back
CTIZAN AD

काँग्रेस-एमाले आन्तरिक उथलपुथलको त्रासमा

वि.सं.२०८१ असार २६ बुधवार

5.3K 

shares

नारायण विश्वकर्मा (काठमाडौँ)। सत्ता सहकार्य गरेर अगाडि बढ्ने सहमति भएसँगै नेपाली काँग्रेस र नेकपा एमाले भित्र मन्त्री बाँडफाँडको विषयले प्रवेश पाएको छ । असार १७ गते मध्यरातमा आलोपालो सरकारको नेतृत्व गर्ने काँग्रेस-एमालेबिच सहमति बनेको थियो ।

असार १९ गते एमालेले समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरियो । एमालेले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिँदै छन् । अल्पमतमा परेका प्रचण्डसँग प्रधानमन्त्रीको कुर्सीमा टाँसिरहनु नैतिकताहीन भएको भन्दै एमालेले राजीनामा माग्दै आएको छ । एमालेको मागमा टसमस नभएका प्रचण्डले विश्वासको मत लिएपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने समय धेरै दिन बाँकी छैन । तर, काँग्रेस-एमाले भित्र मन्त्री बाँडफाँडको बहस चर्किन थालेको छ । काँग्रेसले ११ र एमाले १० वटा मन्त्रालय लिने सैद्धान्तिक सहमति भएको छ । ओलीले नेतृत्व गर्दा लिएका मन्त्रालय देउवाले नेतृत्व गर्दा दिने गरी मन्त्रालयको भागबन्डाको तयारी छ । तर, आ-आफ्ना पार्टीभित्र मन्त्रीको नाम टुङ्ग्याउन भने काँग्रेस-एमालेलाई फलामको चिउरा
चपाउनु जस्तै बनेको छ ।

देउवा पत्नीको मन्त्री बन्ने लाइन
ओली नेतृत्वमा बनेको सरकारमा जाने मन्त्रीहरूको नाम पठाउन नेपाली काँग्रेसलाई हम्मे- हम्मे पर्ने देखिएको छ । काँग्रेसमा देउवा, शेखर कोइराला, गगन थापा र शशाङ्क कोइरालाको छुट्टाछुट्टै गुट छ । उनीहरू कसरी आफ्नो गुटबाट बढी मन्त्री बनाउन सकिन्छ भन्ने कसरतमा लागेको देखिन्छ ।

हाललाई ११ मन्त्रालय पाउने एमालेसँगको सहमति भए पनि काँग्रेसमा दुई दर्जन बढी नेताहरूको नाम मन्त्री बन्ने आकाङ्क्षीको रूपमा चर्चामा छ । काँग्रेसमा चार-पाँच वटा गुट सक्रिय भएकै कारण ११ जना मन्त्रीको नाम कसरी टुङ्गो लगाउने भन्ने विषय भारी पर्ने देखिन्छ ।

सभापति र एमालेसँग सम्झौता गर्ने प्रमुख घटक भएकाले आफ्ना बढी मन्त्री हुनुपर्ने देउवा समूहको दाबी छ । यदि, देउवा समूहले मागे अनुसार मन्त्री पाएको खण्डमा अन्य समूह फायर हुने छन् । देउवाको समूहबाट उपप्रधानमन्त्रीसहित प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलाको नाम बाहिर आएको छ । यी बाहेक रमेश लेखक, आरजु राणा, विनोद चौधरी, उदयशम्शेर राणा, किशोरसिंह राठोर, अजय चौरसिया, श्याम घिमिरेलगायत मन्त्रीको दौडमा छन् ।

शेखर कोइराला समूहबाट चन्द्र भण्डारी, बद्री पाण्डे, जीवन परियार, रामनाथ अधिकारी, तेजुलाल चौधरी, सञ्जय गौतमको नाम अगाडि आएको छ । गगन थापाले सांसद प्रदीप पौडेल, प्रतिमा गौतम लगायतलाई मन्त्री बनाउन सक्ने देखिन्छ । शशाङ्क कोइरालाको दीपक गिरी र दीपक खड्कामध्ये एक जनालाई मन्त्री बनाउने चाहाना छ ।

बन्लान् विष्णु पौडेल अर्थमन्त्री ?
अध्यक्ष केपी ओलीको नेतृत्वमा अब बन्ने भनिएको सरकारमा एमालेले १० वटा मन्त्रालय पाउने भएको छ । पार्टीभित्र किचलो नहोस् भनेर एकै पटक सबै मन्त्री नियुक्त गनेँ एमालेको तयारी छ । काम गर्न सक्ने व्यक्तिलाई मात्र सरकारमा पठाउने योजना सो पार्टीको रहेको छ ।

