सुरेश राई, बाम्राङ, खोटाङ
उसले साहुजीलाई भन्यो ‘रक्सीसँगै चार पाँच टुक्रा कागती पनि ल्याइदिनु होला’ अनि मध्यरातीसम्म बेस्सरी पियो । टाउको पुरै घुमेकोले घर पुगेर ढल्यो । बेस्सरी उल्टी गर्यो । धारा खोलेर टाउको थाप्यो र फेरि एउटा सिङ्गै कागती गर्याम गर्याम चपायो ।
यसरी ढलेको ऊ भोलिपल्ट बिउँझिन असमर्थ भयो । यो पटक जण्डिसले उसको कलेजो पुरै धराप भैसकेको थियो । डाक्टरले रक्सी बिल्कुलै नछुनू भनेको कुरा उसले हल्कामा लिदियो । परिणाम उसको ज्यान गयो ।
रक्सीको पहिलो गिलासमा उसलाई कागती चाहिन्थ्यो । मातेर गरेको उल्टीपछि, बेहोसिको हालतमा फेरि कागती नै चपाएर त्यो दिनको मदयात्रा पूरा हुन्थ्यो । पहिलो टुक्रा कागतीदेखि सिङ्गो कागतीसम्मको यो यात्रा उसको जिन्दगीमा लामो चलिरह्यो ।
बेस्सरी पिए पनि रक्सी थोरै लागोस् भनेर उसले कागती खाने गर्दथ्यो । धेरै पिएर थोरै मात्न खोज्नु पनि पिउनेहरुको अचम्मैको चाहना हो ।
जे गरे पनि उसले रक्सी छोड्न सकेन । उसका परिवारजन, साथीभाइ, इष्टमित्र, सहकर्मी, टोलछिमेकी सबैलाई थाहा थियो उसको रक्सी र कागतीको आदत । कतिसम्म भने ऊ खल्तीमा कागती बोकेरै पनि हिँड्न थालेको थियो । उसलाई गिज्याउनेहरु ‘कागती म्यान’ भनेर बोलाउन थाले ।
ऊ झन्झन् बदनाम हुँदै गयो । स्वास्थ झन्झन् बिग्रँदै गयो । बदनामी फैलिएर गाउँ टोल र नगर नाघ्यो । यसरी नै उसले आफ्नो जिन्दगीलाई प्याला प्यालामा रित्याएरै छाड्यो ।
उसको अन्तिम संस्कार चलिरहँदा मान्छेहरुले ठट्टा गरे ‘कागती खाएर खाएर उसले आफूलाई मास छर्न जाने बनाइसकेछ ।’
कसैले पनि गफगाफमा उसले रक्सी पिउँथ्यो भनेर उल्लेख गरेनन् । सबैले ‘कागती खाएरै गए’ भने । एउटा मृतात्माको लागि त्यो जस्तो तीखो व्यङ्ग्य र दुर्भाग्यपूर्ण टिप्पणी अरु के हुन सक्थ्यो र ?
के गर्नु र बाबै ! उसले रोजेको बाटो पनि त ठीक थिएन ।
वि.सं.२०८० पुस १४ शनिवार ०८:२५ मा प्रकाशित