back

इच्छुकको बलिदान मुक्तिकामी आन्दोलनमा कहिल्यै नपुरिने गहिरो घाउ हो

वि.सं.२०७४ जेठ १३ शनिवार

225 

shares
NTC AD
Global IME AD
खेम थपलिया
खेम थपलिया

यतिखेर हामी महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ को स्मृति र सम्मानमा सांस्कृतिक बलिदान दिवस मनाइरहेका छौँ । रसियन क्रान्तिले गोर्की र चिनियाँ क्रान्तिले लु सुनजस्तै नेपाली धर्तीमा महान् जनयुद्धले ‘इच्छुकलाई जन्मायो । नेपाली धर्तीमा उहाँले गौरवपूर्ण बलिदान प्राप्त गर्नुभयो । उहाँ क्रान्तिकारी आस्थाको रक्षार्थ सदैव प्रेरक हुनुभएको छ । आफ्नै सहयोद्धाको गद्दारीका कारण तत्कालीन सत्ताले २०५९ साल जेठ ६ गते काठमाडौँबाट इच्छुकलाई गिरफ्तारी ग¥यो । एक सातासम्म निर्मम यातना दिएर जेठ १३ गते उहाँको हत्या गरियो । २०४६ सालको जनआन्दोलनमार्फत जनताको सीमित नै भए पनि हक–अधिकार प्राप्त गर्ने आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनुभएका इच्छुकको त्यसको रगत–पसिना सुक्न नपाउँदै त्यही कथित प्रजातन्त्रले उहाँको रगतलाई ठाडो घाँटी लगाएर घटघटी पियो । मध्ययुगीनशैली अपनाएर सीमित प्रजातान्त्रिक अधिकारको घाँटी निमोठ्दै, संवैधानिक व्यवस्थालाई दुरुपयोग गर्दै क्रान्तिकारी योद्धालाई, देश र जनताको आस्था र विश्वासको धरोहर एक होनाहार सांस्कृतिक योद्धालाई हामीले भौतिक रूपमा गुमाएको गुमाएका छौँ । तत्कालीन काठमाडौंका डीएसपी विक्रमसिंह थापाले इच्छुकलाई अत्यन्त निर्मम, अमानवीय र बर्बतापूर्ण यातना दिएका थिए । हिरासतमा उहाँलाई किन्ने प्रयास भयो । प्रहरीहरू उहाँबाट पार्टीको गोपनीयता भङ्ग गराउन चाहन्थे तर त्यहाँ उहाँले आफ्नो वर्ग, क्रान्तिकारी आस्था र निष्ठाप्रति प्रतिबद्ध हुँदै आफ्नैअगाडि उभिएको मृत्युको कुनै पर्वाह नगरी भन्नुभएको थियो, “मेरो देशभक्ति मेरो मुटु झिके पनि तपार्इंहरू झिक्न सक्नुहुन्न । हामी देशभक्त क्रान्तिकारी हौँ । त्यसैले कुनै पनि देशद्रोही शक्तिले चाहे त्यो जतिसुकै शक्तिशाली होस्, हामीलाई जित्न सक्दैन ।” उहाँ को बलिदान मुक्तिकामी आन्दोलनमा कहिल्यै नपुरिने गहिरो घाउ हो ।

इच्छुकको शब्द र कर्मबीचमा मेल थियो । सर्वहारा–संस्कृतिका पर्याय इच्छुकको आदर्श वाक्य थियो, “मेरो स्वार्थ भन्नु देश र जनताको स्वार्थ हो ।” यस्ता आदर्शबोधी योद्धा इच्छुकको बलिदान महान् सहादतको सर्वोच्च शिखर पनि हो । वास्तवमा इच्छुक मुलुकको सुखद्, समृद्ध र सुन्दर भविष्यको दिशामा कृत–सङ्कल्पित क्रान्तिदूत हुनुहुन्थ्यो । क्रान्तिकारी जनताका अविजित र अटूट आस्थाका प्रतिबिम्ब इच्छुकको सहादतले बलिदानीपूर्ण गौरवको सगर चुमेको छ । उहाँको बलिदानीपूर्ण जीवनगाथाले सिङ्गो क्रान्तिकारी पङ्क्तिमा निराशा र पलायन होइन; बरु थप ऊर्जा, शौर्य, ओज र जिम्मेवारीबोधको सञ्चार गराएको छ । इच्छुकको उज्यालो गाथाले जनसांस्कृतिक आन्दोलनको दिशाबोध गरेको छ । भनिन्छ– असत्य, अवसान र अँध्यारोको विपक्षमा उभिएका इच्छुकलाई जल्लादहरूका यातना शिविरमा दिएको चरम यातनाबाट मूच्र्छित भएपछि दुवै खुट्टामा समातेर महेन्द्र पुलिस क्लबको चौरमा घिसारिएको थियो । दुश्मनका अँध्यारा कालकोठरीमा दुश्मनकै सामुन्ने क्रान्ति र परिवर्तनको आगो ओकल्ने इच्छुकले क्रान्तिले माग गरेको बलिदानको कोटा चुक्ता गर्नुभयो । इच्छुकको शब्द र कर्मबीचको तादात्म्यले भावी पुस्ताका लाखौँ युवालाई मुक्ति र असीम चेतनाको मधुरीमा सञ्चार गरेको छ । इच्छुकको छातीमा दागिएको एउटा कविको छातीमा दागिएको गोली नभएर यो देशलाई माया गर्ने, जनताको मुक्ति आन्दोलनलाई आफ्नो जीवन बनाउने सुन्दर संसारको स्वप्नद्रष्टाहरूका नाभीस्थलमाथि प्रहार गरिएको गोली हो । जीवनलाई विचार, आदर्श, दर्शनअनुसार बनाउन प्रतिवद्ध हुनुले इच्छुकको ओजत्व र स्वत्वलाई न्याय गर्दछ ।

