काठमाडौँ । अमेरिकामा क्यान्सरसँग सङ्घर्ष गरिरहेका नेपाली विवेक पङ्गेनीको निधन भएको छ । अस्पतालमा उपचारका क्रममा बुधवार उनको निधन भएको हो ।
विवेकलाई ब्रेन क्यान्सर थियो । चौथो स्टेजको क्यान्सरसँग लडिरहेका श्रीमानलाई बचाउन उनकी पत्नी सिर्जना सुबेदीले निकै सङ्घर्ष गरेकी थिइन् । श्रीमानप्रति सिर्जनाको त्याग र समर्पणको सामाजिक सञ्जालमा उच्च प्रशंसा हुँदै आएको थियो ।
निरन्तर उपचारका बाबजुद केही दिनदेखि विवेकको स्वास्थ्य अवस्था बिग्रिएको थियो । सिर्जनाका पिता शिव सुवेदीले बुधवार विवेकको निधन भएको पुष्टि गरेका छन् । विवेकका पिता मीनराज पङ्गेनी अमेरिका प्रस्थान गरिसकेको बुझिएको छ ।
श्रीमानको अवस्था नाजुक बनेपछि सिर्जनाले ससुरालाई नेपाल बोलाएकी थिइन् । शव नेपाल ल्याउने वा नल्याउने टुङ्गो नलागिसकेको सुबेदीको भनाई छ । विवेक २०७९ सालमा भौतिक शास्त्रमा पिएचडी गन फुल स्कलर सिपमा अमेरिका गएका थिए । अमेरिका पुगेको पाँच महिनामा आमाको निधन भएपछि उनी नेपाल आएका थिए ।
त्यसपश्चात् अमेरिका जाने अघिल्लो दिन स्वास्थ्य परीक्षणका लागि अस्पतालमा स्वास्थ्य जाँच गर्दा विवेकलाई ब्रेन ट्युमर भएको थाहा भयो । विवेक निर्धारित समयमा अमेरिका पुगेर अस्पतालमा भर्ना भए । दुई वटा शल्यक्रिया गरेर ७० प्रतिशत ट्युमर निकालिएको थियो । बाँकी उपचार किमो थेरापी र रेडिएसनमार्फत लामो समयदेखि भइरहेको थियो ।
सिर्जनाले श्रीमानको स्वास्थ्य अवस्थाबारे ट्विटरबाटै सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनीहरूका लाखौँ शुभचिन्तकले प्रार्थना मात्र होइन, आर्थिक सहयोग पनि गरेका थिए । गो फन्डमार्फत अहिलेसम्म एक लाख दुई हजार डलरभन्दा बढी रकम सङ्कलन भएको थियो ।
विवेक बिरामी हुनुभन्दा अगाडिदेखि टिकटकमा उनीहरूको चर्चा थियो । विवेक अमेरिकामा मृत्युसँग सङ्घर्ष गरिरहँदा नेपालमा उनको भाइकाे दुर्घटनामा निधन भएको थियो ।
वि.सं.२०८१ पुस ४ बिहीवार १६:०४ मा प्रकाशित






























