back
CTIZAN AD

समाचार क्षेत्रमा राससले फड्को मार्योः सञ्चारमन्त्री

वि.सं.२०८१ भदौ १७ सोमवार

726 

shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस)ले नेपाली भाषामा २४ घण्टा समाचार सेवा शुभारम्भ गरेर महत्वपूर्ण फड्को मारेको बताएका छन् । रासस केन्द्रीय कार्यालयमा आज ‘नेपाली भाषामा २४ घण्टा समाचार सेवा’ शुभारम्भ गर्दै उनले भने, “काम सानो भए पनि यसले ठूलो अभियानको सुरुआत गरेको छ । चौबिसै घण्टा गतिशील हुनुले ठूलो अर्थ राख्छ, हामीले फड्को हानेका छौँ ।”

राससले दूरदराजका नागरिकका आवाज समेट्नुपर्नेमा जोड दिँदै मन्त्री गुरुङले सामाजिक न्यायका विषयलाई उच्च प्राथमिकता दिन आग्रह गरे । संरचनागत पुनःसंरचनामा लाग्न निर्देशन दिँदै उनले कर्मचारीको क्षमता अभिवृद्धिमा ध्यान दिन आग्रह गरे । मन्त्रालयले ऐन, कानुन निर्माण र संशोधनलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै उनले केही ऐन सरकारका एक सय दिनभित्र सम्पादन गर्नेगरी काम भइरहेको स्पष्ट पारे ।

“सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन गर्नेसम्बन्धी विधेयक र सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयक भदौ मसान्त तथा दूरसञ्चारसम्बन्धी विधेयक, राष्ट्रिय आमसञ्चार विधेयक, चलचित्रसम्बन्धी विधेयक, डाटा सेन्टर सञ्चालन मापदण्ड र सरकारी इमेल सञ्चालनसम्बन्धी कार्यविधि असोज मसान्तसम्म तयार गरेर मन्त्रिपरिषद्मा पेस गर्नेगरी काम थालनी गरिएको छ”, मन्त्री गुरुङले भने ।

सुरक्षित मुद्रणसम्बन्धी नियमावली स्वीकृतिका लागि यही भदौ मसान्तभित्र मन्त्रिपरिषद्बाट पारित गर्ने तयारी गरिएको जानकारी दिँदै मन्त्री गुरुङले हुम्लामा द्रूत गतिको इन्टरनेट सेवा पु¥याइने बताए । पुराना नीति नियममा टेकेर नयाँ काम गर्न नसकिने स्पष्ट पार्दै उनले ऐनकानुनलाई समयानुकूल बनाइनुपर्ने आवश्यकता औँल्याए । “पुराना हतियार बोकेर समयसापेक्ष सेवा देऊ भन्न मिल्दैन”, उनले भने ।

आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरेर पत्रकारको क्षमता अभिवृद्धिका साथै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री गुरुङले नीति बनाएरै यसलाई सम्बोधन गरिने बताए । सार्वजनिक प्रसारण सेवा विधेयक समितिबाट पारित भएको जनाउँदै उनले मिडिया काउन्सिल विधेयकले पनि छिट्टै पूर्णता पाउने विश्वास व्यक्त गरे ।

फरक प्रसङ्गमा मन्त्री गुरुङले पोखराको एक पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा आफूले नेपाल प्रहरीको प्रमुखका सम्बन्धमा विगतका सन्दर्भमा मात्रै उल्लेख गरेको स्पष्ट पारे । सङ्घीयताको कार्यान्वयनमा राज्यका सबै निकायले सहयोग गर्नुपर्ने धारणा राखेकोसमेत उनले बताए ।

सञ्चार सचिव राधिका अर्यालले सेवाको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गरी दूरदराजका नागरिकसम्म पहुँच पु¥याउन निर्देशन दिँदै आधिकारिता र विश्वसनीयता कायम गर्दै सेवा क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिए । उनले सीमित स्रोतसाधन र जनशक्तिबीच पनि सेवा विविधीकरण र २४ घण्टा समाचार प्रवाह गर्नु प्रंशसनीय रहेको बताए । “सत्यतथ्य सूचना जस्ताका तस्तै नागरिकसमक्ष पु¥याउनुहोस्”, सचिव अर्यालले भने, “नागरिकप्रति जिम्मेवार भएर पत्रकारिता गर्नुहोस् ।”

