काठमाडौँ । वाणिज्य बैंकहरुले माघ महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजानिक गरेका छन् । बैंकहरुले माघ महिनाको लागि निक्षेपको व्याजदर पुस महिनाको भन्दा घटाएर सार्बजनिक गरेका हुन् ।
बैंकहरुले पुस महिनाको लागि निक्षेपमा ८.९९ प्रतिशत कायम गरेको व्यक्तिगत मुद्दतितर्फको औषत ब्याजदर माघ महिनामा ०.८२ प्रतिशतले घटाएर ८.१६ प्रतिशतमा झारेका हुन् ।
नेपालमा संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये अधिकांसले व्याजदर घटाए पनि एभरेष्ट र एनएमबी बैंकले भने पुस महिनाकै व्याजदरलाई निरन्तरता दिएका छन् ।
माघ महिनाको लागि बचत कर्तालाई सिटिजन्स बैंकले सबैभन्दा बढी व्याज दिने भएको छ । बैंकले व्याक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ९.१५ प्रतिशत ब्याज दिनेछ भने संस्थागततर्फ अधिकतम ६.६ प्रतिशत ब्याज दिने भएको छ । व्यक्तिगत मुद्दति निक्षेपमा पुस महिनाको तुलनमा याे दर ०.२ प्रतिशत कम हाे ।
वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम ब्याज दिनेमा कृषि विकास बैंक पहिलो स्थानमा रहेको छ । पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.०१ प्रतिशत ब्याज दिएको उक्त बैंकले माघ महिनामा भने ब्याज १.७५ प्रतिशतले घटाएर अधिकतम ७.२६ प्रतिशत मात्र दिने भएको हो । संस्थागत मुद्दति निक्षेपमा भने बैंकको अधिकतम ब्याजदर ५.७६ प्रतिशत रहेको छ ।
सबैभन्दा बढी ब्याज घटाउनेमा प्राइम कमर्सियल बैंक रहेको छ । पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतमम १० प्रतिशतका दरले ब्याज दिइरहेको बैंकले माघ महिनामा भने १.७५ प्रतिशत घटाएर अधिकतम ८.१ प्रतिशत मात्र ब्याज दिने भएको हो । त्यसैगरी, बैंकले संस्थागत मुद्दति निक्षेपमा अधिकतम ६.१ प्रतिशत मात्र ब्याज दिने भएको छ ।
वाणिज्य बैंकहरुमा अधिक तरलता थपिएर व्यवस्थापन गर्न हम्मे हम्मे परिरहेको बेला उनीहरुले निक्षेपकर्तालाई दिने ब्याज घटाएका छन् । अब यसको सोझो असर कर्जामा पर्ने छ । जसका कारणाआगामी दिनमा कर्जाको व्याजदर अझै घट्ने देखिन्छ । माघ महिनाको लागि बैंकहरुले प्रकाशित गरेको व्याजको औषत आधार दर ९.७७ प्रतिशत रहेको छ । फागुनमा यो दर अझै घट्ने देखिन्छ ।

वि.सं.२०८० पुस २९ आइतवार १६:३७ मा प्रकाशित






























