back
CTIZAN AD

दलदलमा दलहरु र अबको विकल्प

वि.सं.२०८१ कात्तिक ९ शुक्रवार

4.4K 

shares

एकजना सज्जन जस्ता देखिने मान्छे प्राय प्रत्येक दिन चौबाटोमा बसेर आवत- जावत गर्ने मानिसहरुलाई नियालेर हेर्ने गर्दा रहेछन। हेर्दा सामान्य देखिने ती ब्यक्तिलाई सधैं चौबाटोमा दिनभर देखेर नजिकैको पसलेलाई कौतुहलता लागेर सोधे- किन तपाईं प्रत्येक दिनभरी यो चौबाटोमा बसेर मान्छेहरु हेर्नुहुन्छ ? तपाईको कोही आफन्त हराएको छ ? थकित र निरास जस्ता देखिने ती ब्यक्तिले भनेछन- ” मेरो एक जना साथीको अनुहारको प्लास्टिक सर्जरी गर्न ॠण खोजेर दुई लाख रुपैयाँ सापटी दिएको थिएँ । ती साथी प्लास्टिक सर्जरी पछि यतै आएर बसेको छु। उसले त मलाई चिन्दो हो तर प्लास्टिक सर्जरीपछि मैले उनलाई चिन्नै सकेको छैन। हो म उसैको खोजिमा छु। कसैसँग उसको हुलिया सोधौ भने पनि उसको अनुहारको हुलिया परिवर्तन भैसकेको छ। म त बिलखबन्धमा परेँ।”

अहिले नेपालका संसदीय राजनीतिक दलहरुले आफ्नो हुलिया परिवर्तन गरेका छन् । राजनीतिक दर्शन, आदर्श र सिध्दान्तहरुबाट चिन्न सकिदैन । पहिलेको अनुहार अहिले देखिदैन। कुशासन, भ्रष्ट्राचार, दलाली, बदनामी र बेईमानीको कस्मेटिक सर्जरीले आफ्नो अनुहार कुरुप पारेका छन् । भोट हाल्ने जनताहरु हुलिया फेरिएको राजनीतिक दलहरुको खोजिमा छन्। भुईमान्छेहरु ॠण खोजेर सापटी दिएको मान्छे जस्तो भौतारीरहेका छन्। हुनत एउटा सुन्दर फूललाई थाहा हुँदैन भोली बिहान त्यो फूल पशुपति मन्दिरमा पूजाको लागि लैजान्छन वा आर्यघाट्मा लासलाई चढाउन। यदी त्यो फूल पशुपतिमा चडाईयो भने आश्तिकहरुले पवित्र मानि प्रसादको रुपमा ग्रहण गर्दछन् । त्यही फूल लाशमा चडाइयो भने असुद्द भै बागमतीको फोहोरमा फालिन्छ । केही पाईलाको दुरिले मात्र त्यो फूल ‘प्रसाद’ वा ‘अशुध्द फोहर’ हुने निर्धारण हुन्छ । फूल ब्यपारीले त्यो फुल कहाँ बिक्री गर्दछ धेरैहदसम्म त्यसले फुलको भविश्य निर्धारण हुन्छ। हो हाम्रा राजनीतिक दलका नेताहरुले फुलको ब्यापार गर्न पशुपति मन्दिरभन्दा आर्यघाट छनौट गरेका छन्। नेपाली राजनीतिमा पनि नेपाली जनताको मत सत्ता लिप्साका राजनीतिक पुरेतहरुले लासमा चढाईएको फूल जस्तो बनाएका छन्। नेपाली जनताले दिएको फूलरुपि मतलाई मन्दिरको सट्टा आर्यघाट्मा सौदाबाजी गरीरहेका छन्।

असुमलबाटआशाराम भएका हुन ति ढोगी र भोगी हुन्। तिनिहरु प्रति प्र्श्न गरौ, तिनिहरुको अखडामा निगरानी गरौर आफूले आँफैलाई प्रश्न गरौ। विकल्पको खोजी गरौ। आवस्यकताले जनबिद्रोह माग गर्दछ भने त्यसको तयारी गरौ। रैतिबाट जनतामा रुपान्तरण होऔ।

नेपालको संसदीय राजनीतिका प्र्मुख दुई वर्गमध्ये एउटाले “प्रजातन्त्र” को ट्यागमा र अर्कोले “कम्यूनिष्ट” को ट्यागमा आ-आफ्नो खेती गरिरहेका छन्। अरु स-साना संसदीय दलहरु र आफूलाई वैकल्पिक शक्ति भन्न रुचाउनेहरु सिरकमा पछ्यौरा लपेटिए जस्तो गरी रुमलिएका छन्।

