काठमाडौं । अमेरिकाको मेरिल्याण्डस्थित पशुपति बुद्ध मन्दिरमा महाशिवरात्रीकै दिन विशाल शिवको मूर्ति स्थापना गरिएको छ ।
मेरिल्याण्ड स्थित पशुपति बुद्ध मन्दिर जर्मनटाउन शहरमा शिवको विशाल प्रतिमाको स्थापना गर्दै प्राण प्रतिष्ठा भव्यताको साथ सम्पन्न गरिएको हो ।
गत मार्च ८ शुक्रबार महाशिवरात्रीको पावन अवसरमा १० फिट उचाई भएको शिवको मूर्ति, बसाहा र त्रिशुल सहितलाई स्थापना गर्दै श्रद्धालु भक्तजनहरुले श्रद्धाभक्तिको साथ पूजा अर्चना र किर्तनभजन गरेका थिए ।
नेपाली समुदायद्वारा अमेरिकाको विभिन्न राज्य र शहरहरुमा स्थापना गरिएका मन्दिरहरुमा स्थापना गरिएका देवी देवताका प्रतिमाहरु मध्येकै अमेरिकामा सम्भवत १० फिट उचाई भएको शिवको प्रतिमा मेरिल्याण्डको जर्मनटाउन शहरमा एनईसिसीले पशुपति बुद्ध मन्दिरमा स्थापना गरेको प्रतिमा सबै भन्दा ठूलो प्रतिमा भएको बताइएको छ ।
अमेरिकाका बिभिन्न राज्यहरुमा शिव लिङ्गहरु स्थापना गरिएका छन् तर शिवकै मूर्ति नेपाली मन्दिरहरुमा निकै कम देख्न पाइन्छ । पशुपति बुद्ध मन्दिरमा सन् २०१७ मा ठूलो बुद्धको मूर्ति यही मन्दिरको अर्को स्थान वेल्सभिलमा स्थापना गरिएको थियो भने हाल उक्त मुर्ति पनि जर्मनटाउन मै सारिएको छ ।
मार्च ८ महाशिवरात्रीकै दिन अनावरण गरिनुको साथै वसाहा र त्रिशुल समेतको अर्को शिव लिङ्ग पनि स्थापना गरिएको हो ।
यो बिशाल मूर्ति दीपक श्रेष्ठ, सुनील श्रेष्ठ, नानी मैया श्रेष्ठ तथा उहाहरुकै सबै सम्पूर्ण परिवारहरुले पशुपति बुद्ध मन्दिरलाई प्रदान गरेका हुन् ।
श्री पशुपति बुद्ध मन्दिरमा १२ बजेपछि रुद्री अभिषेक र प्राण प्रतिष्ठा सम्पन्न गरिएको थियो । साथै महाशिवरात्रीको कार्यक्रम अन्तर्गत ५ देखि ६ः३० सम्म सङ्कल्प पूजा र ६ बजे शिव धुनी गरिएको थियो ।
त्यस्तै ६ः३० देखि ७ः३० सम्म शिव भजन तथा कृतनको आयोजना गरियो । मन्दिरका पण्डित गोबिन्द अधिकारीले सबै पूजा अर्चना, प्राण प्रतिष्ठा ,रुद्री अभिषेक र संकल्प पूजा गराएका थिए ।
दिउसो देखि मन्दिरमा घुईचो लागेको थियो भने १२ बजे देखि रातीसम्म करिव ३०० वटा सवारी साधनहरु सहित करिव १,००० मानिसहरुले शिवको प्रतिमा हेर्नुको साथै शिवधुनीमा सहभागिता जनाएका थिए ।
नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र ( एनइसिसी)का अध्यक्ष डा प्रज्ज्वल रेग्मीले शिव मूर्तिका दाता लगायत सम्पूर्ण समुदायलाई मन्दिरको उन्नति र प्रगतिमा साथ सहयोग गर्नु हुने नेपाली समुदायलाई बिशेष रुपमा हार्दिक धन्यबाद सहित आभार व्यक्त गरेका छन् ।
त्यसैगरी एनइसिसीका वर्तमान गुठि उपाध्यक्ष तथा पूर्वअध्यक्ष सरोज प्रजापतिले हर्ष व्यक्त गर्दै सबैलाई धन्यवाद दिएकी छिन् । साथै गुठिका अध्यक्ष खिलेन्द्र न्यौपानेले शिव तथा बुद्धका ठूला प्रतिमाहरु स्थापना भै सके पछि मन्दिरको नाम अनुसार काम भएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण मूर्तिदाताहरु र अन्य सबै दाता तथा समुदाय प्रति हार्दिक धन्यवाद सहित आभार व्यक्त गरेका छन् ।
वि.सं.२०८० फागुन २८ सोमवार १३:१० मा प्रकाशित






