धेरैको मनमा एउटै कुरा खेलिरहेको छ– इच्छुक आज बाँचिरहनुभएको भए के लेख्नुहुन्थ्यो होला ? के बोल्नुहुन्थ्यो होला ? के गर्नुहुन्थ्यो होला ? आदि आदि । इच्छुकले आज धेरै कुरा देख्न पाउनुहुन्थ्यो । उहाँको बलिदानपश्चात नेपालको राजनीतिमा धेरै उथलपुथल आएको छ । बलिदानका असङ्ख्य पिरामीडहरू खडा भएका छन् । मूल्यहरू स्खलित छन् । आदर्शहरू ढलेका छन् । बेपत्ता योद्धाहरू बेखबर छन् । सहिद परिवारको बिचल्ली भएको छ । सपनाहरू मरेका छन् । जनमुक्ति सेना बजारको मालमा परिणत भएका छन् । राष्ट्रियतालाई कुर्सीसित साटिएको छ । वर्गदुश्मन केहीका निम्ति हितैषी बनेका छन् । माओवादी केन्द्र र त्यसका नायक प्रचण्डमा भयानक वैचारिक विचलनका आएको छ । अहिले नेपाल कम्युनिस्ट पार्टी र सो पार्टीका नेतृत्व कमरेड विप्लवले चौतर्फी चुनौतीका बीचमा पनि क्रान्तिको रातोझन्डा उठाउनुभएको झन्डा खतरामुक्त छैन । यसलाई पनि विभिन्न दिशाबाट आएको दुषित हावाको झोक्काले ढलाउने, झुकाउने प्रपञ्च भइरहेको छ । निरन्तर सङ्घर्ष र सफलता असफलताका बीच फेरि पनि सङ्घर्र्ष, यही हो जीवन ! इच्छुक आज हुनुभएको भए सायद राम्रो सवक सिकाइदिनुहुन्थ्यो । यसका विरुद्ध उहाँ निश्चय पनि आगो ओकल्नुहुन्थ्यो । ढँटुवाहरूलाई झापड हान्नुहुन्थ्यो । हुन त व्यक्ति मात्र असल भएर केही हुँदैन भन्ने कुरा हामी सबैलाई थाहा छ । एकपटक महान् साहित्यकार लु सुनले भन्नुभएको थियो, “आफ्नासित आँखा जुधाएर कुरा गर अनि दुश्मनसित औंला ठड्याएर कुरा गर ।” माओले भन्नुभएको थियो, “स्पष्ट होऊ र स्पष्ट कुरा निर्धक्क राख ।” कार्यकर्ताले यही कुरा सिके, वैचारिक स्कुलिङ नै यस्तै थियो । जनताको विजयको कुनै विकल्प छैन । इच्छुक आज हुनुभएको भए हाम्रो साहित्यिक–सांस्कृतिक आन्दोलन उर्बर मात्रै होइन, निष्ठाको राजनीतिको मूल्य कति माथि हुन्थ्यो ! अखिल नेपाल जनसांस्कृतिक महासङ्घले हरेक वर्ष जेठ १३ अर्थात् कृष्ण सेन ‘इच्छुक’ ले सहादत प्राप्त गर्नुभएको दिनलाई सांस्कृतिक बलिदान दिवस मनाउँदै आएको छ । हामी फेरि एकपटक महान् सांस्कृतिक सहिद इच्छुकलाई हार्दिकतापूर्वक लाल अभिवादन गर्न चाहन्छौँ ।