लुईस ब्लाकको शब्द सापटी लिदा एउटा खराव बिचारको छ भने अर्को बिचारबिहिन छ। यी दुबै एक सिक्काका दुई पाटा हुन। किनकी खराव बिचार र बिचारबिहिनबाट रणनितिक र कल्याणकारी राज्यको स्थापना हुँदैन। अहिले नेपालको राज्यसत्ताको र पार्टीहरुको लफडा विचारबिहिन लफडा मात्रै हो।

जब राजनीति दर्शन र बिचारबाट टाढिन्छ तव जे हुन्छ त्यसको ज्वलन्त उदाहरण हो नेपालको वर्तमान राजनीति । संसदीय राजनीति साच्चिकै ओस्कार एमरिंगरले भने जस्तै “एउटा यस्तो भद्र कला हो जहाँ गरिवलाई धनी र सामन्तको शोषणबाट मूक्तिको आश्वासन दिएर भोट लिन्छन र धनी एव सामन्तहरुलाई गरिव र मजदुरहरुबाट रक्षा गर्दिन्छ’ भनी चन्दा लिन्छन्।“ अन्तत: भोट र पैसाले सत्ता र शक्तिको खरिद –बिक्री हुने गर्दछ।

हामी कुनै अमुक दल, त्यसका मुखिया, जिम्मवाल, ढोके, बैठके आदिले देश बिगारे भनेर उछिटो काढने गाली गर्ने, सराप दिने गर्दछौ तर यीनिहरुलाई “असुमल” बाट “आशाराम बापु” बनाउने हामी नेपाली आफु काईदाका हौ भनेर भन्ने गर्दछौ। अहिले नेपाली राजनीतिको केन्द्रमा हालि-मुहाली गर्ने आशा रामहरु हामीले नै स्थापना विकास गरेका हौ । हामीले आफ्नो आलोचनात्मक चेतलाई चट्क्कै छोडेर आफुलाई सचेत नागरिक होइन अमुक पार्टीको कार्यकर्ता बनाएका छौ। हामीले आफू कार्यकर्ता भएको दलको निती र नेतृत्वप्रति कहिल्यै प्रश्न गर्दैनौ।
कसैले आलोचना गर्दा उल्टै अरिङ्गगाल बनेर आक्रमण गर्दा आफूलाई बहादुर ठान्दछौ। एउटा सचेत नागरिक हुनुभन्दा कुनै पार्टीको झोले कार्यकर्ता हुँदा गौरव महसुस गर्ने, आँफैले आफूलाई भगवान घोषणा गर्ने आशारामको भजन कृत नगर्ने, आफ्नै अनुयायीलाई बलत्कार गर्दा समेत उनै आशा रामहरुलाई “आई लभ यु” भनी चार हात उफ्र्ने हामी कति ठीक कति बेठिक ? के हामी सधैंभरी कसैको जयजयकार गरी उनिहरुको स्वार्थ रक्षार्थ आफ्नो जीवन समर्पित गर्ने कि ठीक र बेठिक छुट्याएर आफुलाई सचेत नागरिक बनाउने ? गम्भिर आत्मसमिक्षा गर्नुपर्दछ।

कुनै पनि राजनिती दर्शन वा सिद्दान्त जनताले देख्ने, सुन्ने, जनताको जीवनसँग जोडीएर ब्यबहारतस् लागु हुनु पर्दछ। के नेपालको राजनीति जनतालाई केन्द्र बिन्दुमा राखेर सन्चालन भएको छ ? के नेपालको राजनीति दलका नेताहरु बृहत्तर सामूहिक उद्देश्य प्राप्तिको लागि नेतृत्व गरीरहेका छन वा आफ्नो स्वार्थ र गुट्को लागि काम गरिरहेका छन ? सिद्धान्ततस् जसको मुद्दा उसैको नेतृत्व हुनुपर्दछ । दलका मुखिया र जिम्वालहरु अलिशान महलमा सयौ भाई-भारदारले घेरिएर बसेर भुईमान्छेका सपना देख्न सक्दछन ? के हामीले जनताको मुद्दाहरुमा बिबाद वा गठवन्धन भएको देखेका वा सुनेका छौं ?

देश र जनताको लागि जीवन अर्पण गर्ने पार्टी कार्यकर्ता रमिते बनाई टुप्पोबाट पलाएको बिचौलियाहरुले सत्ता र शक्तिको दोहन गर्ने बातावरण कस्ले बनायो ? मुखियाहरुको वर्तमान बिलासी जीवन शैलीको स्रोत के हो ? हिजो चप्पल पडकाउदै शहर छिरेकाहरु आज कसरी अरबौ सम्पत्तिको मालिक बने ? आफ्नै आँखा अगाडि यी सबै छर्लङै देख्दासमेत हामी किन मौन रहन्छौ ? किन अझ पनि आशा रामहरुबाट आशिर्वादको अपेक्षा गर्दछौ ? आफूले आँफैलाई प्रश्न गर्नु पर्दैन ?

