back
CTIZAN AD

आज भूकम्प दिवस : पूर्वतयारीका लागि सङ्कल्प जरुरी

वि.सं.२०८१ माघ २ बुधवार

663 

shares

प्रगति ढकाल/काठमाडौं । विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा छन् । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव भने बेहोरेको छ । त्यति मात्रै होइन, केही दिन अघि तिब्बतमा केन्द्रविन्दु भएको भूकम्पले काठमाडौँलगायतका क्षेत्रको जमिन हल्लाउँदा त्यसले नौ वर्षअघिको भूकम्पको सम्झना दिलाएको थियो ।

विसं १९९० माघ २ गतेका दिउँसो २ः२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ । भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रुपमा एकरुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी तुल्याउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमा समेत गरिएको छ ।

भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ भन्ने मूल नाराका साथ देशव्यापी रुपमा विविध कार्यकमहरु सञ्चालन गरी २७औँ भूकम्प सुरक्षा दिवस देशैभर मनाउने कार्यक्रम रहेको सहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ ।

विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी गर्नुपर्ने र हाम्रा घर संरचनाहरु पनि बलियो बनाउनुपर्ने भूकम्पको मुख्य पाठ रहेको बताए । “विगतका भूकम्पबाट सिकेको पाठ भूकम्पीय जोखिम न्यूनीकरण गर्नुपर्छ भन्ने हो”, उनले भने, “यसका लागि हामीले बनाउने संरचनाहरु भूकम्प प्रतिरोधि हुनैपर्छ । यस दिवस भूकम्पको सम्भावित जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा व्यापक जनचेतना अभिबृद्धि गराउने, विगतमा भएका प्रयासका मूल्याङ्कन गर्दै, हाम्रा कमीकमजोरीलाई पनि सुधार गर्ने लक्ष्यका साथ आइरहेका छौ ।”

भूकम्पको जोखिम न्यूनीकरणका लागि व्यापक प्रचारप्रसार गरी जनचेतना अभिवृद्धि गर्न सबै सरोकार निकायदेखि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै यससम्बन्धी प्रचारप्रसार आवश्यक भएकोमा उनको जोड छ ।

“भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने र यसका लागि नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवन संहिता पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्छ”, उनले भने, “भूकम्प पश्चात्को सम्भाव्य अवस्थालाई पूर्वआकलन गरी प्रभावकारी र दूत खोज तथा उद्धार, सीपयुक्त र तालिम प्राप्त उद्धारक एवम् तत्काल राहतको आवश्यकतालाई समेत तयारी अवस्थामा राख्नु पनि उत्तिकै जरुरी छ ।”

भवन संहिता कार्यान्वयनका लागि नीतिगत व्यवस्था, नीतिगत जनचेतना तथा अभिमुखीकरण, क्षमता अभिवृद्धि, प्राविधिक कार्य, अध्ययन तथा अनुसन्धान, अनुगमन तथा मूल्याङ्कन, समन्वय तथा सहकार्य जस्ता क्षेत्रहरुमा आवश्यक कार्यहरु निरन्तर रुपमा भइरहेको महर्जनले बताए । विगतका भूकम्पबाट पाठ सिकेर भवनको नक्शा डिजाइन गर्न आवश्यक पर्ने भार र डिजाइन गर्ने विधिसहितको भवन निर्माण संहिता अद्यावधिक गरी लागू गरिएको उनको भनाइ छ ।

खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले भूकम्प गएमा के गर्ने ? के नगर्ने विपद्मा कसरी संयमता अपनाउने ? सुरक्षित हुने तरिकाहरु के हुन्ने ? लगायत विषयमा सचेतना बढाउन सकेमा आगामी दिनमा भूकम्पीय क्षति कम गर्न सकिने बताउनुहुन्छ । सम्भावित धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र पूर्वसूचना प्रणालीको विकासलाई प्राथमिकता दिनुपर्ने उनको जोड छ ।