एमालेमा केपी ओली र विष्णु पौडेलबिच मन्त्रीको नाम टुङ्गाउने विषयमा लफडा हुने देखिन्छ । एमालेले अर्थ मन्त्रालय लिन चाहेको छ । अर्थमन्त्रीमा विष्णु पौडेलेको चर्चा चले पनि ओली उनलाई अर्थमन्त्री बनाउने मनसायमा छैनन् । पछिल्लो समय अध्यक्ष ओलीविरुद्ध गुट बनाएको आरोप लागेकै कारण पौडेल अर्थमन्त्री बन्न सक्ने अवस्था देखिँदैन ।

“काँग्रेस-एमाले भित्र मन्त्री बाँडफाँडको बहस चर्किन थालेको छ । काँग्रेसले ११ र एमाले १० वटा मन्त्रालय लिने सैद्धान्तिक सहमति भएको छ । ओलीले नेतृत्व गर्दा लिएका मन्त्रालय देउवाले नेतृत्व गर्दा दिने गरी मन्त्रालयको भागबन्डाको तयारी छ । तर, आ-आफ्ना पार्टीभित्र मन्त्रीको नाम टुङ्ग्याउन भने काँग्रेस–एमालेलाई फलामको चिउरा
चपाउनु जस्तै बनेको छ ।”

एमालेबाट सरकारमा ओलीले चाहेका मन्त्री सहभागी बन्ने देखिन्छ । यो पार्टीमा ओलीको लोली विरुद्ध नबोल्ने संस्कृति भएकाले उनैले चाहेका व्यक्तिहरू मन्त्री बन्न सक्ने सम्भावना छ । काँग्रेसको तुलनामा एमालेमा मन्त्रीहरूको आकाङ्क्षी कमी छन् ।

एमालेबाट पदम गिरी दोहोरिने सम्भावना छ । यस्तै ऋषिकेश पोखरेल, महेश बर्तौला, योगेश भट्टराईको नाम चर्चामा छ । युवा नेता ठाकुर गैरे, सूर्य थापा, दीपा शर्मा, गोकर्ण विष्ट, महेश बस्नेत लगायत पनि मन्त्री बन्ने दौडमा छन् । तर, मन्त्री बन्ने नामको अन्तिम निर्णय ओलीले नै पक्का गर्नेछन् ।

अहिलेसम्म काँग्रेस-एमाले बाहेकका दललाई सरकारमा सहभागी गराउने विषयले प्रवेश भएको छैन । राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टीले अब बन्ने सरकारमा सहभागी हुन इच्छा देखाएका छन् । अन्य दल सरकारमा सहभागी भएको खण्डमा काँग्रेस-एमालेले पाउने भनिएको मन्त्रालयको सङ्ख्यामा तलमाथि हुने छ ।

एमालेलाई प्रचण्डको डर
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पदबाट राजीनामा दिन लगातार दबाब दिइरहेको छ । दबाब दिनुको एउटै कारण हो संविधानको धारा ७६ (३) अनुसार ठुलो दलको हैसियतले काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्छन् कि भन्ने । प्रचण्डको ओली प्रधानमन्त्री बनुन् भन्ने चाहाना छैन ।

प्रचण्डले विश्वासको मत लिन खोज्नुका पछाडि धेरै विषय बाहिर आएका छन् । विश्वासको मत लिने समयसम्म नयाँ समीकरण अनुसार बनेको दलहरूकाबिच फाटो ल्याइदिएर खेल्न सकिन्छ कि भन्ने प्रचण्डको अभिप्राय रहेको कतिपयको बुझाइ छ ।

काँग्रेस-एमालेबिच संविधान संशोधन गर्ने गरी नयाँ समीकरण बन्न लागेको थाहा पाएका प्रचण्ड एकपटक झस्किएका छन् । शेरबहादुरलाई प्रधानमन्त्री बनाउन सके संविधान माथिको हमला रोक्न सकिन्थ्यो कि भन्ने प्रचण्डको विश्वास छ ।

दुई पटक संसद् विगठन गरेका ओलीलाई संविधानको कत्ति माया छैन भन्ने प्रचण्डलाई लागेको छ । त्यसकारण प्रचण्डले संविधानको धारा ७६को उपधारा (३) उपयोग गरेर शेरबहादुर देउवाबाट प्राप्त उपलब्धिको रक्षा गर्न चाहन्छन् भन्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

प्रचण्डले चाहे जस्तो राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (३) अनुसार संसद्को पहिलो ठुलो दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको अवस्थामा ओली प्रधानमन्त्री हुनबाट वञ्चित हुनेछन् भने काँग्रेस-एमालेको समीकरण भत्किन सक्ने सम्भावना हुनेछ । यस्तो अवस्थामा एमाले काँग्रेसले त्यतिबेला सम्म बनाएका तयारी तथा सहमति तोडिने छ भन्ने कु्रा पनि राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

 

वि.सं.२०८१ असार २६ बुधवार १८:४९ मा प्रकाशित

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...