नेता वा नेतृत्वको आधारभूत गुणको आधारमा हाम्रा संसदीय राजनीतिक दलहरुलाई हेर्यो भने झन बैराग लाग्दो छ। दुरदृष्टि केही छैन। आज एउटासँग हल जोड्यो भोली अर्कोसँग हल जोडन पुदछन् । मालिकले जोसँग हल बाध्न आदेश दिन्छ उसैसँग साख्खै हुने यो कस्तो पार्टी पद्दति हो ?

ईमान्दारिता र निष्ठालाई सत्ता र शक्तिको मोहले राजनीतिको वर्गियतामा पनि रुपान्तरण भएको छ। जनताप्रतिको जवाफदेहिता, पार्दर्शिता, समानुभूति, रचनात्मक उत्प्रेरणा स्खलित हुँदासमेत पट्कपटक परिक्षण भैसकेका, म्याद गुग्रिएका र भ्रष्टाचारको धमिराले मक्किएकाहरुलाई धुरिबलो बनाई राख्दा भोली आफै किचिने जोखिम किन नजर-अन्दाज गर्दछौ ? दिनभरी महिला अधिकारको भाषण गर्ने र साझमा स्वस्थानी ब्रर्तकथा भाका हालेर पढने, बिहान राशिफल हेरेर कुन बिचौलियासँग आज संगत गर्नुपर्द्छ भनी निर्क्योल गर्ने कमरेड होस् वा ज्जोतिषीसँग जोखाना हेराएर प्रधानमन्त्री खाने प्रजातन्त्रवादीहरुबाट अब देशले निकास पाउदैन।

विगत प्रचण्ड सरकारले थोरै भएपनि सुशासनको पक्षमा, भ्रस्ट्राचारीको बिरुद्दमा केही अगाडि बढन खोज्दा रातारात हट्नु पर्यो। जब अनुसन्धानहरु बुढानिलकण्ठ र बालकोटतिर सोझिए त्यसपछी के भयो त्यो जगजाहेर छ। एउटै मुलको पानी पिएका, एकैखाले कर्म गरेकाहरुको उठिबासको त्रासले जे भयो त्यो प्रष्ट देखिने गरी हामी सबै सामु देखिराखेका छौ। ललिता निवास, भुटानी शरणार्थी, सहकारी ठगी, गिरिबन्धु, गौशाला, विद्युत महसुल, स्काउट जग्गा, बालमन्दिर जग्गा, दान-दक्षिणा प्राप्तिआदि ईत्यादि खुला आँखाले देखेकै छौ। लुकेर, ढाटेर, छलेर, छ्क्काएर, मिलाएर होईन हाका-हाकी, मिली भगतमा झ्वाम पारेको देख्दा पनि हामी किन मौन छौ ? होईन भने खोई त हाम्रो आवाज ? अहिलेसम्म भएका भनिएका यती, ओम्नि, एनसेल, सुन, शरणार्थी लगायत सबै अनियमिततार भ्रष्ट्राचारको निष्पक्ष छानविनको लागि सडकमा आउने बेला भएन र ?

असुमलबाटआशाराम भएका हुन ति ढोगी र भोगी हुन्। तिनिहरु प्रति प्र्श्न गरौ, तिनिहरुको अखडामा निगरानी गरौर आफूले आँफैलाई प्रश्न गरौ। विकल्पको खोजी गरौ। आवस्यकताले जनबिद्रोह माग गर्दछ भने त्यसको तयारी गरौ। रैतिबाट जनतामा रुपान्तरण होऔ।

 

वि.सं.२०८१ कात्तिक ९ शुक्रवार १०:०९ मा प्रकाशित

व्यक्तिगत जीवनमा आत्मनिर्भरताकाे अभ्यास कसरी गर्ने ?

व्यक्तिगत जीवनमा आत्मनिर्भरताकाे अभ्यास कसरी गर्ने ?

स्वनिर्भरता भनेको जीवनका चुनौतिहरू सामना गर्न, स्वतन्त्र निर्णयहरू लिन र...

निर्वाचनमा ओखलढुंगाः एक विश्लेषण

निर्वाचनमा ओखलढुंगाः एक विश्लेषण

कोशी प्रदेश अन्तर्गत पर्ने ऐतिहासिक, साँस्कृतिक महत्वको शदिद भूमि हो-...