back
CTIZAN AD

मजदुरी गरेर पढाइ खर्च जुटाउदै बालबालिका

वि.सं.२०७४ वैशाख १८ सोमवार

822 

shares

१८ वैशाख, लिबाङ (रोल्पा) । लिबाङ नगरपालिका–६ धबाङका १६ वर्षीय प्रकाशबुढामगर बाल कल्याण उच्च माध्यमिक विद्यालय लिबाङ रोल्पामा अध्ययनरत हुनुहुन्छ । हाल उहाँ प्लस टू को छात्रका रुपमा विद्यालयमा भर्ना हुनुभएको छ ।

विद्यालयमा लगनशील, मिहेनती तथा अनुशासित छात्रका रुपमा रहेका बुढामगर अर्थाभावका कारण विद्यालय बाहिरको समयमा लिबाङमा ज्याला मजदुरी गर्दै शैक्षिक सामग्री तथा अध्ययन खर्च जुटाउँदै आउनुभएको छ । समय र आवश्यकताअनुसार उहाँ हरेक काममा संलग्न देखिनुहुन्छ । उहाँलाई कहिले बालुवा, गिट्टी बोक्ने, कहिले घर तथा पर्खालको गारो लगाउने त कहिले ग्रिल तथा फर्निचरसम्बन्धी काममा संलग्न भएको देख्न पाइन्छ ।

उहाँजस्तै उहाँका जेठा दाजु, दिदी, भाइ र बहिनीले यसरी नै कडा परिश्रम गर्दै आफ्नो अध्ययनलाई निरन्तरता दिँदै आउनुभएको छ । “हामी दाजुभाइ बिदाका बेला लिबाङमै काम गर्छांै तर दिदी र बहिनी भने लामो समयको बिदामा गाउँ फर्केर गाउँँमै काम गर्नुहुन्छ,” बुढामगरले भन्नुभयो । उहाँका दाजु हाल गाउँकै विद्यालयमा शिक्षण पेसामा संलग्न हुनुहुन्छ जसका कारण परिवारको आर्थिक समस्या केही हदसम्म हल भएको छ । तर पनि दाजुको मासिक तलब मात्र पाँचजनालाई पठनपाठनका लागि र घर खर्च चलाउन पर्याप्त नभएपछि आफूहरु ज्याला मजदुरी गरेर पढ्न बाध्य भएको उहाँको भनाइ छ ।

उहाँका दाजुले पनि कुनै बेला लिबाङमा बालुवा–गिट्टी बोकेर नै शैक्षिक सामग्री जुटाउँदै पढ्नु भएको थियो । तर जागिर खाने बाध्यताले उहाँको प्लस टूपछिको अध्ययनले निरन्तरता पाउन सकिरहेको छैन । भाइबहिनी सक्षम भए भने पुनः आफ्नो पढाइलाई निरन्तरता दिँदै जाने उहाँको धारणा छ । वर्षभरि मरिमेटी काम गर्दा पनि पेटभरि खान नपुग्ने भएपछि एकै घरका पाँच बालबालिका बिदाका दिनमा ज्यालामजदुरी गरेर लिबाङमा अध्ययन गर्दै आएका हुन् ।

बुढामगरका ५५ वर्षीय पिता पहलमान बुढामगरले अर्थाभावको परिपूर्तिका लागि लामो समय वैदेशिक रोजगारीमा बिताइसक्नुभएको छ । छोराछोरी ज्याला मजदुरी गरेर पढ्ने भएपछि हाल उहाँ घरमै खेतीपाती गर्दै आउनुभएको छ । धबाङमा सानो घर छ अनि घरवरपर सानोे पाटो छ तर उब्जनी हुँदैन । भएको उब्जनीले श्रीमती र पाँच छोराछोरीसहित सातजनाको परिवारलाई पेटभरि खान मुस्किल पर्छ जसका कारण उहाँका छोराछोरीको सहजै विद्यालय जाने वातावरण बन्न सकिरहेको छैन ।

