काठमाडौँ । सरकारलाई सफल र प्रभावकारी बनाउन भन्दै सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले दुई दलीय राजनीतिक संयन्त्र बनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा ८ सदस्यीय संयन्त्र बनाइएको हो ।
संयन्त्रको कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट ४ र नेकपा एमालेको तर्फबाट ४ जना सदस्य रहेका छन्। जसमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् ।
त्यस्तै, नेकपा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् ।
कांग्रेस सभापति देउवाका निजी सचिव केशवराज जोशीका अनुसार, प्रदेश र जिल्ला तहमा पनि दुई दलीय संयन्त्र बनाउने निर्णय भएको छ।
मंगलबार बसेको संयन्त्रको पहिलो बैठकले कार्यदलको संयोजन दुई दलले एक–एक महिना पालैपालो गर्ने निर्णय भएको जोशीले बताएका छन् । कात्तिक २१ (आज) देखि मंसिर २० गतेसम्म पहिलो महिनाको संयोजन कांग्रेस उपसभापति खड्काले गर्नेछन् ।
वि.सं.२०८१ कात्तिक २२ बिहीवार ११:४८ मा प्रकाशित






























