लन्डन । जन्मेलगत्तै तीन वर्षसम्म आफ्नी छोरीलाई दराजमा थुनेर राख्ने एक आमालाई बेलायतमा जेल सजाय दिइएको छ । महिलालाई साढे ७ वर्षको जेल सजाय सुनाइएको हो । अदालतले यसलाई ‘अत्यधिक लापरबाही’ भनेको छ । बालिकाले कहिल्यै उज्यालो नदेखेकी, ताजा हावामा सास समेत फेर्न नपाएकी उनको वकिलले भनेका छन् ।
घरमा पाहुना आउँदा बालिका रोएको सुनेपछि मात्र बालिकाको बारेमा थाहा भएको थियो । बालिकाको सुरक्षाका लागि उनी र उनको परिवारका सदस्य कसैको पनि परिचय खुलाइएको छैन । यो मुद्दाको विषयमा चेस्टर क्राउन कोर्टमा सुनुवाइ भएको थियो । अदालतले ती आमालाई सजाय दिएको छ । यस क्रममा बालिकाकी आमाले बालिकाप्रति निर्ममताको चारवटा आरोप पनि स्वीकार गरेकी थिइन् ।
महिलाले आफ्नी छोरीलाई हरेक खालको स्नेह र हेरचाहबाट वञ्चित गरेको न्यायाधीश स्टीभन एभरेटले भनेका छन् । महिलाले पर्याप्त खाना खान नदिएको, पर्याप्त स्वास्थ्य सेवा नदिएको पनि भनिएको छ । बालिका त्यो कोठामा जिउँदो लाशजस्तै भएर बाँच्न बाध्य पारिएको पनि बताइएको छ ।
बालिकाको अस्तित्व उनको भाइ बहिनीबाट समेत लुकाएर राखिएको अदालतले बताएको छ । आमाले यस बालिकाको जन्मको खबर आफ्नो पार्टनरबाट समेत लुकाएर राखेकी थिइन् । बालिका भेटिए पछि उनलाई नामै लिएर बोलाउँदा पनि कुनै प्रतिक्रिया दिन नसकेको क्राउन प्रोसिक्युसन सर्भिसका रेचेल वर्थिङ्टनले भनेकी छिन् । बालिका गम्भीर कुपोषित भएको अदालतलाई बताइएको थियो ।
तीन वर्षकी भएपनि बालिका सात महिनाको जत्रो मात्रै देखिन्थिन् । उनी यति कमजोर थिइन् कि उनलाई दूध मिसाएर खानेकुरा खुवाइन्थ्यो । बालिकालाई बोल्न गाह्रो हुनुका साथै अन्य कयौँ समस्याहरू पनि थिए । तर यसको उपचार ती बालिकाको आमाले गराइनन् । बालिकासँग यो अपराध सन् २०२० को सुरुदेखि नै हुँदै आएको थियो । यो क्रम २०२३ को सुरुवातसम्म जारी रह्यो ।
आफू गर्भवती भएको थाहा नभएको र बच्चा जन्माउँदा निकै डराएको महिलाले प्रहरीलाई भनेकी छिन् । बालिका उनको परिवारको हिस्सा नभएको पनि महिलाले प्रहरीलाई बताएकी थिइन् । एजेन्सीको सहयोगमा
वि.सं.२०८१ मंसिर १८ मंगलवार १७:०२ मा प्रकाशित