अर्थाभावले गला थिचिरहँदा पनि पाँचैजनाको पढ्ने उमेर भने बढिरहेकै देखिन्छ । गाउँमा अन्य परिवारका आफ्नो उमेरका साथीले गरिबीका कारण पढाइलाई निरन्तरता दिन सकिरहेका छैनन् । कोही वैदेशिक रोजगारीमा छन् त कोही गाउँमै खेती किसानी गर्छन् । कोही कुलतको बाटोमा हिँडिरहेका छन् तर पनि यो परिवारका पाँचैजना सन्तान निरन्तर अध्ययनमा जुटिरहेका देखिन्छन् । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने झँै मनभित्रबाट जागेको उत्साह र चाहनालाई जसरी पनि परिपूर्ति गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेको छ बुढामगर परिवार ।

उच्च शिक्षा हासिल गरिसकेपछि यही नै बन्छु भन्ने उनीहरुको कुनै लक्ष्य छैन तर पनि जागिर गरेर आर्थिक अवस्थामा सुधार आउँछ कि भन्ने झिनो आशा भने बाँकी नै छ । कर्मचारी आवश्यकताको सूचना प्रकाशित भएपछि पटक पटक एसएलसी उत्तीर्ण गरेको प्रमाणपत्र बोकेर आवेदन दिन जाँदा कहिले उमेर नपुग्ने कहिले ‘सोर्स’ नपुग्ने भएपछि खिन्न बनेका प्रकाशलाई पछिल्ला दिनमा लोकसेवाको परीक्षा मात्र निष्पक्ष हुन्छ भन्ने कुरामा विश्वास बढेको छ । मिहेनत गरे अवश्य पनि एक दिन सफल भइने आशा र विश्वासका साथ उहाँ लोकसेवाको पनि तयारीमा जुटिरहनु भएको छ ।

उहाँका अनुसार गत चैत महिनामा लोकसेवा आयोगमा श्रेणीविहीन कार्यालय सहयोगी पदका लागि उहाँले आवदेन दिनुभएको छ । तर मजदुरी गरेर थाकेको शरीरले पढाइलाई चाहेअनुरुप प्राथमिकतामा राख्न नसकेको उहाँको दुखेसो छ । सानो कक्षामा पढ्दा सरकारले निःशुल्क पाठ्यपुस्तक वितरण गरेको र मासिक शुल्क नलिएको हुँदा केही सहज भए पनि माथिल्ला कक्षामा थप समस्या चुलिँदै जान थालेको छ । गाउँको विद्यालयमा मासिक शुल्क महँगो भएपछि पाँचैजना लिबाङमा डेरा गरेर पढ्न बसेको उहाँँले बताउनुभयो ।

“बुबाआमाले हाम्रा लागि आफ्नो हाडमासु खियाइसक्नुभएको छ अब पनि हामीले दुःख नगरे सन्तान हुनुको अर्थ रहँदैन, त्यसैले हामी आफैँ सङ्घर्ष गर्छौं, सरकारको मुख ताकेर बस्नु पनि मूर्खता हो,” प्रकाशले भन्नुभयो । तर पनि सरकारले पढ्न चाहने विपन्न बालबालिकाका लागि भर्ना शुल्क र मासिक शुल्क सस्तो गरिदिन सके आफूहरुलाई थप राहत हुने उहाँको धारणा छ । प्रकाशका अनुसार काम गरेर पढेको देख्दा कहिलेकाहीँ साथीहरुले होच्याउने गर्छन् तर पनि उहाँलाई दुःख लाग्दैन । मान्छे धन, सम्पत्ति र ऐशआरामले होइन मिहेनतले ठूलो बन्छ भन्ने उहाँले राम्ररी बुझ्नुभएको छ ।

उहाँले भन्नुभयो, “आम मान्छेमा जस्तै हामीमा पनि नयाँ सोच, नयाँ चिन्तन र आकाङ्क्षाहरु छन् तर मनभित्र सीमित छन् हाम्रा आकाङ्क्षाहरु । हाम्रा चाहनामा गरिबी तगारो बनेर बाटो छेकिरहेको छ ।” प्रकाशकी दिदी पनि हाल प्लस टूमा अध्ययन गर्दै हुनुहुन्छ । प्लस टूपछि उहाँ प्राविधिक विषय पढ्न चाहनुहुन्छ । यी बालबालिकाले कुनै पनि सामाजिक सङ्घसंस्थाबाट सहयोग पाएका छैनन् ।

वि.सं.२०७४ वैशाख १८ सोमवार ०९:३९ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...