समकालीन विश्व परिस्थितिको एउटा परिवेश त छँदैछ, समकालीन नेपाली राजनीति पनि अत्यन्त चुनौतीका माझ उभिएको छ । सत्तामा दलालहरूको रजगज छ । यस्तो बेला माक्र्सवादी संस्कृतिकर्मीहरूको दायित्व कैयौँगुणा बढेको हुन्छ । राजनीतिक क्षेत्रमा जस्तै सांस्कृतिक फाँटमा गम्भीर चुनौतीहरू नभएका होइनन् । माक्र्सवादी संस्कृतिकर्मीहरूले माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक पथप्रदर्शनलाई गहिरोसित आत्मसात् गरी समकालीन संस्कृति, साहित्य र कलाको क्षेत्र सही ढङ्गले अगाडि बढ्न सिर्जनात्मक हस्तक्षेप अत्यावश्यक छ । सामन्तवाद, साम्राज्यवाद, दलाल संसद्वाद र सबै किसिमका संशोधनवादका विरुद्धको विचारधारात्मक सङ्घर्षलाई प्रभावकारी रूपमा निरन्तर अगाडि बढाउनुपर्दछ । हामीलाई थाहा छ, संस्कृति पनि वर्गीय हुन्छ । वर्गसमाजमा राजनीतिजस्तै साहित्य, कला र संस्कृतिको स्वरूप पनि वर्गीय हुन्छ । वर्गीय प्रतिबद्धता भएन भने त्यो वर्गसमन्वयवादमा फस्न पुगिन्छ । आन्दोलनमा कैयौँ मानिस जानेर–नजानेर फसेको हामीले देखेका छौँ । सामन्ती आभिजात्यवाद, उत्तर–आधुनिकतावाद र संशोधनवादलाई राम्ररी चिन्नुपर्दछ ।

संस्कृतिकर्मीहरूले राष्ट्रिय, जनवादी तथा वैज्ञानिक संस्कृतिको पक्षपोषण गर्नुपर्दछ । आज हामीकहाँ बाह्य संस्कृति हाबी बन्दै गइरहेको छ । आन्दोलनमा सांस्कृतिक साम्राज्यवाद र उपभोक्तावादी संस्कृतिको व्यापक घुसपैठ, राष्ट्रिय संस्कृति र चिन्तनको मौलिक पहिचानका विरुद्ध उत्तरआधुनिकवादी सांस्कृतिक वर्णशङ्करता, पुनर्लेखन, पुनर्गायनजस्ता मान्यताको पक्षपोषण, साम्राज्यवादी श्रेष्ठताको प्रचार–प्रसारजस्ता परिघटना बढ्दै गएका छन् । देशको राष्ट्रिय अस्मिता, स्वत्व र स्वाभिमान गम्भीर खतरामा परेको छ । यतिखेर राष्ट्रिय अस्मिता र स्वाभिमानको विषयलाई हामीले पहिलो कार्यसूचीमा राख्नुपर्दछ । आज मजदुर, किसान, महिला, दलित, जनजाति, मधेसी, मुस्लिम आदि शोषित पीडित वर्ग र समुदायका हकहितमाथि गम्भीर कुठाराघात भएको छ । समाजमा धार्मिक अन्धविश्वास, रुढिबुढी, धामी–झाँक्री, बोक्सीप्रथा, छुवाछुत, पुनर्जन्म–पुर्वजन्म जस्ता सोंच अझै कायम छन् । आदर्शवाद, ईश्वरवाद, रहस्यवाद र आध्यात्मवादलाई अझै पनि मलजल हाल्न खोजिंदैछ । नेपाललाई इसाईकरण गर्न खोजिँदैछ । यसमा समकालीन संस्कृतिकर्मीहरू निकै चनाखो बन्न आवश्यक छ । सत्यम्, शिवम् र सुन्दरम्लाई हामीले सांस्कृतिक मूल्यबोधसित जोडेर हेर्ने गर्दछौँ । सत्य यथार्थमा आधारित हुन्छ । शिव नैतिकतासित सम्बन्धित छ । सुन्दरले सत्य र शिवको साथमा सौन्दर्यात्मक आदर्श र सङ्गतिपूर्ण जीवनको अपेक्षा गर्दछ । सत्य, शिव एवम् सुन्दरलाई सामन्तवादको स्वार्थमा कैद गरिँदै आएको छ । यसका विरुद्ध साम्राज्यवाद तथा उत्तर–आधुनिकतावाद उभिएको छ । संशोधनवादले सत्य, शिव र सुन्दरलाई वर्गसमन्वयवाद, आदर्शवाद र अधिभूतवादको सिकार बनाउँदै आएको छ । समकालीन संस्कृतिकर्मीहरूले सत्य, शिव र सुन्दरलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, जनताको जनवाद र साम्यवादको उदात्त आदर्शसित जोडेर विकसित तुल्याउनुपर्दछ ।

