काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्माले पार्टीको कार्य विभाजनप्रति आपत्ति जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन् ।
शर्माले पार्टीको कार्य विभाजन ऐजेन्डाबारे गृहकार्यको नाममा पटक–पटक बैठक सरेको र फागुन १५ गते प्रस्तावित भइ असहमतिका बीच पारित गरिएका निर्णयहरुप्रति गम्भिर असहमतिका साथ आफ्नो मत राखेका छन् ।
उपमहासचिव शर्माले कार्य विभाजनका क्रममा पार्टीमा त्याग गरेका धेरै नेताहरुलाई पाखा लगाएर वागमती प्रदेशको सहइन्चार्जमा नारायण दाहाल र सुदूरपश्चिम प्रदेशको सहइन्र्चाजमा बिना मगरलाई सहइन्चार्ज बनाउने अध्यक्षको निर्णयप्रति आपत्ति जनाएका छन् ।
अझ गम्भीर कुरा त सेती महाकालीमा केही समयदेखि इन्चार्ज बनाउन अध्यक्ष समेतको संलग्नतामा गरिएको गतिबिधिहरुका आधारमा दर्जनभन्दा बढी कमरेडहरुलाई बेवास्ता गर्दै, स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इन्चार्ज दुवैबाट पदच्युत गरी विकल्प नदिई अपमानित गरिएको,’ शर्माद्वारा लेखिएको नोट अफ डिसेन्टमा भनिएको छ,‘सो प्रदेशको हाललाई बिना मगरलाई सह–इन्चार्ज बनाउनुले सेती महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कमरेडहरुलाई यो पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैमा गम्भिर छ ।
खगराज भट्टलाई यो वा त्यो जिम्मेवारीबाट सन्तुलन नगरी राजनीतिक रुपबाट विस्थापित र अपमानित गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दछु ।’

वि.सं.२०८० फागुन १६ बुधवार १५:३६ मा प्रकाशित






