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पछिल्ला समय आफूलाई समयानुकूल बनाउँदै लगेको राससले सञ्चारमाध्यमलाई सहजै समाचार उपलब्ध गराउन आफ्नो भूमिकालाई थप प्रखर बनाउनुपर्नेमा जोड दिए । सञ्चारमाध्यमको दिगोपना र विज्ञापन बजार विस्तारमा सरकारको ध्यानाकर्षण गराउँदै उनले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना र श्रमजीवी पत्रकारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सुझाव दिए ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले सामाजिक मामिलाका साथै सुशासनका पक्षमा राससले प्रखर रुपमा कलम चलाउनुपर्ने धारणा राखे । “सरकारी सञ्चारमाध्यम भएकाले केही सीमा होलान्, तर यसले विभेद, हिंसा, न्यायमा पहुँच, शक्तिको दुरुपयोग, अनियमिता र बेथितिका मामलामा खबरदारी गर्न सक्छ”, उनले भने, “राज्यको तल्लो इकाइसम्म पुगेर सामाजिक विषयमा समाचार खोजीलाई प्राथमिकता दिनुपर्छ ।”

वरिष्ठ पत्रकार प्रतीक प्रधानले सरकारी स्वामित्वमा रहेको राससले आफ्ना भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । सञ्चारमाध्यममा अब ‘डेडलाइन’ नहुने मान्यतामा आफू पनि सहमत रहेको जनाउँदै उहाँले समाचार तत्क्षणमा दिनेतर्फ राससले ध्यान दिनुपर्ने बताए ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सीमित स्रोतसाधन र जनशक्तिका बीचबाट राससले आफ्नो समाचार सेवा विविधीकरण गर्दै अन्तर्राष्ट्रियस्तरका समाचार समितिसँग प्रतिस्पर्धा गरिरहेको बताए । समाचार समिति ‘कहिल्यै पनि सुत्दैन’ भन्ने मान्यताका आधारमा पहिलो चरणमा नेपाली भाषामा २४ घण्टा समाचार सेवा प्रारम्भ गरिएको स्पष्ट पार्दै उनले राससले आफ्नो रुपान्तरणको अभियानलाई तीव्र पारेको बताए ।

“रुपान्तरणका प्रयास पर्याप्त छैनन्, नेपाली जनताको सूचनाको आवश्यकता सम्बोधन गर्न रासस क्रियशील छ, यही आवश्यकता सम्बोधन गर्ने प्रयास नै अहोरात्र समाचार प्रवाह हो”, अध्यक्ष झाले भने ।

राससका महाप्रबन्धक सिद्धराज राईले २४ घण्टा समाचार सेवा सञ्चालन गरेर राससले आफूलाई अन्तर्राष्ट्रिय समाचार समितिको हाराहारीमा उभ्याएको बताए । पछिल्ला समय सेवाको विविधीकरण गर्दै लगिएको जानकारी दिँदै उनले अब छिट्टै नेपाल र मैथिली भाषामा पनि समाचार सेवा दिने तयारी गरिरहेको बताए ।

राससले आजदेखि औपचारिक रूपमा चौबिसै घण्टा समाचार सेवा प्रदान गर्न लागेको हो । राससले यही भदौ ११ गतेदेखि परीक्षणका रूपमा २४ घण्टा समाचार सेवा प्रदान गर्दै आएको छ । आधिकारिक समाचार र सूचनाको मुहानका रूपमा रहेको राससले अन्तर्राष्ट्रिय समाचार समितिहरूले प्रदान गर्दै आएको सेवा र अभ्यास तथा स्वदेश तथा विदेशका आफ्ना सेवाग्राहीको मागलाई समेत दृष्टिगत गरी चौबिसै घण्टा सेवा प्रदान गर्न लागेको हो ।

स्थापनाकालमा दिनका एकपटक साँझ मात्र बुलेटिन प्रकाशन गर्ने राससले सेवाग्राहीको मागलाई मध्यनजर गरी केही समय बिहान, दिउँसो र राति गरी दिनको तीनपटक बुलेटिन प्रकाशन गर्ने गर्दथ्यो । त्यसपछि लामो समयसम्म बिहान, मध्याह्न, अपरान्ह, साँझ र राति गरी दिनको पाँचपटक बुलेटिन प्रकाशन गर्दै आएकामा समयको माग र प्रविधिको विकाससँगै २०६३ सालदेखि एक–एक घण्टाका दरले दिनमा १७ पटक समाचार प्रदान गर्दथ्यो ।

सुरुआतमा नेपाली भाषामा समाचार सेवा सञ्चालन गरेको राससले समयसापेक्ष रुपमा सेवाग्राही र आमजनताको मागबमोजिम २०२० फागुनदेखि अङ्ग्रेजी र अन्तर्राष्ट्रिय, २०५५ वैशाखदेखि आलेख, २०६४ सालदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोटो, २०६६ फागुन ७ देखि अडियो, २०७९ साउनदेखि आलेख÷विचार र अन्तर्वार्ता हुँदै हाल श्रव्यदृश्य समाचार सेवा प्रवाह गर्दै आएको छ ।

वि.सं.२०८१ भदौ १७ सोमवार १६:१२ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...