्र्धनमा लगाउने गरेमा हलेसी धार्मिक मानिसहरूका लागि पवित्र धार्मीक स्थल, पर्यटकहरूका लागि अद्धितिय पर्यटकिय स्थल र अध्ययन अनुसन्धानकर्ताका लागि रहस्यमय अनुसन्धान केन्द्र बन्ने नै छ ।

हलेसी महादेवको गूफाभित्र प्रवेश गरिसके पछि केहि अचम्मका प्राकृतिक दृष्यहरू देख्न सकिन्छ । जसले एकपटक नास्तिक भन्ने हरूका लागि सोच्ने स्थितिको सिर्जना गरिदिन्छ। गूफाभित्र एकैपटक सयौको संख्यामा तिर्थालु तथा पर्यटक अटाउन सक्ने क्षमता छ। क्षेत्रफलका हिसावले यसलाई ठूलो गूफाका रूपमा लिइन्छ।महादेवको गूफाभित्र महादेव र गणेशको प्राकृतिक मूर्ती एकै ठाउँमा देख्न सकिन्छ। त्यसको दक्षिण भित्तामा पार्वतिस्थान रहेको छ। भित्तामा पार्वतीलाई लुकाई राखेर महादेवले आफू तल लुकेर भष्मासुरबाट संरक्षण गरेको मानिन्छ । गूफाभित्र धर्मद्धार, पापद्धार, स्वर्गद्धार, कर्मद्धारलगायत तेत्तिसकोटी देवीदेवताहरूको प्रतिमूर्तिहरू रहेका छन्। धर्मात्म मानिसहरू मात्र त्यो द्धारबाट प्रवेश गर्न सक्ने जनविश्वाास लिइन्छ। गूफाभित्र मुख्य आकर्षणको केन्द्र शिवलिङ् रहेको छ। शिवलिङ्को ठिक माथी शिलाबाट जल तप तप चुहेको देखिन्छ। यो साँच्चिकै आश्चर्यजनक दृश्य हो । धर्ममा विश्वास राख्नेहरूका लागि यहिनेर गूफाको धार्मिक महत्व झल्कन्छ। लाग्छ गूफामा साँच्चिकै महादेवको वास छ। कैलास पर्वतका नामले चिनिने यस पहाडमा शिव र पार्वतीको साँच्चिकै वास रहेको जनविश्वास पाइन्छ ।
हलेसी महादेव गूफाको दोस्रो आकर्षण हो – बसाहाथान गूफा जसले महादेव गूफाप्रतिको जनविश्वासलाई प्रमाणित गर्दछ । धार्मिक मान्यता अनुरूप महादेवले यी गूफाहरू भष्मासुर राक्षसबाट बच्नका लागि बनाएको किंवदन्ती रहेको छ । किंवदन्ती अनुसार भष्मासुर राक्षसको घनघोर तपस्याबाट प्रभावित महादेवले तिमि के वरदान माग्छौ म दिन्छु भनी भने पछि पार्वतिलाई आफ्नो वसमा पार्ने मनसायका साथ मेरो हात जसको शिरमा पर्छ, उ भष्म हुने वरदान पाएका भष्मासुरले प्राणप्रिय पार्वतीलाई बचाउन यहि गूफामा आइ लुकेको विश्वास गरिन्छ । बसाह गूफाको प्रवेशद्धारमा रहेको बसाहको मूर्ती, शिलामा रहेको शंख, भगवानको मोहनी रुपले भष्म बनेको भष्मासुरको रगत, गिदि, शिव पार्वतीका पाईला लगायतका कुराहरू साँच्चै आकर्षक र विश्वासिला मानिन्छन् । धार्मीक दृष्टिकोणबाट हेर्दा गूफामा साक्षात महादेवको वास रहेको कुरामा कुनै शंका गर्नुपर्ने ठाउँ देखिदैन ।

संरक्षणको पर्खाईमा हलेसी महादेव गूफाः
राजधानीबाट करिव ८-९ घण्टाको दुरीमा रहेको पूर्वको पशुपतीनाथ भनेर चिनिने हलेसी महादेवको गूफा संरक्षण र प्रचार प्रसारको पर्खाइमा रहेको छ । ओखलढुंगाको हिलेपानीबाट खोटाङ्को हलेसी पुग्न लाग्ने डेढ दुई घण्टाको बाटो मर्मत सम्भारको अभावका कारण अत्यन्त कष्टाकर रहेको पाइन्छ । देशकै प्रमुख पर्यटकिय गन्तव्यका रुपमा रहेको सो सडक मरम्मत संभार गर्न सकेमा धार्मिक पर्यटक मात्र होइन, यात्रुहरूले सुरक्षित गन्तव्यको लामो स्वास फेर्न पाउने थिए ।

हलेसी महादेव गूफा हिन्दू, बौद्ध र किराँतहरूको पवित्र धार्मिक संगम स्थलका रूपमा चिनिन्छ । गूफा क्षेत्रभित्र हिन्दूहरूका लागि शिव पार्वती अर्थात महादेव, बौदिष्टहरूका लागि मरातिक गूफा र किराँत धर्मावलम्वीहरुका लागि आदिम भूमिका रूपमा चिनिन्छ । यसको संरक्षण गर्नु जरूरी छ । हलेसी महादेवको गूफा कति वर्ष पुरानो हो अझसम्म पुरातात्विक अध्ययन भएको पाइदैन । गूफा भन्नासाथ चट्टानभित्रको खोक्रो भाग हो त्यही खोक्रो भागमा भगवानको वास हुन्छ भन्ने किंवदन्ति पाइन्छ । हलेसी महादेवको गूफा क्षेत्रमाथि एउटा ठूलो गुम्वा बनाइएको छ । निर्माताहरूले गूफाको भौगोलिक अवस्था, क्षमता र संभाव्यतालाई अध्ययन गरेर निर्माण गरेका पक्कै होलान तथापी गूम्वालाई अन्य स्थानमा निर्माण गरी गूफाको माथिल्लो भागलाई यथाअवस्थामा राख्न सकेको भए यसको सौन्दर्यता र संभावित विपत्तिबाट त्रसित हुन पर्ने अवस्था आउने थिएन कि ?

हलेसी महादेव गूफाको संरक्षण तथा सम्वद्र्धनको जिम्मा स्थानिय नगरपालिकाले लिएको पाइन्छ । यो स्वभाविक हो तर हलेसी महादेवको धार्मिक तथा पुरातात्विक महत्वलाई मध्यनजर गर्दा यो पुरातत्व विभागको अध्ययन र संरक्षणको विषय बन्नुपर्नेमा दुईमत देखिदैन । तथापी पुरातात्विक विभागको ध्यान नपुगेको हो कि भन्ने मात्र हो । हुन त पर्यटन मन्त्रालयको जिम्मेवारी त्यसै क्षेत्रका होनहार मन्त्रि सुदन किराँती हुनुहुन्छ । यो सुझाव मन्त्रिज्यूकोमा पुग्ने अपेक्षा लिइएको पनि छ ।

हलेसी महादेव गूफाको वरिपरी गूफाको पुरातात्विक महत्वलाई ओझेलमा पार्ने गरी ठूला-ठूला भवनहरू निर्माण भइरहेका छन्। स्थानिय सरकारद्धारा गूफाको सौन्दर्यता कायम गर्नका लागि भवन निर्माणका लागि निर्धारित क्षेत्र तोकि वस्ति व्यवस्थापन गर्न सकेमा यसको महत्व अझ झल्कने थियो । हलेसी गूफामा साक्षात शिव पार्वती वा महादेवको वास भएको विश्वास गरिन्छ । धार्मिक रूपमा यो क्षेत्र भगवान महादेवको पवित्र वासस्थान हो त्यसैले मन्दिरदेखि कम्तिमा १००-२०० मिटरको आसपासमा मदिराजन्य पदार्थ बेचविखनमा रोक लगाउन सकिएमा त्यसको महत्व अझ बढ्न जानेमा कुनै शंका छैन । स्थानिय सरकार र जनप्रशासनको यसतर्फ ध्यान जानु जरूरी देखिन्छ ।

सेन राजाको पालामा सेन राजाले दिएको गुठजग्गाको मोहरको मजबुन, रणबहादुर शाहले मनोरथ आचार्यलाई लाखपाती चढाउन बेठबेगार मिनाह गरिदिएको लालमोहर, चौ। शेरबहादुर शाहले मनोरथ आचार्यलाई लेखेको पत्र, हलेसी महादेवमा तामाको बैठक बनाइ चढाइदिने विषयको पत्रसमेतका आधारमा महादेव गुठीका नाममा थुप्रै रोपनी जग्गाहरू रहेको स्पष्टा हुन्छ तथापी गुठीका जग्गा संरक्षणको पर्खाईमा रहेको र स्थानिय सरकार र प्रशासनले संरक्षणका लागि तत्काल पहल थाल्नु आवश्यक देखिन्छ । हलेसी महादेवको अर्को समस्या भनेको पुजाआजा र त्यसको व्यवस्थापन हो । गिरी थरका पुजारीबाट त्यसको पुजाआजा गर्ने गराउने प्रचलन रहेकोमा पुजारीज्यूहरूले आफूलाई केन्द्रमा नराखी हलेसी महादेवको संरक्षणलाई केन्द्र विन्दुमा राखेमा साँच्चिकै पूर्वको पशुपतीनाथ भनेर आस्थाको शिर झुकाउन मन लाग्छ भने यसको प्रचारप्रसार गर्न गर्व । गूफाको संरक्षण र सम्वद्र्धनको जिम्मा स्थानिय सरकारले लिएको छ । गूफाको बारेमा जानकारी लिनदिन र प्रचार-प्रसारका लागि सूचना केन्द्रको स्थापना गरिएको छ तथापी प्रभावकारी व्यवस्थापन भने हुन सकेको पाइदैन । हलेसी महादेवका विषयमा जानकारीमूलक ब्रोसर, पम्पलेट तयार गरी दर्शनार्थीहरूका लागि वितरण गर्ने, जानकारीमूलक वा सूचनामुलक डकुमेन्ट्री तयार गरी प्रदर्शन गराउन सकेमा गूफाको विषयमा दर्शनार्थीलगायत आमनागरिकमा जानकारी हुने थियो । हलेसी महादेवको दर्शनबाट वार्षिक लाखौं रुपैया आम्दानी हुने गरेको जानकारी पाइन्छ तर दर्शनबाट प्राप्त हुने देवश्वलाई राजश्वमा परिणत नगरी हलेसी महादेव गूफाको संरक्षण र प्रवद्र्धनमा लगाउने गरेमा हलेसी धार्मिक मानिसहरूका लागि पवित्र धार्मीक स्थल, पर्यटकहरूका लागि अद्धितिय पर्यटकिय स्थल र अध्ययन अनुसन्धानकर्ताका लागि रहस्यमय अनुसन्धान केन्द्र बन्ने नै छ ।

अन्त्यमा, हलेसी महादेव गूफा जसलाई पूर्वको पशुपतिनाथ, मरातिक गूफा र आदिम भूमि जस्ता जे नामले पुकारे पनि यो पवित्र धार्मीक तथा पुरातात्विक भूमी हो । यसको संरक्षण र विकासका लागि गुरू योजना बनाई कार्यान्वयनमा ल्याउनु जरूरी छ । गुरू योजनाको अभावमा यसको विकास, प्रचारप्रसार हुन सकेको छैन। संरक्षणको पर्खाईमा रहेको छ हलेसी महादेव । हलेसी महादेव गूफाको वारेमा जानकारी गराउनु भएकोमा स्थानीय जनप्रतिनिधि तथा समाजसेवी राकेश परियार र होटल हलेसी भिलेजका प्रोपाइटर रूद्र गिरीज्यू लगायत स्थानीय बासिन्दाप्रति आभार व्यक्त गर्दे एक पटक जानै पर्ने स्थान हो हलेसी महादेव गूफा । संरक्षण र विकासको पर्खाईमा रहेको छ हलेसी महादेव । आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं ।

(लेखक पाण्डेय, उच्च अदालत विराटनगर अन्तर्गत अस्थायी इजलास ओखलढुंगामा रजिष्ट्रार छन् ।)

 

 

वि.सं.२०८० कात्तिक २८ मंगलवार १६:४३ मा प्रकाशित

व्यक्तिगत जीवनमा आत्मनिर्भरताकाे अभ्यास कसरी गर्ने ?

व्यक्तिगत जीवनमा आत्मनिर्भरताकाे अभ्यास कसरी गर्ने ?

स्वनिर्भरता भनेको जीवनका चुनौतिहरू सामना गर्न, स्वतन्त्र निर्णयहरू लिन र...

निर्वाचनमा ओखलढुंगाः एक विश्लेषण

निर्वाचनमा ओखलढुंगाः एक विश्लेषण

कोशी प्रदेश अन्तर्गत पर्ने ऐतिहासिक, साँस्कृतिक महत्वको शदिद भूमि हो-...