लन्डन । बेलायतमा मुख्यालय भएको सूचना प्रविधि सम्बन्धी सेवाप्रदायक परामर्शदाता कम्पनी, जेनेस सलुशनले नाइजेरियामा जेनेस सलुशन नाइजेरिया नाममा कम्पनी दर्ता गरि अफ्रिकामा आफ्नो ब्यबसाय बिस्तार गरेको छ ।
अफ्रिका महादेशमा सूचना प्रविधि सम्बन्धी कम्पनी स्थापना गर्ने नेपाली उद्यमीले नेतृत्व गरेको जेनेस सलुशन सम्भवतः पहिलो कम्पनी हो ।
‘नाइजेरिया अफ्रिकाको सबैभन्दा ठूलो सूचना प्रविधि बजार मात्रै हैन, प्रविधि हबको रुपमा उदाउँदै गरेको मुलुक पनि हो । संसारकै क्लाउड सेवा प्रदायकहरु उदाउँदा बजारहरुमा आफ्नो सेवा विस्तार गरिरहेको बेला हामीले नाइजेरियाबाट सेवा प्रारम्भ गरि अफ्रिकामा आफ्नो प्रभावकारी उपस्थिति जनाउने निर्णय गरेका हौँ’, जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले भने ।
‘नाइजेरिया सरकारले ल्याएको राष्ट्रिय डिजिटल अर्थतन्त्र नीतिले व्यापार व्यवसाय तथा लगानी भित्राउन सहज गरि दिएकोले हामीले नाइजेरियाबाट व्यवसाय वृद्धिको राम्रो सम्भावना देखेका छौं ।’ उनले अफ्रिकामा कम्पनी स्थापना र ब्यबसाय बिस्तार गर्न सहयोग गर्ने गैरआवासीय नेपालीहरुलाई धन्यवाद दिए ।
जेनेस सलुशन नाइजेरियाले नाइजेरियाका सरकारी तथा निजी कम्पनीहरुलाई डिजिटल रुपान्तरणका साथै क्लाउड सलुशन्स, साइबर सुरक्षा, डेटा परामर्श लगायतका सेवाहरु उपलब्ध गराउने छ ।
“एकजना नेपाली उधमीले नेतृत्व गरेको कम्पनी अफ्रिकामा सेवा विस्तार गर्ने गरि नाइजेरियामा स्थापना हुनु गौरवको कुरा हो । यसले नेपालीहरुको सीप र दक्षताका बारे बाँकी विश्वले थाहा पाउनुका साथै नेपाल सूचना प्रविधिको हबको रुपमा उदाउँदै गरेको छ भन्ने संदेश पनि दिएको छ, ‘नाइजेरिया स्थित औधोगिक प्रतिष्ठान डाङोटे ग्रुपका वरिष्ठ व्यवस्थापक तथा गैरआवासीय नेपाली संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाले भने । उनले जेनेस सलुशनलाई अफ्रिकाभरि आफ्नो सेवा विस्तार गर्न सफलता मिलोस् भन्ने शुभकामना पनि दिए ।
जेनेस सलुशनको नेपाल, बंगलादेश, अमेरिका लगायत ८ ओटा मुलुकहरुमा शाखा कार्यालय छन ।
वि.सं.२०८० माघ २७ शनिवार १९:२७ मा प्रकाशित





