संस्कृतिकर्मीहरू सांस्कृतिक आदर्शको प्रश्नमा गम्भीर हुन आवश्यक छ । यो सांस्कृतिक मूल्यबोधको आधार पनि हो । सांस्कृतिक आदर्श भनेको सम्बन्ध ज्ञान, वर्ग तथा जनहित र सामञ्जस्यपूर्ण जीवनसित सन्बन्ध हो । यसले मुक्तिका निम्ति जीवनको उत्सर्ग गर्ने अमर सहिदहरू, बेपत्ता पारिएका योद्धाहरू र घाइते–अपाङ्गका त्याग, वीरता र बलिदानका उत्कृष्ट कीर्तिमानद्वारा आलोकित हुन्छ । ज्ञान, सिर्जना, शिल्प, चिन्तन र जीवनशैलीमा प्रगति र स्तरोन्नति आजको आवश्यकता हो । वर्गीय, सांस्कृतिक तथा भावनात्मक रूपान्तरणमा जोड दिदै दुनियाँ बुझ्ने मात्र ठूलो कुरा होइन, बदल्नु मात्र पनि होइन; बदलिएको चीजको रक्षा गर्नु महत्वपूर्ण कुरा हो भन्ने कुरालाई संस्कृतिकर्मीहरूले बुझ्न जरुरी छ । हामीले सकारात्मक रूपान्तरणको मूल्य र आन्दोलनलाई केन्द्रमा राखेर आफ्नो सांस्कृतिक गतिविधि तीव्र बनाउनुुपर्दछ । रूपान्तरणको अर्को अर्थ आन्दोलन हो । यो वर्गसङ्घर्ष, दुईलाइन सङ्घर्ष र आत्मसङ्घर्षसित सम्बन्धित छ । सांस्कृतिक रूपान्तरणको कुरा गर्दा महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई केन्द्रमा राख्नैपर्दछ । सबैखाले जनविरोधी विश्वदृष्टिकोणका विरुद्ध सर्वहारा–संस्कृतिको अवलम्बन गर्नुपर्दछ । कला–साहित्य, संस्कृतिलाई समाजवादी यथार्थवादद्वारा आलोकित हुन्छ भन्ने कुरा सांस्कृतिक आन्दोलनको कखरा नै हो ।

संस्कृतिकर्मीहरूले निरन्तर क्रान्तिको सिद्धान्तलाई आत्मसात गर्न आवश्यक छ । राजनीतिक क्रान्तिहरू सम्पन्न भइसकेपछि पनि सांस्कृतिक आन्दोलनको कार्यभार बाँकी रहन्छ । यसको चरित्र पनि दीर्घकालिक हुने गर्दछ । यो तुरुन्ताको तुरुन्त हुने विषय होइन । चीनमा माओले पुँजीवादीको शिरोच्छेदन गर्न सांस्कृतिक क्रान्ति गर्नुपर्नाका कारण निकै मननीय छन् । मध्यमवर्गलाई रूपान्तरणको अभियानमा गोलबन्द गर्दै क्रान्तिको, परिवर्तनको, रूपान्तरणको सेवामा लगाएर मात्र आजको दुनियाँमा हामी अघि बढ्न सक्तछौँ । मध्यमवर्गमा रहेको राष्ट्रवादी चेतना र परिवर्तन–आकाङ्क्षालाई मूर्तीकृत गर्न संस्कृतिकर्मीलेहरूले विशेष ध्यान दिनैपर्दछ ।
एकीकृत जनक्रान्ति, सांस्कृतिक आन्दोलन र इच्छुक त्रै–आयामिक मूल्य हुन् । इच्छुकको आदर्श र जनसंस्कृतिकर्मीहरूका बीच अन्योन्याश्रित सम्बन्ध रहेको छ । यिनै त्रै–आयामिक मूल्यलाई आत्मसात गर्दै इच्छुकका यी भनाइलाई स्मरण गरौँ, “सधैँ इमानदार र प्रतिबद्ध बनौँ; शब्द र कर्मप्रति, आदर्श र व्यवहारप्रति निष्ठावान् बनौँ । हाम्रो लेखन र सिर्जनअनुरूप हाम्रो जीवनशैली बनोस् ।”
१० जेठ, २०७४

वि.सं.२०७४ जेठ १३ शनिवार ०८:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD