
राजेश क्षेत्री निर्दोष
दार्चुला, सुदूरपश्चिम प्रदेश
१
सफरमा छु निकै कहाँसम्म पुग्छु
टुङ्गो लागेको छैन खै कहाँसम्म पुग्छु
न गन्तव्य छ न कुनै सपना छ मेरो
भौतारिंदै भौतारिंदै कहाँसम्म पुग्छु
२
दुनियाँलाई सम्झिनु भन्दा एकपल अगाडी
सबै कुरा ठिकठिकै लाग्थ्यो छलफल अगाडी
बुद्धि विवेक र क्षमताको खुब आलोचना गर्छौ
घमण्डले मात चढेकाहरूको बल अगाडी
३
धनसम्पत्ति महल तिम्रै नाममा हुनेछ
कथा तिम्रै गजल तिम्रै नाममा हुनेछ
निर्दोषले पाएका हरेक खुसीहरू त्यागेर
भएपनि पागल तिम्रै नाममा हुनेछ
४
घमण्ड र अहम देखाई खुसी कहाँबाट आउँछ
आपसमै लड्छन् दाजुभाई खुसी कहाँबाट आउँछ
मान्छे हाँस्दै जन्मेको भए सायद खुसी हुनेथियो
रुँदै जन्मेको मान्छेलाई खुसी कहाँबाट आउँछ
५
दिएर प्रियालाई जीवन आफ्नो बनाउन
छुटेकाहरूलाई झन आफ्नो बनाउन
सम्पत्तिको पहुँच बढी भएको समाजमा
पैसा हुनुपर्छ आफन्तजन आफ्नो बनाउन
वि.सं.२०८० कात्तिक २८ मंगलवार १७:०० मा प्रकाशित