काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुईजना युवाको ज्यान जानेगरी गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटनामा जाँचबुझ आयोगको प्रतिवेदन हेरेर कारबाही हुने बताएका छन् ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।
उनले उच्चस्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन आफूले हेर्न नपाएको बताउँदै आजै हेरेर थप कारबाही गरिने बताए ।
आजैको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भौतिक मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका थिए ।
जाँचबुझ आयोगले मन्त्री ज्वालाकै कारणले उक्त घटना भएको निष्कर्षसहितको प्रतिवेदन गृह मन्त्रालयमा शुक्रबार बुझाइसकेको छ ।
‘जाँचबुझ आयोग प्रतिपक्षीले त बनाएको होइन । मेरै प्रस्तावमा बनाएको हो । जसले प्रतिवेदन ल्याएको छ । प्रतिवेदन गृहमन्त्रालयमा आइसकेको छ, मेरो हात लागिसकेको छैन । मैले त्यसपछि अध्ययन गर्छु,’ प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘प्रधानमन्त्रीको हैसियतले मैले त्यो प्रतिवेदन हेरेको छैन,आजै हात लाग्दैछ । क्याबिनेट पनि छ । आयोगको प्रतिवेदन हेरेपछि आजै दोषीलाई थप कारबाही गरिन्छ ।’
दुई जना युवकको ज्यान जाने गरी भएको बालकुमारी घटनालाई सरकारले गम्भीर रुपमा लिएको पनि प्रधानमन्त्रीले दाबी गरेका छन् ।
फाइल फाेटाे
वि.सं.२०८० फागुन ६ आइतवार १२:४१ मा प्रकाशित






























