back
CTIZAN AD

सिक्टा सिँचाइ : १९ वर्षमा भौतिक प्रगति ४१ प्रतिशत, साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो

वि.सं.२०८१ पुस १९ शुक्रवार

822 

shares

जानकी । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०६१/६२ मा स्थापना भई आव २०६२/६३ बाट भौतिक निर्माणको काम सुरू भएको थियो । आयोजना सुरू भएको १९ वर्षपछि आव २०८१÷८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१ दशमलव ७९ प्रतिशत भौतिक प्रगति भएको छ ।

सिक्टा सिँचाइ आयोजना निर्देशक राजु आचार्यका अनुसार २०७१ भदौ ८ गते रू २५ अर्ब दुई करोड र २०७९ भदौ २६ गते अन्तिमपटक आव २०८९/९० सम्म काम सम्पन्न हुनेगरी लागत संशोधन गरेर रू ५२ अर्ब ८९ करोड पुर्याइएको छ । उनले भने, “आव २०६१/६२ मा रू सात अर्ब ४५ करोड अनुमानित लागतबाट सुरू भएको आयोजनाको १९ वर्ष बितिसक्दा तीनपटक लागत अनुमान संशोधित हुँदै रू ५२ अर्ब ८९ करोडको बजेट पुगिसकेको छ ।” विसं २०६४ मङ्सिर ३ गते पहिलोपटक लागत संशोधन गरेर रू १२ अर्ब ८० करोड पुर्याइएको थियो ।

आयोजना सुरू भएदेखि चालु आवको मङ्सिरसम्ममा रू २१ अर्ब ५५ करोड खर्च हुँदा वित्तीय प्रगति ४० दशमलव ७६ प्रतिशत रहेको र भौतिक प्रगति ४१ दशमलव ७९ प्रतिशत मात्र पुगेको इञ्जिनियर अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार चालु आवका लागि रू एक अर्ब ६० करोड बजेट विनियोजन भएकामा हालसम्म रू २३ करोड खर्च भएको छ ।

इञ्जिनियर पोखरेलका अनुसार सिक्टा सिँचाइ आयोजनाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार सात सय ६६ हेक्टर जमिनमा पानी सिँचाइको लक्ष्य लिएको छ । पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ ।

पश्चिमी मूल नहरबाट ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा पानी सिँचाइ गर्ने लक्ष्य लिइएको छ । “बयालीस हजार सात सय ६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य लिइएको आयोजनाबाट १९ वर्ष बित्दा हालसम्म २१ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ”, इञ्जिनियर पोखरेलले भने, “पश्चिमी मूल नहरको ४५ दशमलव २५ किलोमिटर निर्माण काम सम्पन्न भइसकेको छ । पूर्वी मूल नहरको ५३ दशमलव ५० किलोमिटरमध्ये ३७ दशमलव ६८ किलोमिटर निर्माण सम्पन्न भएको छ ।”

पश्चिमतर्फका शाखा–उपशाखा–प्रशाखाको ६० प्रतिशत निर्माण सम्पन्न भएको इञ्जिनियर पोखरेलले बताए । उनका अनुसार नहर संरचनाका लागि अधिग्रहण गर्नुपर्ने चार सय ४० हेक्टरमध्ये हालसम्म केवल एक सय ७५ हेक्टर जमिन अधिग्रहण गरिएको छ । चालु आवमा पश्चिम मूल नहरको मुख्य डुडुवा शाखाको लागत अनुमान सम्पन्न भई ठेक्का आह्वान भइसकेको छ ।

तेत्तीस हजार सात सय ६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पश्चिमी मूल नहरबाट हाल १७ हजार हेक्टरमा सिँचाइ पुगेको र नौ हजार हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पूर्वी मूल नहरबाट चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा उपलब्ध गराइएको छ । त्यसैगरी मूल नहरभन्दा माथिल्लो भागमा रहेका जग्गामा सिँचाइ उपलब्ध गराउन राप्तीसोनारीका कचनापुर, बालापुर र ढकेरी क्षेत्रमा चारवटा लिफ्ट सिँचाइ योजना सम्पन्न हुने चरणमा छन् ।

राष्ट्रिय गौरवको आयोजना भए तापनि स्रोत सहमतिमा सहजता नहुनु, बजेट विनियोजनमा प्राथमिकता नहुनु, मानव स्रोत र नेतृत्वको स्थायित्व नहुनु, प्रचलित ऐन कानुनमा सरलता नहुनु, जग्गा प्राप्ति प्रक्रिया र वातावरण अध्ययन सर्वेक्षण कार्य छिटोछरितो नहुनु पनि आयोजना कार्यान्वयनमा समस्या हुने गरेको सिक्टा सिँचाइका पदाधिकारीको भनाइ छ ।

वि.सं.२०८१ पुस १९ शुक्रवार १०:४९ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...