२४ वैशाख ,.काठमाडाँै। काठमाडौँ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार पवित्र बज्राचार्यले काठमाडौँलाई बस्न लायक विश्वकै नमुना सहर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
शनिबार यहाँ भएको सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालको संयुक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा दुवै पार्टीका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखमा साझा उम्मेदवार बन्नुभएका बज्राचार्यले महानगर प्रमुख बनेपछि फोहर, ढल, खानेपानी, सडक, सडक बत्ती, पार्किङको व्यवस्थापनका साथमा महानगरमा शिक्षाको गुणस्तर वृद्धि गर्ने बताउनुभयो ।
प्रत्येक वडामा स्वास्थ्य चौकीको स्थापना गर्ने उहाँको योजनामा छ । आफू २३ वडाको वडाध्यक्ष रहँदा साथै सभासद् तथा काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख रहँदा आफूले निकै उपलब्धिमूलक कामको थालनी गरेको स्मरण दिलाउँदै उहाँले ती कामलाई फेरि बदलिँदो परिवेशअनुसार निरन्तरता दिने बताउनुभयो ।
दुवै पार्टीका तर्फबाट उपप्रमुखका साझा उम्मेदवार नयाँ शक्ति पार्टीका सविना अर्यालले विकासका लागि काठमाडौँ आफैँ सक्षम भएको र यहाँ व्यवस्थापनको मात्रै खाँचो रहेको बताउनुभयो । अर्यालले काठमाडौँको स्रोत र साधनलाई नै सदुपयोग गर्दै उचित व्यवस्थापन गर्ने र काठमाडौँलाई सबैले सपनामा देखेको जस्तो सहरको रुप दिने बताउनुभयो ।
कार्यक्रममा सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले अहिले राजनीतिक क्षेत्रमा अस्वस्थ अभ्यास सुरु भएको बताउँदै देश र नगरको विकासका लागि निःस्वार्थ भावना लिएर अघि बढ्नुपर्ने सबैसँग आग्रह गर्नुभयो ।
नयाँ शक्ति पार्टी नेपालका नेता पर्शुराम तामाङले दलीय प्रतिस्पर्धाका कारण विकास गतिविधि ओझेलमा परेकाले आफ्नो पार्टीले विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
कार्यक्रममा प्रमुखका उम्मेदवार बज्राचार्य, उपप्रमुखका उम्मेदवार अर्याल, फोरमका सहअध्यक्ष श्रेष्ठ, नयाँ शक्तिका नेता तामाङ, नेता हिसिला यमीले दुवै पार्टीको संयुक्त घोषणापत्रलाई सार्वजनिक गर्नुभएको थियो । यसपालिको स्थानीय तहको चुनावमा एउटा हातमा मसाल बोकेको चुनाव चिह्नसहित फोरम र नयाँ शक्तिको संयुक्त मोर्चा चुनावी मैदानमा छ ।
वि.सं.२०७४ वैशाख २४ आइतवार ०९:१४ मा प्रकाशित






