पूर्वतयारीको अभाव

पूर्वतयारीको अभावमा जाजरकोट भूकम्पपीडितले अझै पनि पूर्णरुपमा राहत नपाएको अवस्था छ । पूर्वतयारी नहुँदा भूकम्पपछि सर्वसाधरणले दुःख पाउने गरेको विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीको भनाइ छ । “अहिलेसम्म कतिपय भूकम्पपीडितले राहत पाउन नसक्दा उनीहरु अस्थायी आवासमै कष्टपूर्ण रुपमा बस्नु परेको छ”, उनले भने ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) जाजरकोटको भूकम्पबाट प्रभावित भइ पुनःनिर्माण गर्नुपर्ने निजी आवासको सङ्ख्या ९५ हजार सातसय ८७ छ । भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक विपद्बाट क्षति पुगेका विभिन्न संरचनाहरुको पुनःनिर्माण तथा पुनःस्थापना योजनाको योजना कार्यान्वयनका लागि रु एक खर्ब एक अर्व १२ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

भूकम्प प्रतिरोधी संरचनामा जोड

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निमित्त कार्यकारी निर्देशक डा रमेश गुरागाईले नयाँ बन्ने संरचनाहरु भूकम्प प्रतिरोधि बनाउन आवश्यक रहेकोमा जोड दिन्छन् ।

“हामीले भूकम्प प्रतिरोधी संरचना बनाउन सकिरहेका छैनौ, सबै स्थानीय तहमध्ये भवन निर्माण संहिता ५० वटा स्थानीय तहमा मात्रै कार्यान्वयन भएको छ,” उनले भने, “भूकम्प कहिले र कहाँ जान्छ भनेर भविष्यवाणी नै गर्न त सकिदैन । तर भूकम्पबाट बच्ने मुख्य उपाय स्वरुप पूर्वतयारी गर्न सकिन्छ । यो भनेको भूकम्प प्रतिरोधी संरचना बनाउने, बनिसकेका संरचनाहरुलाई सुधार गर्ने र अन्य पूर्वतयारीका गतिविधि नै हो ।”

भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि राष्ट्रिय सङ्कल्प आवश्यक भएको उनको भनाइ छ । “राज्य तथा अन्य सरोकारवाला निकायबाट व्यापक जनचेता अभिबृद्धिका साथै विपद्पछिको प्रतिकार्यसम्बन्धि योजना र कार्यान्वयनका लागि तयार हुनुपर्छ”, उनले भने, “यसका साथै व्यक्ति आफैले पनि भूकम्पबाट सुरक्षित हुन आफ्नो तर्फबाट तयारी हुनुपर्छ । कसरी संयमता अपनाउने, आफ्नो घर भूकम्प प्रतिरोधि छ कि छैन ? लगायतका विषयमा सचेत हुनुपर्छ ।”

इञ्जिनियर अमितप्रसाद तिमल्सेनाले भूकम्पमैत्री संरचना निर्माणका लागि भवन निर्माण संहिताको कडाइका साथ कार्यान्वयन गराउनुपर्ने आवश्यकता औँल्याए । “अधिकांश घर र संरचना निर्माणमा मापदण्ड पालना भएको छैन, भवन निर्माण संहिता कार्यान्वयन भए नभएको विषयमा राज्यले अनुगमनलाई कडाइका साथ अगाडि बढाउनुपर्छ”, उनले भने ।

आजदेखि लाभग्राहीसँगको सम्झौता सुरु गरी पुनःनिर्माण थालनी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सह–सचिव डा भीष्मकुमार भुसालले आजदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनःनिर्माण थालनी हुने जानकारी दिएका छन् ।

गत आइतबार बसेको विपद् राष्ट्रिय परिषद्को १६औँ बैठकले भूकम्प र मनसुनजन्य विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापनाका लागि योजना स्वीकृत गरेको प्राधिकरणले जानकारी दिएको छ । बैठकले योजनाबमोजिमका क्रियाकलापको कार्यान्वयनका लागि स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई सम्बन्धित मन्त्रालय, प्रदेश र स्थानीय तहले आग्रह गर्ने तथा मन्त्रालयले सम्बन्धित निकायलाई यथाशीघ्र निकासा दिने गरी प्रबन्ध गर्न निर्देशन दिएको प्राधिकरणले जानकारी दिएको छ ।

 

वि.सं.२०८१ माघ २ बुधवार ०८:२९ मा प्रकाशित

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले बढ्दो बसाइँसराइ रोक्न ‘गाउँ फर्क...

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

सुरुङ्गा (झापा) । नेपाली प्रहरीले पाँच किलो गाँजा र १४...

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक...

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ) । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा...